s

नेपाल–कोरिया श्रम सम्झौता नवीकरण

लिलु डुम्रे
 
नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणालीअन्तर्गत श्रम सम्झौता शुक्रबार नवीकरण भएको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ र कोरियाका श्रम तथा रोजगार मन्त्रालयका भाइस मिनिस्टर खो योङ सुनले दुई वर्षका लागि भएको श्रम सम्झौता नवीकरणमा हस्ताक्षर गरेका हुन् । सम्झौताको अवधि २०१४ को जुन २९ मा सकिएको थियो ।
 
श्रम नवीकरणका लागि दक्षिण कोरिया आएका श्रमराज्यमन्त्री गुरुङले हस्ताक्षरका क्रममा कामदार कोटा बढाउन आग्रह गरेका थिए । भाइस मिनिस्टर खो योङ सुनसँग मन्त्री गुरुङले निर्माण क्षेत्रमा पनि नेपाली कामदारलाई अवसर दिन आग्रह गरेका थिए । माथिल्लो निकायसँग छलफल गरी यससम्बन्धी निर्णय लिइने जबाफ दिएको श्रममन्त्री गुरुङले जानकारी दिए । 
 
नेपालले महिला कामदारको माग संख्या बढाउन र सेवा क्षेत्रमा पनि प्रवेश दिन आग्रह गरेको थियो । कोटा वृद्धि, निर्माण क्षेत्रमा प्रवेश र महिलालाई सेवा क्षेत्रमा खुलाका लागि सकारात्मक प्रतिक्रिया पाएको राज्यमन्त्री गुरुङले जानकारी गराए । निर्माण क्षेत्रमा कोरियन र चिनियाँ नागरिकलाई मात्रै कार्य अनुमति छ ।
 
श्रम नवीकरणका समयमा नेपालले उमेरको हदबन्दी बढाउन माग गरेको थियो । ईपीएस लागू भएका अन्य १५ देशमा पनि सोही निर्णय लागू हुनाले सबै देशसँग छलफल गर्नुपर्ने धारणा कोरिया पक्षले राखेको थियो । निःशुल्क टिकटका लागि नेपालले उठाएको विषयमा कोरियाले एक देशका लागि मात्रै सम्भव नहुने प्रतिक्रिया जनाएको थियो । 
 
निःशुल्क टिकटका लागि कम्पनीले प्रवेश टिकट उपलब्ध गराउने र कामदारले कार्य सुरु गरेपश्चात् चुक्ता गर्नेगरी मिलाउन सकिने विकल्प नेपालले सुझाएको थियो । नवीकरणमा विगतका सहमतिलाई यथावत् राखिएको छ ।
 
मलेसिया तथा खाडी मुलुकमा निर्माण क्षेत्रमा कार्य गरी अनुभव प्राप्त कामदारलाइ खुला गरिदिन गरेको आग्रहलाई कोरियाले सकरात्मक रूपमा लिएको श्रमराज्यमन्त्री गुरुङले जानकारी गराए ।
 
मलेसियाबाट बुधबार सीधै कोरिया आएका श्रमराज्यमन्त्रीसँगै श्रम निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठ, वैदेशिक रोजगार विभागका महानिर्देशक भरत सुवेदी र ईपीएस शाखा निर्देशक डिल्ली बास्तोला पनि थिए । 
 
टोलीले बिहीबार कोरियाका मानव संसाधन विभाग प्रमुख प्राध्यापक डाक्टर योङ बुम पार्कसँग भेटवार्ता गरेको थियो । टोलीले कोरिया आएका कामदारलाई दिइने अभिमुखीकरण तालिम केन्द्रको पनि अवलोकन गरेको थियो ।
 
Published on: 30 August 2015 | Annapurna Post
 

Back to list

;