s

पढाइ सकिनेबित्तिकै विद्यार्थीलाई वर्कपर्मिट

यस वर्ष काठमाडौंको सान इन्स्टिच्युटबाट बिएस्सी नर्सिङ पूरा गरेकी बालाजुकी एलिजा मानन्धर डिग्री पढ्न अस्ट्रेलिया जाने तयारीमा छिन्। ‘स्नातकोत्तर गरेपछि आफ्नो क्षेत्रमा काम गर्न अस्ट्रेलियन सरकारले नै दुई वर्षका लागि वर्क पर्मिट दिने व्यवस्था गरेको छ,' ग्लोबल रिच अस्ट्रेलियन एजुकेसन फेयरमा भेटिएकी एलिनाले भनिन्, ‘अस्ट्रेलियामा पढेपछि हासिल गरेको शैक्षिक प्रमाणपत्र विश्वबजारमा बिक्ने भएकाले म अझ बढी उत्साहित भएकी हुँ।'

शिक्षा मन्त्रालयका वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखाका उपसचिव नन्दलाल पौडेलका अनुसार अंग्रेजी माध्यमबाट पढाइने र पढाइपछि विद्यार्थीले समबन्धित क्षेत्रमा काम गर्न वर्क पर्मिट पाउने व्यवस्था भएकाले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको आकर्षण बढ्दै गएको छ। 

उनले यस वर्ष अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले विशेषगरी नर्सिङ, एकाउन्टिङ, होटेल म्यानेजमेन्ट, हेल्थ साइन्स, बिजनेस, अंग्रेजी भाषा, आइटी, प्रोफेसनल एकाउन्टिङ, कमर्स, बिजनेस म्यानेजमेन्ट, बायोमेडिकल, फार्मेसी, इन्जिनियरिङ, कम्प्युटर साइन्सलगायत विषयमा नो अब्जेक्सन लेटर लिने गरेको जनाए।

उपसचिव पौडेलले यस वर्ष ०७१ साउन १ गतेदेखि पुस ३० गतेसम्म अष्ट्रेलियाका लागि मात्र ४ हजार ५ सय ४४ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएको तथ्यांक रहेको बताए। यही समय मन्त्रालयले ६५ देशका लागि १५ हजार ८६ विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिइसकेको जनाएको छ। 

‘अस्ट्रेलियामा संघीय राज्यअनुसार शिक्षा प्रणालीको व्यवस्था छ,' उपसचिव पौडेलले भने, ‘सबै प्रकारका विद्यार्थी अट्ने भएकाले अस्ट्रेलिया हाल उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि आकर्षण बन्दै गएको हो।' उनले थपे, ‘पढाइ सकिनासाथ वर्क पर्मिट पाउने व्यवस्थाले यस वर्ष धेरै विद्यार्थीले अस्ट्रेलियाका लागि नो अब्जेक्सन लेटर लिएका छन्।'

डिल्लीबजारस्थित द नेक्स्ट एजुकेसनका प्रमुख कार्यकारी अधिकृत सालिकराम भण्डारीले अस्ट्रेलियामा पढ्ने चाहना भएका विद्यार्थीका लागि राम्रो गन्तव्य भएको बताए। उनले विश्वका उत्कृष्ट विश्वविद्यालय अस्ट्रेलियामा रहेको र तिनबाट विद्यार्थीले हासिल गरेको डिग्रीले विश्वबजारमै मान्यता पाउने भएकाले पनि नेपाली विद्यार्थीको आकर्षण बढेको जनाए। ‘अस्ट्रेलियन शिक्षाले पढाइअनुसार विश्वबजारमा बिक्नसक्ने जब–एक्स्पर्ट उत्पादन गर्ने भएकाले विद्यार्थीको आकर्षण बढिरहेको छ,' भण्डारीले भने, ‘अस्ट्रेलियाको कुल ३९ सरकारी विश्वविद्यालयमध्ये समूह ८ विश्वविद्यालय विश्वका उत्कृष्ट छन्।' उनले थपे, ‘विद्यार्थीले कामको अनुभवसाथै आर्थिक आयआर्जन गर्नसक्ने अवसार अस्ट्रेलियामा छ।' 

बागबजारस्थित हब इन्टरनेसनलका प्रबन्ध निर्देशक उद्धव खड्काले अस्ट्रेलिया पढाइ राम्रो भएको र लामो समयसम्म बस्ने नेपाली विद्यार्थीका लागि गन्तव्य बन्दै गएको बताए। ‘पढाइमा गरिएको लगानी उठाउन र पढेको विषयवस्तु व्यवहारमा उतार्नसमेत अस्ट्रेलिया उच्च शिक्षाका लागि आकर्षण बन्दै गएको हो,' खड्काले भने, ‘पढ्ने चाहना भएका र कागजात पूरा भएका विद्यार्थीले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि भिसा पाउँछन्।'

सरकारी तथ्यांकअनुसार अस्ट्रेलियामा सन् २०१४ जुलाइ १ देखि सेप्टेम्बर ३० सम्ममा कुल १ हजार ६ सय ४३ ले भिसा प्राप्त गरेका छन् भने सन् २०१३ जुलाइ १ देखि २०१४ जुलाइसम्ममा कुल ६ हजार ६ सय ६९ नेपाली विद्यार्थीले विभिन्न क्षेत्रमा शिक्षा हासिल गर्न भिसा प्राप्त गरेका छन्। 

यसैगरी विश्वभरिबाट बर्सेनि ७२ हजार विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न जाने गरेका छन्। पुतलीसडकको मेट्स एजुकेसनका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले अस्ट्रेलिया सरकारले एजुकेसन सर्भिसेस फर ओभरसिज स्टुडेन्ट कानुनमा ट्युसन प्रोटेक्सन स्किमको व्यवस्था गरिदिएकाले पनि विद्यार्थी अस्ट्रेलियन शिक्षाप्रति आकर्षित बन्दै गएको बताए। सन् २००० देखि अस्ट्रेलियन सरकारले विदेशी विद्यार्थीको शैक्षिक लागनी डुब्न नदिन यो व्यवस्था गरेको हो।

यसैगरी विदेशी विद्यार्थीले पोस्ट स्टडिज वर्क (पिएसडब्लु) भिसा प्रावधानअनुसार स्नातक र स्नातकोत्तर गरेपछि दुई वर्षका लागि वर्क पर्मिट भिसा पाउँछन्। यसैगरी एमफिल पास गरेकाले तीन वर्ष र विद्यावारिधि गरेकाले चार वर्षसम्मका लागि काम गर्ने भिसा पाउँछन्। यसका लागि विद्यार्थीले आइएलटिएस परीक्षाको तीन वर्षको म्याद ननाघेको र प्रत्येक सेक्सनमा ६ अंक ल्याएको हुनुपर्छ।

‘पढाइपछि वर्क पर्मिट पाएका विद्यार्थीले पिआरसमेत पाउँछन्,' पाण्डेले नागरिकसँग भने, ‘लगानी गरेर व्यापारसमेत गर्न पाउँछन्।'

विश्वका ५ सय उत्कृष्ट विश्वविद्यालयमध्ये १९ वटा अस्ट्रेलियामा छ। सुन्धाराको सिभिल मलमा रहेको एजुकेसन पार्कका अध्यक्ष भूपेन्द्र सिटौलाले विद्यार्र्थीले पढेका कुरालाई व्यवहारमै उतार्नसक्ने वातावरण भएकाले उच्च शिक्षाको केन्द्र अस्ट्रेलिया बन्दै गएको जनाए।

विद्यार्थीले शिक्षा हासिल गरेपछि वर्क पर्मिट पाउने प्रावधानै मुख्य आकर्षण हो। उनका अनुसार अस्ट्रेलियामा विदेशी विद्यार्थीले वर्क पर्मिट पाएपछि पिआर पाउने सम्भावना बढी हुन्छ। ‘अस्ट्रेलियामा उच्च शिक्षा हासिल गरिसकेपछि विद्यार्थीले पढाइअनुसारकै क्षेत्रमा अनुसन्धानमूलक काम गर्न पाउँछन्,' सिटौलाले भने, ‘कमजोर विद्यार्थीलाई समेत व्यावसायिक शिक्षा दिएर अगाडि बढाउने वातावरण भएकाले अस्ट्रेलियामा बढी विद्यार्थी जाने गरेका छन्।' 

नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ (नाएर) का अध्यक्ष एसके श्रेष्ठले सर्वसुलभ शुल्कमा नेपाली विद्यार्थीले अस्ट्रेलियामा विश्वकै उत्कृष्ट विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गर्ने भएकाले हालको गन्तव्य बन्दै गएको बताए। ‘प्राविधिक र सीपमूलक शिक्षाका लागि समेत अस्ट्रेलिया राम्रो छ,' नाएरका अध्यक्ष एवं प्रोफेसनल एजुकेसनका कार्यकारी निर्देशक श्रेष्ठले भने।

अस्ट्रेलियन हाइकमिसनको सहकार्यमा नेपाली विद्यार्थीको हकहितमा काम गर्न नायरको स्थापना भएको हो। अस्ट्रेलियन शिक्षामा कार्यत शैक्षिक परामर्शदाताको संस्था नायरले विद्यार्थीको हकहितमा काम गर्दै आएको उनले जनाए । 

प्रदर्शनीमार्गमा रहेको डल्पि्कन एजुकेसनका कार्यकारी अध्यक्ष प्रेम पाण्डेले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि शैक्षिक लगानीअनुसार कामको अवसर भएकाले आकर्षण बढेको जनाए। ‘विद्यार्थीले बिदाको समयमा फुलटाइम काम गर्न पाउँछन्,' पाण्डेले भने, ‘अध्ययनपछिको वर्क पर्मिटले नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न जान प्रेरित गरेको छ।'

Published on: 26 January 2015 | Nagarik

Back to list

;