s

परिवारको आैषत खर्च २५ हजार

नेपाली परिवारको मासिक आम्दानी ३० हजार हुने गरेको एक अध्ययनले देखाएको छ । तिनै परिवारको खर्च भने महिनाको २५ हजार हुने राष्ट्र बैंकले गरेको अध्ययनमा देखिएको हो । यसअनुसार परिवारले कमाइको करिब १७ प्रतिशत बचत गर्ने गरेको देखिएको छ ।
 
केन्द्रीय बैंकले हरेक १० वर्षमा गर्दै आएको पारिवारिक बजेट सर्वेक्षणमा उक्त तथ्यांक देखिएको हो । ‘सर्वेक्षणको यो पाँचौं संस्करण हो,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले भने, ‘यसमा आम्दानी र खर्चको अवस्थामा बढी केन्द्रित थियौं ।’ मुद्रास्फीतिको मापन गरिने उपभोक्ता मूल्य सूचकांक (सीपीआई) लाई अद्यावधिक गर्न केन्द्रीय बैंकले यस्तो अध्ययन गर्ने गरेको छ । वैज्ञानिक रूपमा केन्द्रीय बैंकले आर्थिक वर्ष २०२९/३० देखि यस्तो सर्वेक्षण गर्न थालेको हो ।
 
यस पटकको अध्ययनमा एउटा परिवारको आम्दानीको स्रोत पनि खुलाइएको छ । परिवारको आम्दानीको स्रोतमा तलब र ज्यालाबाट ३० प्रतिशत र रेमिट्यान्सबाट १७ प्रतिशत आम्दानी हुने देखिएको छ । व्यापारबाट २४ र घरभाडाबाट १७ प्रतिशत आम्दानी हुने गरेको देखिएको छ ।
मुलुकभरका ६० सहर र सहरोन्मुख गाउँमा गरिएको अध्ययनले कमाइको ठूलो हिस्सा घरभाडामा खर्च हुने गरेको देखिएको छ । राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिअनुसार घरभाडामा आम्दानीको १८ प्रतिशत खर्च हुने गरेको छ । सहरमा २० प्रतिशत भाडामा खर्चिनुपर्ने देखिएको छ । ८ हजार २८ परिवारमा गरिएको अध्ययनअनुसार सबैभन्दा धेरै खर्च खाद्य र पेय पदार्थमा नै हुने देखिएको छ । चाड पर्व तथा अन्य सामाजिक काममा भने कमै खर्च हुने गरेको देखिएको छ । अध्ययनअनुसार आम्दानीको ८ प्रतिशत खर्च यसमा हुने गरेको छ ।
 
पछिल्लो समय सर्वसाधारणको खर्च गर्ने प्रवृत्तिमा परिवर्तन आएको थापाले बताए । त्यसै आधारमा सीपीआई निकाल्ने क्रममा खाद्य वस्तुको भार घट्दै गएको छ । समग्र खर्चमा ४३ प्रतिशत खाद्य र बाँकी गैरखाद्य वस्तुको हिस्सा देखिएको छ । केन्द्रीय बैंकले मुलुकभरका मुख्य सहर र सहरोन्मुख गाउँमा सर्वेक्षण गर्ने गरेको छ । मुद्रास्फीति दर निकाल्न सर्वसाधारणले बढी उपभोग गर्ने वस्तुहरूलाई एउटा डालोमा राखिन्छ । उनीहरूको भाउमा हुँदै जाने वृद्धिलाई सूत्रमा राखेर मुद्रास्फीति दर निकाल्ने गरिन्छ । यसपटक उक्त डालोमा ४ सय ९६ वस्तु तथा सेवाहरूलाई राखिएको छ । यसमा ४ सय २ वस्तु र ९४ सेवाहरू समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।
  
Published on: 18 September 2015 | Kantipur
 

Back to list

;