s

मलेसियामा फेरि धरपकड

मलेसिया सरकारले अवैधानिक रुपमा रहेका विदेशी कामदारविरुद्ध पुनः धरपकड थालेको छ। अध्यागमन विभागको नेतृत्वमा सोमबार राति १२ बजे (नेपाली समयअनुसार ९ बजे) धरपकड सुरु गर्ने भनिए पनि ३ घन्टाअघि नै सुरु गरिएको थियो। 

दोस्रो धरपकड अभियानको पहिलो दिन ५० भन्दा बढी नेपाली पक्राउ परेको स्रोतले जनाएको छ। मलेसिया सरकारले गत भदौमा पनि व्यापक धरपकड गर्दै २ हजारभन्दा बढी गैरकानुनी हैसियतका विदेशी कामदार पक्राउ गरेको थियो। भदौमा करिब ५ सय नेपाली पक्राउ परे पनि अझै ३ सयभन्दा बढी विभिन्न डिपोर्टेसन सेन्टरमा छन्। 
राति १२ बजेदेखि समात्ने भने पनि ३ घन्टाअगाडि नै सुरु गरेको मलेसियाको पेन्टिलिङजयामा कार्यरत बागलुङ नगरपालिका ३ रुद्रेपिपलका रविन्द्र बोसेलले टेलिफोनमा बताए। 'क्वालालम्पुरबाट ३ घन्टाअगाडि नै समात्न थालेको हो,' उनले भने। उनका एकजना साथीलाई आफूसँग ट्राभल डकुमेन्ट बनाउन सुझाव मागिरहेको बेला अचानक आएका पुलिसले समातेको उनले बताए। 
गत भदौमा नेपालीसहित बंगाली, पाकिस्तानी, इन्डोनेसियाली, बर्मेली, भियतनामी कामदार पक्राउ गरिएको थियो। सोमबार सुरु गरेको अपरेसन बरसेपाडु (एकीकृत अभियान) मा पनि पहिलेजस्तै जस्तै अध्यागमन विभागको नेतृत्वमा पुलिस, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल, र राष्ट्रिय दर्ता विभागका गरी १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटिएका छन्। 
मलेसिया सरकारले गैरकानुनी कामदार पक्राउ गरी स्वदेश पठाउने र श्रमबजारको समस्या समाधान गर्दै आफ्नै नागरिकलाई रोजगारी दिने उद्देश्यले धरपकड थालेको हो। धरपकडअघि उसले आममाफी कार्यक्रम ल्याएको थियो। यसअघिको वैधानिक हुने अभियानमा नाम दर्ता गराई वैध बन्न बा“की कामदारलाईसेप्टेम्बर २० देखि जनवरी २० सम्म विशेÈ कार्यक्रम ल्याएको थियो।
मलेसियाका लागि नेपाली राजदूत निरन्जनमानसिंह बस्नेतले धरपकड गर्ने जानकारी आएपछि नेपाली कामदारलाई सचेत रहन र ट्राभल डकुमेन्ट बनाउन सूचना प्रकाशित गरेको बताए। पटकपटक वैध हुने अवसर दिँदा पनि धेरैले नटेरेकोले धरपकड थालेको उनले बताए। पहिलो दिन पक्राउ पर्नेको आधिकारिक तथ्यांक नभए पनि ५० भन्दा बढी नेपाली समातिएको दूतावासको अनुमान छ। 
मलेसिया सरकारले विगतमा पक्राउ गरेका नेपाली कामदारको अवस्था र तथ्यांक अझै पूर्णरुपमा उपलब्ध गराएको छैन। अब पक्राउ पर्नेको संख्या झन् बढ्ने हुनाले समस्या थपिने बस्नेतले बताए। 
मलेसिया सरकारले सातामा २ दिन मंगलबार र बिहीबार चेकआउट पास दिएका ४०/४० जनालाई स्वदेश पठाउने गरेको थियो। पक्राउ ठूलो संख्यामा गर्ने तर हप्तामा ८० जनालाई मात्र चेकआउट पास दिँदा लामो समय कामदार डिपोर्टेसन सेन्टर र जेलमा बस्न बाध्य भएको उनले बताए।
मलेसियामा ५० हजारभन्दा बढी नेपाली कामदार गैरकानुनी हैसियतमा रहेको अनुमान गरिए पनि दूतावासले ३२ हजार रहेको जनाएको छ। यसअघिको आममाफीमा २० हजारले अर्कै कम्पनीमा काम पाएकोले अझै १२ हजार गैरकानुनी हैसियतमा रहेको दूतावासको भनाइ छ।
धेरैपटक वैध हुन अवसर दिइए पनि १० लाख विदेशी कामदार अझै अवैधानिक रुपमा रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। धरपकडमा ट्राभल डकुमेन्ट र घरफिर्ती टिकट नहुनेलाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्। ट्राभल डकुमेन्ट र फिर्ती टिकट साथमा हुनेहरु अध्यागमनमा जरिवाना तिरेर स्वदेश फर्कन पाउ“छन्। पहिलो दिन २५ हजार विदेशी अवैधानिक कामदार पक्राउ गर्ने अध्यागमनले जनाएको थियो।
दूतावासमा भीड
मलेसियामा धरपकड हुने भएपछि दूतावासमा गैरकानुनी नेपाली कामदारको ठूलो भीड लागेको छ। ट्राभल डकुमेन्ट बनाउन दूतावासमा भीड लागेको राजदूत बस्नेतले बताए।
धरपकडमा नेपाली पनि पक्राउ पर्ने भएकाले आइतबार बिदाको दिन कार्यालय खोलेर ट्राभल डकुमेन्ट बनाएको उनले बताए। बस्नेतका अनुसार आइतबार र सोमबार २ दिनमा १७ सयले ट्राभल डकुमेन्ट बनाएका छन्। दूतावासले ४ दिनअघि गैरकानुनी रुपमा रहेका नेपालीलाई ट्राभल डकुमेन्ट बनाउन आग्रह गर्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो। 
उद्धारको लागि तयारी
नेपाली कामदारलाई पक्राउ गरेपछि विभिन्न डिपोर्टेसन सेन्टरमा राखिने भएकोले दूतावास र विभिन्न नेपाली संस्थाले उद्धारमा सहयोग गर्ने जनाएका छन्। दूतावासको सहयोगमा प्रवासी नेपाली समन्वय समितिले कागजपत्र बनाइदिन, बेखर्चीलाई सहयोग जुटाउन र परिवारस“ग सम्पर्क गरिने जनाएको छ।
नेपालस्थित समितिको दु्रत उद्धार समिति इन्चार्ज पार्वता अधिकारीले धरपकडको जानकारीपछि उद्धारका लागि मलेसियामा सामाजिक परिचालक खटाएर तयारी गरेको बताइन्। त्यहाँबाट नेपाल फर्काउन सहयोग गर्ने र अलपत्र परेका, बेखर्ची र परिवारको सम्पर्कमा नभएकालाई मध्यबानेश्वरको उद्धार केन्द्रमा राखी घर पठाउने तयारी भएको उनले बताइन्। 
स्वदेश फर्काउनकै लागि अभियान चलाइएको हुँदा नआत्तिन, बरु फर्कन आवश्यक पर्ने जरिवाना, टिकट आदिका लागि आर्थिक जोहो बेलैमा गरिहाल्न समितिले आग्रह गरेको छ। साथै घर पठाइदिने नाममा ठग्ने सम्भावना पनि रहकोले दलालको पछि नलाग्न पनि समितिले अनुरोध गरेको छ।

 Published on: 21 January 2014 | Nagarik 

Back to list

;