s

मिलेमतोमा प्रशासनबाटै नागरिकता

अर्कै व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसी बैंककस्थित नेपाली दूतावासबाट एमआरपी लिएका व्यक्तिले त्यसअघि जिल्ला प्रशासन कार्यालय मोरङबाटै नागरिकताको प्रतिलिपि झिकेको भेटिएको छ। झुर्किया गाविसको सिफारिसमा डिल्लीराम धितालका नाममा ती व्यक्तिले प्रथम प्रतिलिपि लिएको पुष्टि भएको हो।

२०६० साल पुस २ गते तत्कालीन गाविस सचिव केशराज राजवंशीले धितालका नाममा प्रतिलिपि बनाइदिन जिल्ला प्रशासन कार्यालय मोरङलाई सिफारिस गरेका थिए। सिडिओ गणेशराज कार्कीका अनुसार एउटै व्यक्तिको नागरिकताका दुईवटा प्रतिलिपि वितरण भएको थाहा पाएपछि छानबिन गर्दा यस्तो भेटिएको हो। ‘गाविस सचिवकै सिफारिस आएपछि प्रशासनबाट धितालका नाममा नागरिकताको प्रथम प्रतिलिपि तयार भएको पाइएको छ,' उनले भने, ‘गाविस सचिवकै मिलेमतोमा नागरिकता लिएपछि त्यो व्यक्तिले बैंककबाट एमआरपी बनाएको हुन सक्छ।' 

२०५१ जेठ ६ गते धितालले मोरङ प्रशासनबाट नागरिकता लिएका थिए। २०६० पुस २ गते उनका नाममा अर्को व्यक्तिले नागरिकताको प्रथम प्रतिलिपि लिएको विवरण प्रशासनमा छ। धितालले पनि मोरङबाटै गत पुस २ गते आफ्नो नागरिकताको प्रथम प्रतिलिपि झिके। उनी दुई महिनाअघि मात्र आमाको काजक्रिया गर्न मलेसियाबाट फर्किएका थिए। फेरि मलेसिया जान एमआरपी चाहिने भएकाले उनले त्यसैको प्रक्रियाका लागि प्रतिलिपि झिकेका हुन्। तर, मोरङ प्रशासनले उनका नाममा पहिल्यै प्रतिलिपि जारी भइसकेको हेक्का राखेन। उनी जब मोरङ प्रशासनको सिफारिस बोकेर परराष्ट्र मन्त्रालयस्थित राहदानी विभाग पुगे, उनका नाममा बैंककबाट अर्कै व्यक्तिले एमआरपी लिइसकेको पत्ता लाग्यो। विभागले जिल्ला प्रशासन कार्यालय मोरङलाई एकै व्यक्तिका नाममा दुई नागरिकता जारी भएकोबारे सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ। 

विभागको निर्देशनअनुसार उक्त प्रकरणमाथि अनुसन्धान थालिएको मोरङ प्रशासनले जनाएको छ। ‘नागरिकता फाँटले पनि मान्छे पहिचान नगरी प्रतिलिपि दिएजस्तो देखियो,' सिडिओ कार्कीले भने, ‘छानबिन हुँदैछ।'

प्रशासनका अनुसार झुर्किया–९ का धिताल विदेशमा रहँदा उनको नामको नागरिकता नक्कल लिएर गाविस पुगेका अर्का व्यक्तिलाई सचिवले नै ‘सक्कल हराएको' विवरण उल्लेख गरी नयाँ प्रतिलिपिका लागि सिफारिस गरेका थिए। ‘अरू केही नहेरे पनि फोटोबाट मान्छे चिन्न सकिन्थ्यो,' उनले भने, ‘तर, यसो नगरी सचिवले मिलेमतोमा सिफारिस गरेको प्रस्टै देखियो।' घटना सार्वजनिक भएपछि प्रशासनले तत्कालीन सचिव राजवंशीको खोजी थालेको छ। 

नयाँ प्रतिलिपि तयार गर्दा मोरङका तत्कालीन प्रशासकीय अधिकृत रत्नकाजी वज्राचार्यले नागरिकतामा सही गरेका छन्। प्रशासनले धितालका नाममा रहेका दुईमध्ये एउटा नागरिकता रद्द गर्ने तयारी थालेको सहायक प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताए। बंैककबाट धितालका नामको एमआरपी लिने व्यक्तिको खोजीका लागि परराष्ट्र मन्त्रालयमा पहल भइरहेको पनि उनले जनाए।

Published on: 26 January 2015 | Nagarik

Back to list

;