s

मलेसियामा दूतावास भवन किन्न प्रस्ताव

मलेसियास्थित नेपाली दूतावासले क्वालालम्पुरमा भवन खरिद गर्न प्रस्ताव गरेको छ । भाडामा बसेको दूतावास सारिरहनुपर्ने समस्या समाधानका लागि भवन खरिद गर्न प्रस्ताव गरिएको राजदूत निरञ्जनमान सिंह बस्न्यातले जनाएका छन् ।

परराष्ट्र मन्त्रालयले भने राजदूतलाई पुत्राजयमा रहेको आफ्नै जग्गामा भवन निर्माणको प्रक्रिया अघि बढाउन मौखिक निर्देशन दिएको थियो । राजदूत बस्नेतले मन्त्रालयलाई पत्राचार गर्दै पुत्राजयमा कुनै पनि मुलुकले दूतावास नसारेको र यातायातको असुविधा हुने जनाउँदै तत्कालका लागि क्वालालम्पुरमा नै भवन खरिद गर्न सुझाएका हुन् । क्वालालम्पुरबाट करिब ५० किमीको दूरीमा रहेको पुत्राजयलाई मलेसियाले प्रशासनिक राजधानीको रूपमा विस्तार गरिरहेको छ । त्यहाँ मलेसियाका प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र, गृह, अर्थ लगायतका मन्त्रालयहरू सरिसकेका छन् । 

पुरानो घरवालाले दूतावास सार्न दबाब दिएपछि ६ महिनाअघि मात्रै दूतावास अहिलेको ठाउँमा सरेको थियो । नयाँ हाउजिङ कम्पनीले पनि नेपालीको भिडले अन्यलाई असर गरेको भन्दै सर्न दबाब दिएपछि दूतावास बेघर हुने स्थितिमा पुगेको हो । राजदूत बस्न्यातले पुत्राजयमा भवन बनिसकेपछि क्वालालम्पुरको भवन बिक्री गर्न सकिने सुझाए । उनले करोडौं रुपैयाँ भाडा तिर्नुभन्दा त्यही रकमले भवन किन्न सकिने उल्लेख गरेका छन् । बेलायत, अमेरिका, चीन, बंगलादेश, रुस, न्युयोर्कका दूतावास र राजदूत निवास तथा फ्रान्स र ब्रसेल्सका राजदूत निवास बाहेक साउदी अरेबिया, पाकिस्तान, कतार, इजरायल, थाइल्यान्ड, कुवेत, ओमान, बहराइन, जर्मनी, डेनमार्क, स्विट्जरल्यान्ड, मलेसिया, श्रीलंका, ब्राजिल, दक्षिण अफ्रिका सबैका चान्सरी, राजदूत निवास, कर्मचारी निवास भाडामा छन् । सरकारले हरेक वर्ष दुई मुलुकमा आफ्नो दूतावास भवन र राजदूत निवास खरिद गर्दै जाने नीति लिएको भए पनि त्यो लागू भएको छैन । 

Published on: 8 January 2015 | Kantipur

Back to list

;