s

नेपालीसहित ८ विरुद्ध मुद्दा

राजापुर १०, टेडियाकी २८ वर्षीया मीना सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना नेपालीसहित ८ विरुद्ध मुद्दा दायर गरिएको छ । अभियुक्तमाथि हदैसम्मको सजाय माग गरिएको छ । बलात्कार र हत्यामा संलग्न प्यूठानका सन्तोष विक भारत हरियाणा राज्यको रोहतक जिल्लाका मन्दिर सिंह, प्रमोद जाठ, सुनिल जाठ, सरोवर सिंह, राजेश जाठ, सुनिल सिंह र पवनविरुद्ध मुद्दा दायर गरिएको हो ।

बलात्कार र हत्यामा संलग्न सोमवीर जाठले घटनालगतै आत्महत्या गरेको सुनारका आफन्तले बताए । रोहतकका एसएसपी शंशाक आनन्दले पक्राउ परेका ८ जनालाई त्यहाँको अदालतको आदेशमा थुनछेकका लागि कारागारमा राखिएको बताए । उपचारका लागि भारतको हरियाणा प्रान्तको रोहतक पुगेकी मनकुमारी भनिने मीना सुनारको फेब्रुअरी १ तारेखमा सामूहिक बलात्कारपछि हत्या गरिएको थियो । मानसिक समस्याको उपचारका लागि दिदी भिनाजुसँगै हरियाणा पुगेकी अविवाहित ती युवतीलाई ९ युवाले बलात्कार गरेका थिए । मीना बेपत्ता भएको ४ दिनपछि शव फेला परेको थियो । उनको यौनाङ्ग र टाउकोमा ढुंगाले र छडले हानेर हत्या गरेर शव खेतमा क्षतविक्षत अवस्थामा फेला परेको थियो । 

हरियाणामा रहेकी उनकी दिदी बसन्तीले बहिनी मीनाको डीएनए परीक्षणको रिपोर्ट आउन ढिलाइ भएको बताइन् । 'परीक्षणको रिपोर्ट आउन अझै १५ दिन लाग्छ,' उनले टेलिफोनमा भनिन्, 'मुद्दाको बहस गर्न अझै कानुन व्यवसायी पाएका छैनांै ।' सरकारवादी मुद्दा भए पनि उनीहरूले कानुन व्यवसायी राख्न खोजेका थिए । स्थानीय गुण्डाको डरले पीडित परिवारको पक्षमा कानुन व्यवसायीले पैरबी नगरेका हुन् । भारतमा रहेका प्रवासी संघसंगठनले मुद्दाको पक्षमा सहयोग गर्दै आएको जानकीले बताइन् । सुनार गत मंसिर १२ गते राजापुरबाट उपचारका लागि दिदी जानकी र भिनाजु जगतसँग भारत गएकी थिइन् । आफ्नी बहिनी ज्वाइँ नैनितालमा भएको समय उनले साइराम अस्पताल हल्द्धानीमासमेत उपचार गराएकी थिइन् । त्यहाँ उपचार राम्रो नभएपछि दिदी भिनाजुसँग हरियाणा गएकी हुन् ।

बलात्कार प्रयासमा पक्राउ

कालिकोट- एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा मान्म ४ का २२ वर्षीय नवीन शाही पक्राउ परेका छन् । बिहीबार दिउँसो मान्म बजारकी १३ वर्षीया बालिकालाई मोटरसाइकलमा घुमाइदिने भन्दै मान्म पञ्चदेव उमावि नजिकै रहेको आफ्नो घरमा लिएर बलात्कार प्रयास गर्ने शाहीलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाले शुक्रबार पीडकविरुद्ध जिल्ला प्रहरीमा किटानी उजुरी दिएपछि युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख लक्ष्मण गुरुङले बताए । उनले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्ने जनाए ।

जिल्ला सदरमुकाम मान्म घर भएकी बालिकालाई पीडकले मोटरसाइकलमा घुमाइदिन्छु भन्दै पञ्चदेव उच्च मावि नजिकैको आफ्नो घरमा लिएर कोठामा ताला लगाई आफू झ्यालबाट छिरेर बलात्कार गर्ने प्रयास गरेपछि बालिकाले प्रहरीमा उजुरी दिएकी थिइन् । 'मोटरसाइकलमा घुम्न जाने हो ? आऊ बस भन्यो,' पीडित बालिकाले भनिन्, 'घरमा लिएर गयो, कोही थिएनन् कोठाभित्र हुलेर बाहिरबाट ताला लगायो ।' उनले सुनाइन्, 'बाहिर निस्किएर ढोकामा ताला लगाएर झ्यालबाट छिरेर जबरजस्ती गर्न खोज्यो ।' उनले आफू चिच्च्याएपछि झ्यालबाट भागेको सुनाइन् ।

फिर्ता लिन दबाब

भरतपुर (कास)- साताअघि चितवन भण्डारामा बालिका बलात्कार आरोपमा पक्राउ परेकाविरुद्धको जबरजस्ती करणी मुद्दा फिर्ता लिन दबाब बढेको छ । पीडक पक्षले पीडितका नातेदारमार्फत दबाब दिइरहेका छन् । 'झूटो मुद्दा किन हालेको, फसाउन खोजेको भन्दै तर्साउने गर्छन्,' बालिकाकी आमाले भनिन्, 'हामीलाई दबाब दिइरहेका छन् ।' स्थानीय एक सामाजिक अगुवाले आफ्नो घरमै आएर मुद्दा फिर्ता लिन कर गरेको उनले बताइन् । 'कुनै हालतमा फिर्ता लिन्नँ,' उनी भन्छिन्, 'गलत गरेकी छैन ।' उनका अनुसार अस्पतालको रिपोर्टले योनीमा घाउ भएको देखाएको छ । 'मैले आपतकालीन अवस्थामा देखेकी थिएँ,' उनले भनिन्, 'योभन्दा ठूलो प्रमाण अरू के हुन्छ ।' दोषीलाई बचाउन षड्यन्त्र भइरहेको उनको ठहर छ ।

मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको एसपी सहकुलबहादुर थापाले बताए । २५ दिनको अनुसन्धानपछि सरकारी वकिलमार्फत अदालतमा मुद्दा पेस गरिने उनले बताए । 'घटनाको जाहेरी परिसकेको छ,' उनले भने, 'त्यस आधारमा प्रक्रिया अघि बढाएका छौं ।' अस्पतालको रिपोर्टले बलात्कार पुष्टि नगरेको उनले बताए । 'बलात्कार घटना भएकाले पीडक पक्षले दबाब दिन सक्छन्,' उनले भने, 'पीडित पक्षले विचलित भई मुद्दा फिर्ता लिनु हुँदैन ।' प्रहरीलाई कुनै दबाब नआएको उनले बताए । बलात्कार आरोपमा भण्डारा ८ का ४८ वर्षीय एकराज हुमागाइर्ंलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी मुद्दा चलाएको छ ।

Published on: 1 March 2015 | Kantipur

 

Back to list

;