s

नयाँ गन्तव्य—लिबिया, युगान्डा र न्युजिल्यान्ड

देवेन्द्र भट्टराई

पौराइ-६ घर भएकी रामकुमारी बोम्जन दिल्ली उत्रिएको ५ महिना पुरा हुनै लाग्यो । तर पहाडगन्जको एभरेष्ट होटलको कोठाबाट बाहिरको संसार उनले देख्न पाएकै छैनन् । पहाडगन्ज वरपर यसो आठ-पाँच घुम्न निस्किए पनि उनी होटल कोठामा पुगिहाल्छिन् । विगतमा इजरायल पुगेर ४ वर्ष केयर-गिभरमा काम गरेकी बोम्जनले ५/७ लाख रुपैयाँ कमाएकी थिइन् । तर सपनाको शृङ्खला इजरायलबाट धेरै अगाडि बढिसकेको छ । गाउँ छेउमा भेटिएका एक दलालको साथ-संगत पाएर काठमाडौं हुँदै दिल्ली आइपुग्दा पनि समस्याको हल भेटिएको छैन, बरु तनाव भने दिनरात दुगुना बढ्दो छ ।

अहिलेको तनाव र समस्याको विषय भनेको न्युजिल्यान्ड जाने सपनाको गोलचक्कर हो । यो चक्करमा परेर अनेक एजेन्ट, उपएजेन्ट, सहएजेन्टहलाई रामकुमारीले १५ लाख रुपैयाँ बुझाएको पनि एक वर्ष हुनै लागेछ । टुर गाइडका रूपमा कार्यरत श्रीमान तथा ११ र ९ कक्षामा पढ्ने छोराछोरी गाउँमा छाडेर एकैचोटी धनसम्पत्तिको जोहो गर्ने सुरमा सपनामयी बनेकी रामकुमारीका लागि अहिलेका दिनरात कहिनसक्नु बनेका छन् । अलिअलि भएको जग्गा बेेचेर, केही ऋण रकम बटुलेर र इजरायलमा कमाएको पैसासमेत बटुलेर एजेन्टलाई बुझाएको यति भैसक्यो— तर कहिले हङकङको नक्कली वर्क-परमिट देखाएर त कहिले क्यानाडा लैजाने भनेर फेरि पनि झुक्याउने काम भैरहेको छ । तैपनि रामकुमारी निरीह छिन् । 'गाउँ जाउँ भने गइसक्नु छैन, विदेश उडौं भने कागजात छैन । अहिले त एजेन्टहरू पनि सम्पर्कबाहिर छन्,' उनले भनिन्— 'दिल्ली, पहाडगन्जको होटलमा बसेको पैसा कहिले तिर्ने हो ?'

रामकुमारीजस्तै एक दर्जनजति पुरुष र महिला अहिले दिल्ली ट्रान्जिटमा छन् । सपना न विपनाको यो स्थितिमा उनीहरू अझै पनि न्युजिल्यान्ड सपना देखिरहेका छन् । 'एजेन्टको नाम भने नलेखिदिनुहोला है, फेरि डुबेको पैसा उठाउन अझ मुस्किल पर्नेछ,' रामकुमारी र अरु पीडितहरूको आग्रह छ । रामकुमारीको यो व्यथा पहाडगन्ज आसपासमा अलपत्र देखिने थुप्रै नेपाली कामदारहरूसँग मिल्दो छ । यतिखेर गैरकानुनी उपायबाट दिल्ली ट्रान्जिट हुँदै खाडी मुलुकहरूमा कामदार ओसार्ने मानव तस्करीको सञ्जालमा नयाँ ट्रेन्ड देखिएको छ ।

कामदार भिसा लिएर खाडी मुलुक जानेका लागि दिल्ली दूतावासको 'नो अब्जेक्सन लेटर' आवश्यक रहने कडाइ बढेपछि र हस्तलिखित पासपोर्टको उपलब्धता कम हुँदै गएपछि खाडीको साटो अरु मुलुकमा भिन्न उपायबाट तस्करीको ट्रेन्ड सुरु भएको हो । पछिल्ला महिनामा उत्तर अफ्रिकी मुलुक लिबिया, पूर्वी अपि|mकी मुलुक युगान्डा र दक्षिण-पश्चिम प्यासिफिक मुलुक न्युजिल्यान्ड लैजाने भनेर दिल्ली ट्रान्जिटको उपयोग हुनथालेको छ । यस बाहेक युद्धग्रस्त मुलुक सिरिया, इराक, अफगानिस्तान, केन्या तथा तान्जानिया लैजाने सञ्जाल पनि बढ्दो देखिन्छ । केन्या र तान्जानियाका हकमा भने त्यहाँका डान्स बारमा नचाउनका लागि नेपाली केटीहरू लैजाने क्रम बढ्दो छ । अहिले ती मुलुकमा ३ सयभन्दा बढी नेपाली केटी 'टुरिष्ट भिसा' साथमा लिएर स्टेजमा नाचिरहेका भेटिन्छन् । अर्को गन्तव्यका रूपमा फेरि उदाएको लिबिया रोजगारीमा अझै प्रतिबन्धित छ । २०११ अक्टोबरपछि लिबियामा भड्किएको हिंसात्मक विद्रोहका कारण त्यहाँ कार्यरत झन्डै २ हजार नेपालीलाई राज्यले उद्धार गरेर घरफिर्ता ल्याउनुपरेको थियो । त्यसपछि वैदेशिक रोजगार गन्तव्यबाट लिबियालाई हटाइएको हो ।

दिल्लीस्थित नेपाली दूतावास तथा अखिल भारत नेपाली एकता मञ्च, प्रवासी नेपाली संघ र हेल्प नेपाली मिसनमार्फत उद्धार/सहयोगका लागि आएका निवेदनमध्ये अधिकांशमा 'आफूलाई थाहापत्तो नभएको मुलुकमा रोजगारीको प्रलोभन देखाएर लाखौं रुपैयाँ उठाइएको' विवरण उल्लेखित छ । नेपाली दूतावासका चार्ज डे'अफेयर्स खगनाथ अधिकारीका अनुसार खाडी मुलुकमा जाने कामदारका हकमा मात्रै भारतका विमानस्थल भएर जानलाई श्रम स्टिकरको अनिवार्यता वा दूतावासको 'नो अब्जेक्सन लेटर' आवश्यक रहेको जानकारी सम्बद्ध विमानस्थलहरूमा सूचित गरिएको छ । तर भारतमा २ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थल रहेका कारण दिल्ली, मुम्बईजस्ता मुख्य उडान केन्द्रबाहेक सबैतिर यो सूचनाको पहुँच र प्रभाव नपरेको देखिन्छ ।

‘अफ्रिकाका केन्या, तान्जानिया, युगान्डाजस्ता मुलुकमा नेपालीले पाउने अन-अराइभल भिसाका कारण यसको दुरुपयोग बढ्दो देखिन्छ,' नाइजेरियास्थित गैरआवासीय नेपाली संघ, अफ्रिका क्षेत्रीय समितिका संयोजक हिक्मत थापा भन्छन्— 'यता दुरुपयोग भयो भनेर पाइएको अन-अराइभल भिसा सुविधा रोकिमाग्नु उपयुक्त हुँदैन । बरु नो अब्जेक्सन लेटरजस्तै अरु नियमनकारी उपाय के हुनसक्छन्, त्यसको उपाय खोज्नु महत्त्वपूर्ण हुनेछ ।' दक्षिण अफ्रिकाका राजदूत अरुणप्रसाद धिताल पनि अन-अराइभल भिसा पाउने भएकाले अमेरिका/युरोप छिर्ने तथा मानव तस्करीका अन्य उपाय अवलम्बन गर्ने 'ट्रान्जिट'का रूपमा अफ्रिकी मुलुकहरूलाई दुरुपयोग गर्ने क्रम बढ्दो रहेको बताउँछन् । विशेषतः तीन महिने पर्यटक भिसामा कामदारलाई अफ्रिका ल्याएर उतै बिचल्ली पार्नेको सञ्जालबारे सचेत रहनुपर्ने आग्रह राजदूत धितालको छ ।

अर्कातिर लिबिया, सिरिया र इराकजस्ता वैदेशिक रोजगारीका हकमा राज्यद्वारा प्रतिबन्ध लगाइएका मुलुकमा समेत जानका लागि 'आफूलाई त्यसबारे कुनै जानकारी नरहे जस्तो गरेर' पर्खाइमा रहने दर्जनौं नेपाली दिल्ली ट्रान्जिटमा भेटिन्छन् । युगान्डाको राष्ट्रसंघीय बेसक्याम्पभित्र सेक्युरिटी गार्ड लगाइदिने भनेर जनही १० लाख रुपैयाँसम्म हालै ठगिनेमा विगतमा नेपाली सेनामा कार्यरत अनुभवी सैनिकहरू स्वयम् थिए । यसरी ठगिने ६ जना पूर्व सैनिकमा कतिपयले राष्ट्रसंघीय शान्ति सेनाका रूपमा अफ्रिकी मुलुकमा विगतमा कामसमेत गरिसकेका थिए ।

Published on: 19 March 2014 | Kantipur

Back to list

;