s

नेपाली कामदारमा ओमान सकारात्मक

खाडी राष्ट्र ओमान नेपालसँग श्रम सम्झौता गर्न सकारात्मक देखिएको छ। परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापा र ओमानी श्रम सचिव हमिद खामिस अल–आम्रीबीच बुधबार मस्कटमा भएको बैठकमा दुई देश श्रम सम्झौता गरी कामदार पठाउन सकारात्मक भएका हुन्।

बैठकमा दक्ष तथा अर्धदक्ष नेपाली कामदारलाई बढी अवसर दिन, कामदारको लागि सहज काम गर्ने वातावरण निर्माण गर्न र उनीहरुको सुरक्षाको लागि दुई देशबीच द्विपक्षीय श्रम सम्झौता हुनुपर्ने प्रस्ताव नेपाली पक्षले उठाएको थियो। नेपाली पक्षले उठाएको श्रम सम्झौता प्रस्तावलाई बैठकमा ओमानी श्रम सचिवले स्वागत गरेको ओमानस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकमा अल–आम्रीले नेपाली कामदारले ओमानको विकासमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। उनले नेपाली कामदार इमानदार, निष्कपट, बफादार र कडा मेहनती भएको भन्दै प्रशंसा गरेका थिए। ओमानमा करिब ३५ हजार नेपाली कामदार छन्।

बुधबार नै परराष्ट्र सचिव थापा र ओमानी उद्योग वाणिज्य महासंघका अध्यक्ष खालिद विन अब्दुल्लाहबीच मस्कटमा भेटवार्ता भएको थियो। वैदेशिक रोजगार, व्यापार, पर्यटन र द्विपक्षीय लगानीका विषयमा भेटमा छलफल भएको थियो। भेटवार्तामा सचिव थापाका साथमा परराष्ट्रका शिष्टाचार महापाल कालीप्रसाद पोखरेल र ओमानका लागि कार्यबाहक राजदूत झविन्द्र अर्याल पनि थिए।

Published on: 27 December 2013 | Nagarik

Back to list

;