s

नेपालीको राहदानी बंगलादेशीलाई बेच्ने पक्राउ

विदेशमा रोजगारीमा जान लागेका २५ नेपालीको हस्तलिखित राहदानी म्यानपावर सञ्चालकहरूले बंगलादेशीलाई बेचेको पाइएको छ । तीमध्ये ११ जनाको फिर्ता ल्याइएको प्रहरीले जनायो ।

साउदी अरबको भिसा लागेका ती राहदानी २९ लाख पचास हजार रुपैयाँमा बिक्री गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनायो । उसले राहदानी बेच्ने गिरोहका दुई जनालाई हालै पक्रेको छ । पक्राउ पर्नेमा आरपी इन्टरनेसनल कन्सल्टेन्सिका सञ्चालक पूर्णबहादुर मगर र अल जरिफा म्यानपावरका कुमार पुरी छन् । गिरोहका मुख्य नाइके पाँचथर, नाङगिनका देवीप्रसाद काफ्ले फरार छन् ।

ब्युरोका वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम कार्कीका अनुसार यी ३ जनाले वैदेशिक रोजगारीमा जान आउनेबाट भिसा लगाइदिने भन्दै राहदानी लैजाने गरेका थिए । भिसा लागेपछि त्यसलाई चर्को मूल्यमा बंगलादेशीलाई बेच्ने गरेको पाइएको छ । खाडी मुलुकले भिसा दिन छाडेपछि बंगलादेशीहरू परिचय बदलेर नेपाली बनी त्यसतर्फ जाने गरेका छन् ।

प्रहरीका अनुसार बंगालीलाई बेचेको रकम मगरले बुझेका थिए । त्यसमध्ये १९ लाख ५० हजार रुपैयाँ उनले काफ्लेलाई दिएका थिए ।प्रहरीका अनुसार साउदी अरबको अल यामा कम्पनीबाट कमल सापकोटाको केएल इप्लोयमेन्ट सर्भिस प्रालिलाई प|mी भिसा र टिकटमा सय जना कामदारको माग आएको थियो । यसका लागि सापकोटाको कम्पनीले २०७० असोज १६ गते वैदेशिक रोजगार विभागबाट २५ जनाको श्रम स्वीकृति लियो । त्यसपछि मगरले तिनको राहदानी पुरीमार्फत बंगलादेशका मोहमद देलवार हुसेनलाई बेचेका थिए । प्रहरीले अनुसन्धान गरेको सुइँको पाएपछि उनीहरूले ११ वटा राहदानी भने बंगलादेशी गिरोहबाट फिर्ता ल्याए ।

उनीहरूले एक जनाको राहदानीलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्ममा बेचेको प्रहरीले जनाएको छ । यसको अनुसन्धान पूरा गर्न एक वर्षभन्दा बढी लागेको एसएसपी कार्कीले बताए ।

बंगलादेशस्थित साउदी अरबको दूतावासबाट वल्र्ड वाइड इन्टरनेसनलका पुष्प भण्डारीले २५ जनाकै भिसा लगाइदिएका थिए । भिसा लगाएको राहदानी बंगलादेशमै बिक्री भएको सुइँको पाएपछि भण्डारीले ब्युरोलाई खबर गरेका थिए । राहदानी बेचिसकेपछि पुरीले सापकोटाले दिएको २५ थान र अरू ७ वटा राहदानी पुरानो बानेश्वरस्थित एक होटलमा पार्किङ गरेको गाडीबाट हराएको भन्दै गौशाला प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सोधपुछ गर्दा उजुरी झूटो भएको पत्ता लागेको थियो । 'भिसा लगाउन राहदानी छाडेकाले राहदानी माग गर्ने भएकाले त्यबसाट जोगिन प्रहरीमा उजुरी दिएको पाइयो,' एसएसपी कार्कीले भने । आफूले भिसा लगाएर दिएको राहदानी दुरुपयोग गरेको भन्दै सापकोटाले २०७० माघ १४ गते वैदेशिक रोजगार विभागमा पनि उजुरी दिएका थिए ।

प्रहरीेले यसका मुख्य योजनाकार काफ्ले भएको जनाएको छ । उनले मगरसँग मिली भिसा लागेका नेपाली राहदानीमा फोटो परिवर्तन गरी बेचेका थिए । काफ्ले यस अघिपनि ठगी मुद्दामा पक्राउ परेर धरौटी बुझाई छुटेका व्यक्ति हुन् । उनले संयुक्त अरब इमिरेट आबुधाबीको क्यू, बिजी सेक्युरिटी कम्पनीको नक्कली इमेल बनाएर आफ्नो एनसिएफ इम्प्लोयमेन्ट सर्भिस सिनामंगलको नाममा इमेल आएको भन्दै विभिन्न व्यक्तिबाट २९ लाख ८५ हजार रुपैयाँ ठगी गरेका थिए । उक्त मुद्दामा उनी जिल्ला अदालत काठमाडौं २९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

कामदारलाई विदेश पठाउने संस्थाले नै राहदानी बेचिदिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । '२/४ महिना प्रक्रिया चलिराखेको छ भन्ने अनि भिसा लगाउन पठाएको हराएछ भन्दै अर्को बनाउन लगाउने गरेको पाइयो,' एसएसपी कार्कीले भने, 'राहदानीबाहक पनि २०/२५ हजार रुपैयाँ आउने भएपछि पैसा लिएर नयाँ बनाउनतिर लाग्छन् ।'

नेपालीको राहदानीमा विदेशी नागरिक जाँदा राष्ट्रिय प्रतिष्ठामा आँच आउने एसएपी कार्कीको भनाइ छ । 'कामदारको रूपमा गएकाले त्यो मुलुकमा कुनै अपराधिक गतिविधि गर्‍यो भने त्यसको दोष नेपालीमाथि आउँछ,' उनले भने ।

Published on: 20 May 2014 | Kantipur

Back to list

;