s

नेपालीबाटै लुटिन्छन् घर फर्किने

वर्ष दिनजति भारतको दिल्लीमा काम गरेर दसैंका लागि घर र्फकंदै गरेका एक व्यक्तिलाई बिहीबार नशालु पदार्थ खुवाएर नगद तथा लत्ताकपडा बाटोमै लुटियो। उनलाई नेपालीले नै ललाइफकाई पानीमा नशालु पदार्थ खुवाएर लुटेको प्रहरीले जनाएको छ। चितवन गीतानगरका नरीबहादुर थापालाई नशालु पदार्थ खुवाएर ४२ हजार भारु र लत्ताकपडा लुटिएको हो। दिल्लीबाट एउटै सिटमा बसेर आएका नेपालीले उनलाई नशालु पदार्थ खुवाएर लुटेका थिए। उनलाई सीमावर्ती भारतीय बजार बनवासा पुग्नुभन्दा अघि नै लुटिएको थियो। 

त्यसको एक दिनअघि अर्का कामदार पनि घर र्फकंदै गर्दा बाटोमै लुटिए। उनलाई पनि दिल्लीबाट सँगै आएका नेपालीले खानामा नशालु पदार्थ खुवाएर लुटेका थिए। तर उनको २/४ हजारमात्रै लुटिएकाले प्रहरीलाई सामान्य जानकारीबाहेक केही थाहा छैन। उनले इलाका प्रहरीमा उजुरीसम्म दिएनन्।

रोजगारीका लागि गएकाहरू दसैंतिहारमा घर फर्किने क्रम बढेसँगै नेपालीहरूकै संलग्नतामा लुटपाटका घटना पनि बढिरहेका छन्। नेपाली मजदुरहरू काम गर्ने ठाउँबाटै घर र्फकंदा लुटेराको समूह पनि उनीहरूसँगै गाउँठाउँको साइनो र चिनजान गर्दै सँगै जाने बहाना बनाई नजिकन खोज्ने र बाटोमा लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ। अहिले दिनहुँ एक/डेढ हजारको संख्यामा कामका लागि भारतीय भूमि पुगेका नेपाली कामदार घर फर्किरहेका छन्।

'दिल्लीबाट मेरो घर पनि डोटीमा हो भनेर दाइ दाइ भन्दै सँगै आएको थियो,' नशालु पदार्थ सेवन गराई लुटिएपछि बेहोस अवस्थामा इलाका प्रहरी गड्डाचौकीमा पुगेका थापाले भने, 'खाना खाने ठाउँमा मैले केही नखाएपछि पानी र अम्लेट खानुस् दाइ भनेर ल्याएको थियो, त्यसैमा के-के मिसाएर ल्याएको रहेछ थाहै भएन।' उनले आफूसँग भएको नगद तथा लत्ताकपडा उसैले लुटेको बताए। 

'यात्रा गर्दा बाटोमा अपरिचितले दिएको खानु हुँदैन भन्ने राम्ररी बुझेको थिएँ,' उनले भने, 'तर दाइ नाता लगाउँदै निकै नजिक भएपछि उसले ल्याएको नखाए रिसाउला भनेर खाएँ।' उनले बाटोमा समेत त्यो व्यक्तिले विभिन्न किसिमका कुराकानी गरेर आफूसँग राम्रो सम्बन्ध बनाउन खोजिरहेको बताए। 'उसले खानामै नशालु पदार्थ मिसाउने योजना बनाएको रहेछ तर मैले नखाएपछि अम्लेट र पानी ल्यायो,' उनले भने। 

भारतमा मजदुरी गरेर घर फर्किने बेला लुटिने अधिकांश नेपालीबाटै पीडित हुने गरेको सीमा क्षेत्रमा रहेको गड्डाचौकीका इन्चार्ज सइ राजेन्द्रबहादुर चन्दले बताए। 'नेपालीहरू काम गर्ने ठाउँबाटै लुटेरा पछि लागेका हुन्छन्,' उनले भने, 'जसमा धेरै नेपाली मिलेका हुन्छन्।' उनका अनुसार पछिल्लो एक/डेढ महिना अवधिमा दसैं तिहारका लागि घर फर्किने ५/६ जनाभन्दा बढी लुटिएका छन्। 'ती सबैको मिलेमतोमा लुटिएका हुन्,' उनले भने। गत वर्ष भारतबाट घर फर्किने क्रममा नशालु पदार्थ खुवाएर २० जना लुटिएका थिए।

सानोतिनो रकम तथा लुगा कपडा लुटिएका त प्रहरीमा सामान्य जानकारी गराएरमात्रै जान्छन्। तर धेरै नगद तथा जिन्सी लुटिएका र लामो समयसम्म पनि होसमा नआएका प्रहरीकहाँ आउने गरेका छन्। '२/४ हजार लुटिएकाले हामीकहाँ सम्पर्क गर्दैनन्,' शनिबार गड्डाचौकी चेकपोस्टमा खटिएका एक प्रहरीले भने। प्रहरीले विभिन्न संघसंस्थाबाट बाटो खर्च जुटाएर उनीहरूलाई गन्तव्यसम्म पठाउने व्यवस्था गरिरहेको छ।

बेलाबेलामा हुने नेपाल-भारत सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकमा पनि यस्ता घटना न्यूनीकरणका लागि दुवै देशका सुरक्षाकर्मीले समन्वय गरेर अघि बढ्ने सहमति हुने गर्छ।

Published on: 22 September 2014 | Kantipur

Back to list

;