s

मलेसियामा नेपाली रेमिटेन्स कम्पनी बन्द

विज्ञान अधिकारी

मलेसियामा नेपालीद्वारा सञ्चालित रेमिटेन्स कम्पनीलाई अवैध कारोबार गरेको आरोपमा त्यहाँको केन्द्रीय बैंकले बन्द गरिदिएको छ। नेपालमा रेमिटेन्स पठाउँदै आएको थ्री स्टार रेमिटेन्स कम्पनी बन्द भएको हो।

थ्री स्टारले नेपाली कामदारले पठाएको रकम नेपाल नपठाई वैदेशिक मुद्रा बिक्री गरेको अनुसन्धानबाट फेला परेपछि मलेसियाको केन्द्रीय बैंक, बैंक नेगेराले कार्यालय बन्द गराएको हो। थ्री स्टारका सञ्चालक नेपाली सेनाका पूर्व अधिकृत डिएन थापा हुन्। उनी अहिले फरार छन्। मलेसियाली बैंकले थ्री स्टारलाई सम्पत्ति शुद्धीकरण ऐनअनुसार कारबाही गरेको आफ्नो वेबसाइटमा जनाएको छ। 'कम्पनीले अबदेखि रेमिट्यान्स कारोबार गर्न पाउँदैन,' वेबसाइटमा भनिएको छ, 'यो कम्पनीमार्फत रकम पठाउँदा सम्बन्धित व्यक्तिले पाउने सम्भावना छैन।'

थ्री स्टारले मलेसियामा रहेका नेपालीको रकम नपठाई महँगो मूल्यमा अमेरिकी डलर बिक्री गरेको अनुसन्धानबाट फेला परेको थियो। थ्री स्टारले नेपालका विभिन्न बैकलाई रकम पठाउने एजेन्टका रुपमा नियुक्त गरी कारोबार गर्दै आएको थियो। कम्पनीले एभरेष्ट , सिद्धार्थ र सनराइज बैकलाई एजेन्ट बनाएको थियो। थ्री स्टारको एजेन्टका रुपमा काम गर्दा धितो नराखेका कारण केही बैंक ठगीएका छन्।

एभरेष्ट बैंकले एजेन्ट बन्दा थापाको महाराजगन्जस्थित घर धितोका रुपमा राखेका कारण उसको चार करोड रुपैयाँ फस्नबाट जोगिएको छ। एभरेष्टले थापाको महाराजगञ्जमा रहेको घर केही दिन अघि सकारिसकेको छ। स्रोतका अनुसार सिद्धार्थ बैकको झन्डै दुई करोड फसेको छ। सिद्धार्थ बैकले धितो नराखेकाले रकम उठ्ने सम्भावना कम छ।

'हाम्रो केही रकम फसेको हो। दुई करोड होइन,' बैकका एक अधिकारीले भने, 'हामीले यो कम्पनीसँग दुईवर्ष अघिनै कारोबार बन्द गरिसकेका छौ।' उनका अनुसार रेमिट्यान्स कारोबारमा वृद्धि भए पनि यसलाई बलियो संयन्त्रले बाध्ने प्रयास नहुँदा समस्या आएको हो। 'केन्द्रीय बैकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीलाई बाध्ने प्रयास गर्नुपर्छ,' उनले भने, 'अहिले रेमिट्यान्स कम्पनीमा संलग्न हुनेहरु नराम्रा समेत भेटिन थालेका छन्।'

'यो कम्पनीलाई हामीले समेत कारवाही गरिसकेका छौ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवालीले बुधवार नागरिकसँग भने, 'कम्पनीलाई कानुनी कारवाही अगाडि बढाइएको छ।' स्रोतका अनुसार मलेसियाबाट नेपालमा रेमिट्यान्स पठाउने अरु कम्पनीले पनि नेपाल पैसा नपठाएर सिंगापुर, दुवई लगायत मुलुकमा महँगोमा अमेरिकी डलर बिक्री गर्न थालेको जानकारी पाएपछि मलेसियाको केन्द्रिय बैकले यस्ता कम्पनीलाई निगरानीमा राखेको छ। त्यहाँ रहेका केही रेमिट्यान्स कम्पनीले दुईवटा सफ्टवेयर प्रयोग गरेर विदेशी मुद्रा बाहिर पठाउने गरेका छन्।

'विहानै झुठो ठेगानामा रकम पठाउने र बेलुका फर्केको उक्त रकम ठेगाना नमिलेको भन्दै अन्यत्रै लैजाने गरेका छन्,' मलेसियामा रहेका एक मनी ट्रान्सफर कम्पनीमा कार्यरत अधिकृतले टेलिफोनमा नागरिकसँग भने। मलेसियामा नेपालीले स्थापना गरेका रेमिट्यान्स कम्पनीमा आइएमई, प्रभु, गोर्खा, क्यू रेमिट, युनिक चेन्ज, मास्टर रेमिट, डेल्टा, इन्सेन्टिभ, क्रिस्टल र मर्चेन्ट ट्रेड सञ्चालनमा छन्।

'राम्रा र नाम कमाएका कम्पनीले दुईवटा सफ्टवेयर प्रयोग गरेका छैनन,' उनले भने, 'अन्यले यसरी गैरकानुनी काम गरेका छन्।' मलेसियामा रहेका रेमिट्यान्स कम्पनीलाई एकवर्षदेखि त्यहाँ शाखा खोल्न समेत प्रतिवन्ध लगाइएको छ। झन्डै ६ लाख नेपाली कार्यरत रहेको मलेसियाबाट मासिक करोडौ रकम नेपाल भित्रिन्छ।

मलेसियामा तीब्र प्रतिस्पर्धा
मलेसियामा रेमिट्यान्स कम्पनीवीच पछिल्लो समयमा तीब्र प्रतिस्पर्धा सुरु भएको छ। नेपालमा प्रमुख कम्पनी आइएमई, प्रभु वाहेक अरुण चौधरीको मर्चेन्ट ट्रेड समेत सञ्चालनमा आएपछि प्रतिस्पर्धा तीब्र भएको हो। अहिले आइएमई र मर्चेन्ट ट्रेडवीच रकम भिœयाउने होडवाजी चलेको छ। अर्कोतर्फ मलेसियाले स्वदेशीलाईनै प्रोत्साहित गर्ने नीति लिन थालेपछि स-साना कम्पनी संकटमा परेका छन्। मलेसियाले स्थानियलाई प्रोत्साहित गर्न 'मनी सर्भिस विजनेस कानुन' ल्याउने तयारी गरेको छ। यो कानुन आएमा मनी ट्रान्सफर कम्पनीले समेत रेमिट्यान्स संकलन गर्न पाउँछन्।

'मनी ट्रान्सफर कम्पनीले रकम संकलन गरेर पठाउन पाएमा रेमिट्यान्स कम्पनीको कारोबार घट्छ,' एक रेमिट्यान्स कम्पनीका सञ्चालकले भने। मलेसियामा स्थापना भएका रेमिट्यान्स कम्पनीमा स्वदेशीको नाम भएपनि स्वामित्व विदेशीको हुने गरेको छ। मलेसियाको भूमिपुत्रहरुले आफ्नो नाम राखेवापत केही रोयल्टी मात्र पाउँछन्।

Published on: 21 July 2011 | Nagarik

Back to list

;