s

परियोजना सकिएको चार वर्षसम्म मजदुरले ३० लाख ज्याला पाएनन्, प्रहरीमा निवेदन दिँदा पनि भएन सुनुवाइ

विष्णु शर्मा

 

भैसी बेचेर ठेकेदारलाई सहयोग गरेका मजदुर सडकमा

गौरवको आयोजना मानिएको साहारे खानेपानी आयोजनामा काम गरेका मजदुरले चार वर्षदेखि ३० लाख ज्याला पाएका छैनन् ।  दैनिक मजदुरी गरेका मजदुरको मात्र हाेइन, अन्य विभिन्न पसल, हार्डवेयर, होटेललगायतको हिसाब जोड्दा झन्डै ६० लाख रकम निर्माण कम्पनीले ठगी गरेको छ । 

दैलेखको नारायण नगरपालिका– ६ बिजौराका कुलबहादुर थापाले त निर्माण कम्पनीले काम लगाइदिएको भन्दै घरको भैँसी बेचेर ठेकेदारलाई सहयोग गरे, आफूले पनि काम गरे, उनले पाउनुपर्ने एक लाख ९२ हजार रकम चार वर्षदेखि नपाएपछि अहिले उनी सडकमा भौँतारिनुपर्ने अवस्थामा पुगेका छन् ।

ठगीमा परेका सबैले ठेकेदारविरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखमा ७ महिनाअघि रकम असुलउपर गराइदिन भन्दै उजुरी दर्ता गरेको भए पनि अहिलेसम्म सुनुवाइ नभएको कामदार कमल कोइरालाको गुनासो छ । ‘आयोजनामा सात वर्षदेखि प्लम्बरको काम गरेँ, मैले मात्रै ६ लाख रुपैयाँ पाउनुपर्नेछ, खानेपानी समस्याले व्याकुल भएको दैलेख बजारमा पानी ल्याउन ज्यानको बाजी राखेर भिर खोपेर मजदुरले काम गरे, तर ठेकेदारले गरिब मजदुरका लाखौँ रुपैयाँ  ठगी गर्दासमेत सम्बन्धित निकायहरू मौन बसेका छन् । ठेकेदारले पैसा नदिएपछि प्रहरी कार्यालयमा उजुरी गरेका छौँ,’ कोइरालाको गुनासो छ ।

आयोजनाका साइड इन्चार्ज प्रवीण खत्रीले रकम दिने भन्दै बारम्बार प्रक्रियाको कुरा गरिरहेका छन्, तर कम्पनीले रकमको हिसाबकिताब नगरिदिएका कारण आफू पनि समस्यामा परेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म काठमाडौंमै छु, अब एक साताभित्र हिसाब हुन्छ होला, कम्पनीले समेत दैलेखमा रहेको साहारे खानेपानी समितिमा धरौटी राखेको ५४ लाख लिन बाँकी छ, तत्कालीन काम सुरु गरेको कार्यालय खानेपानी कार्यालयसँग करिब दुई करोडभन्दा बढी रकम लिन बाँकी नै रहेकोले कार्यालयबाट रकम प्राप्त हुनासाथ भुक्तानी गर्ने तयारीमा छौँ ।’

नारायण नगरपालिका– ४ मा अवस्थित खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब दुई सय मजदुरले काम गरेका थिए । निर्माण कम्पनी सुमेकचन्द्र एन्ड वसन्त जेभीले मजुरको ज्याला तिर्ने विषयमा गैरजिम्मेवारी काम गरेको मजदुरहरूको गुनासो छ ।

दैलेख सदरमुकाम दैलेख बजारमा खानेपानीको समस्या समाधानका लागि ०६९ सालमा २४ करोड रुपैयाँमा आयोजनाको सम्झौता भएको थियो । आयोजनाको लागि स्थानीय उपभोक्ताले समेत प्रतिघर पाँचदेखि १५ हजारसम्म रकम तिरेका छन् । ०७५ सालमा काम सम्पन्न भए पनि जिल्लाका विभिन्न स्थानहरूका धारामा पानी अझै पुगेको छैन । आयोजना सञ्चालक साहारे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्यका अनुसार अन्तिम चरणका धेरै काम बाँकी छन् ।

जिल्ला प्रहरीमा निवेदन परेलगत्तै केही दिन आयोजनाको जिम्मा लिएको कम्पनीलाई प्रहरीले ताकेता गरेको थियो । कम्पनीले केही दिनभित्रै समस्या समाधान गर्छु भन्ने जवाफपछि प्रक्रिया रोकेको थियो । नयाँ प्रहरी प्रमुख फेरिएसँगै ओझेलमा परेको ठगीको विषय नयाँ प्रहरी प्रमुखसमक्ष जानकारी गराउने र प्रहरीले सुनुवाइ नगरे अदालत जाने तयारीमा मजदुरहरू रहेका छन् ।  

Published on: 27 January 2021 | Nayapatrika

Link

Back to list

;