s

मलेसियाबाट जीवन रक्षाको याचना

वैदेशिक रोजगारका लागि मलेसिया गएका जगतीपुर ३ बेलगारका २५ वषर्ीय कृष्णबहादुर वर कामीले जीवनरक्षाको याचना गरेका छन्। तीन वर्षअघि त्यहाँ पुगेका उनलाई अपरिचित समूहले कुटपिट गरेर गम्भीर घाइते बनाएका छन्। कुटपिटपछि अचेत बनेका कामीलाई उनीहरूले नालीमा फालेर ७ हजार मलेसियाली मुद्रा पनि लुटेका छन्।

मलेसियाको गेल्म्यारी भुल्भो सुवाङ हाइवेनजिक साथीको कोठामा लुकेर बसेका गम्भीर घाइते कामीले जीवनरक्षाका लागि स्वास्थ्य उपचार गरी नेपाल फर्काइदिन सम्बन्धित निकायसँग आग्रह गरेका हुन्। उनको टाउको र छातीमा गम्भीर चोट लागेको छ। कुटपिट गरेर मर्‍यो भनेर नालीमा फाल्ने र रकम लुट्ने वैदेशिक रोजगारमा गएका नेपाली नै भएको उनका साथीले बताए।

'कृष्णबहादुरको जीवन जोखिममा छ। अहिले पनि जीवित भएको थाहा पाए ती गुन्डाले हत्या गरिहाल्छन्,' उनले भने, 'मेरो कोठामा लुकाएर औषधि उपचार गरिरहेको छु। ऊ बेखर्ची छ। कृष्णलाई नेपाल कसरी पठाउने? मलेसियास्थित नेपाली दूतावासले पनि कुनै वास्ता गरेको छैन।' लामो समयदेखि मलेसियास्थित स्मार्ट ग्लोब कम्पनीमा कार्यरत उनलाई साताअघि केरामपातस्थित एक साथीको कोठामा गएको बखत कुटपिट गरिएको थियो। अपरिचत व्यक्तिले खुँडा, रड र लाठीले कुटपिट गरेको कृष्णले टेलिफोनमा कान्तिपुरसँग बताए। 'मलाई मर्‍यो भनेर नालीमा फाले। उनीहरू भागे। मेरो हत्या गरेर पैसा लुट्ने उद्देश्य रहेछ,' उनले भने। नेपाली साथी सम्झेर उसको कोठामा गएको तर उनीहरूले बन्धक बनाएर अन्धाधुन्ध कुटपिट गरेको कृष्णले बताए। 'म एक दिनपछि होसमा आएँ। मुस्किलले औषधि उपचार गरें। दुई दिनपछि एक जना आएर मसँग भएको औषधि खोसेर फाल्यो। उसले मलाई पुनः कुट्न नपाउँदै भाग्न सफल भएँ,' उनले भने। 

कृष्णबहादुर त्यहाँ घाइते अवस्थामा अलपत्र परेको खबरले परिवार चिन्तामा डुबेको छ। उसको अवस्था गम्भीर भएको दाजु टोपेन्द्रबहादुरले बताए। 'केही कमाएर घर फर्केला भनेको, जिउ जोगाउन धौधौ हुन थाल्यो,' उनले भने, 'भाइको उद्धारका लागि सरकारले पहल गरिदिनुपर्‍यो।' वाइड स्पेस ओभरसिज प्रालिले कृष्णबहादुरलाई मलेसिया पठाएको थियो।

Published on: 5 March 2015 | Kantipur

Back to list

;