s

महिला बेचबिखन रोक्न गाउँपिच्छे सञ्जाल

सरकारी संयन्त्र र सामाजिक संघसंस्थाको अगुवाइमा मानव बेचबिखन तथा ओसारपासार रोक्न सबै गाउँमा सञ्जाल गठन गर्न थालिएको छ ।

दुई दशकको प्रयासबाट पनि मानव बेचबिखन रोक्न कठिन भएपछि जनचेतना जगाउन एकद्वार प्रणाली स्थापित गर्ने र सूचना संयन्त्र बलियो बनाउने उद्देश्यले स्थानीय प्रशासन अगुवाइमा अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत जिल्लाको ७९ मध्ये पहिलो चरणमा ५४ गाविसमा सञ्जाल गठन गरिसकिएको छ ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला समितिको उपस्थितिमा सञ्जाल गठन गर्ने सरकारी प्रावधान छ । सरकारले प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गर्ने निर्देशिका जारी गरेको छ । बेचबिखनविरुद्ध गाउँ कार्यसमिति नाम दिएको उक्त सञ्जालको अध्यक्ष गाविस सचिव रहने र स्थानीय सामाजिक कार्यकर्ता, सञ्चारकर्मी, वडा नागरिक मञ्चका प्रतिनिधि, प्रहरी, सामाजिक परिचालकलगायत रहने व्यवस्था छ ।

यसबाट भारतीय बजार र वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा चेली बेचिने सम्भावनामा न्यूनीकरण हुँदै जान्छ, प्रजिअ डिल्लीराज पोखरेलले भने, विशेषतः चेतना अभिवृद्धि र सूचना संकलनमा जोड दिन्छौं । पोखरेलको संयोजनमा प्रहरी, सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सामाजिक परिचालकको टोलीले इचोक गाउँ समितिलाई बेचबिखन रोकथाममा स्थानीयको भूमिकाबारे एक दिने प्रशिक्षण दिएको छ । उक्त गाउँ बेचबिखनबाट सबैभन्दा बढी प्रभावित छ ।

Published on: 19 March 2014 | Kantipur

Back to list

;