s

मलेसिया जानेलाई ८ हजारको भार थपिने

लोकमणि राई

वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारलाई थप करिब ८ हजार रुपैयाँको आर्थिक भार बढ्ने भएको छ । भिसाका लागि मलेसिया दूतावाससम्म पुग्न ३ तहमा दलाल एजेन्सी खडा गरिने भएपछि उनीहरूको कमिसनबापत नेपाली कामदारको थाप्लोमा आर्थिक भार थपिने भएको हो ।

मलेसिया दूतावासले कात्तिक १५ देखि मलेसिया भीएलएन नामक दलाल एजेन्सी खडा गरिसकेको छ । बेस्टिनेट एसडीएन बीएचडी र 'फोसा' नामक दुई दलाल एजेन्सी खडा हुने क्रममा छन् । भीएलएनले कात्तिक १५ देखि प्रतिकामदार ३ हजार २ सय रुपैयाँ असुल्दै आएको छ ।

व्यावसायिक स्रोतका अनुसार बेस्टिनेटले प्रतिकामदार १ हजार ५ सय रुपैयाँ र फोसाले ३ हजार २ सय रुपैयाँ गरी अतिरिक्त ७ हजार ९ सय रुपैयाँ असुल्ने छन् । भीएलएन खडा गरिनुअघि मलेसिया जाने हरेक कामदारले भिसा शुल्कबापत ७ सय र स्वास्थ्य परीक्षण शुल्कबापत २ हजार ६ सय २५ रुपैयाँ गरी ३ हजार ३ सय २५ रुपैयाँमात्र तिर्थे । यसमा ३ तहका दलाल एजेन्सीको कमिसन जोड्दा हरेक कामदारले अब ११ हजार २ सय २५ रुपैयाँ तिर्नुपर्नेछ ।

व्यवसायीहरूका अनुसार मलेसिया जाने कामदारको राहदानी संकलन गर्न नेपालस्थित मलेसिया दूतावासले मलेसिया भीएलएन नेपालजस्तै 'फोसा' नामको अर्को दलाल एजेन्सी खडा गर्दैछ । त्यसले नेपाली कामदारको राहदानी संकलन गरेबापत ३ हजार २ सय रुपैयाँ लिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भनाइ छ । फोसा, भीएलएन र बेस्टिनेटको कमिसन जोड्दा उक्त पत्रिकाले जनाएजस्तै मलेसिया जाने हरेक नेपाली कामदारले ११ हजार २ सय २५ रुपैयाँ तिर्नुपर्छ ।

मलेसियाको द स्टार नामक सबैभन्दा बढी बिक्ने ट्याब्लोइडले पनि यो तथ्य पुष्टि गरेको छ । उक्त पत्रिकाले नेपालस्थित मलेसियाली दूतावासका एक जना प्रवक्ताको हवाला दिँदै निकट भविष्यमा मलेसिया जाने नेपाली कामदारले स्वास्थ्य परीक्षण खर्चसहित ११ हजार २ सय २५ रुपैयाँ बुझाउनुपर्ने जनाएको छ । उक्त पत्रिकाको बुधबार १२ औं पृष्ठमा 'नेपालीज स्टेज प्रोटेस्ट एट एम्बेसी ओबर भिसा फी हाइक' समाचारमा उल्लेख छ । तर त्यसमा प्रवक्ताको नाम उल्लेख छैन । 

नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत फाल्दी अदिलाहले भिसा शुल्क बढाएर ३ हजार ९ सय रुपैयाँ पुर्‍याएको कान्तिपुरलाई बताएका थिए । तर उक्त पत्रिकाले दूतावासका ती प्रवक्ताको हवाला दिँदै भिसा शुल्क मलेसियाको गृह मन्त्रालयले 'प्रोसिसिङ फी' बापत बढाएको उल्लेख गरेको छ । मलेसिया भीएलएन नेपाल र दूतावासले भिसा शुल्क ७ सय र प्रोसिसिङ फी ३ हजार २ सय भएको भिसा तथा बिल जारी गर्दै आएका छन् । यसअघि प्रोसेसिङ फीबापत छुट्टै रकम तिर्नु पर्दैन थियो । 

द स्टारले स्वास्थ्य परीक्षण शुल्कबापत थप १ हजार ५ सय रुपैयाँ बढेको पनि जनाएको छ । स्वास्थ्य परीक्षण शुल्क बढाइनुको कारण उक्त पत्रिकामा उल्लेख छैन । तर यो बायोमेडिकल प्रणाली लागू गर्न मलेसियाले नियुक्त गरेको कम्पनी बेस्टिनेट एसडीएन बीएचडीले पाउने भनिएको कमिसन बराबरको रकम हो । स्वास्थ्य परीक्षण शुल्कमा कार्टेलिङ गर्दै आएको नेपाल स्वास्थ्य व्यवसायी महासंघले भने स्वास्थ्य परीक्षण शुल्क नबढाइएको प्रस्ट पारेको छ । 'हामीले स्वास्थ्य परीक्षण शुल्क बढाएका छैनौं,' महासंघका अध्यक्ष प्रवीन तिवारीले भने, 'तत्काल वृद्धि हुने सम्भावना पनि छैन ।'

भीएलएनले कात्तिक १५ यता मलेसिया गएका करिब २६ हजार नेपाली कामदारबाट ३ हजार २ सय रुपैयाँका दरले करिब ८ करोड ३२ लाख रुपैयाँ असुलिसकेको छ ।

Published on: 30 December 2013 | Kantipur

Back to list

;