s

पासपोर्ट लिएर विदेश नपठाउने नियन्त्रणमा

वर्ष दिनसम्म पासपोर्ट पनि दिएनन्, भिसा पनि आएन

विदेश पठाइदिने भन्दै पासपोर्ट लिएर महिनौंसम्म झुलाउने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६ देखि १० महिनाअघि पासपोर्ट लिएर पनि विदेश नपठाएपछि पीडितको ठगी गर्न खोजेको उजुरीका आधारमा प्रहरीले ललितपुर उपमहानगरपालिका-४ का किरण थापालाई लोकन्थलीबाट नियन्त्रणमा लिएको हो ।

सिन्धुपाल्चोक साँगाचोकका सहिल गिरीसहित १३ जनाले महानगरीय प्रहरी वृत्त ठिमीमा आफ्नो पासपोर्ट नदिएको र माग्दा उल्टै धम्क्याउने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । थापालाई अनुसन्धानका लागि वैदेशिक रोजगार व्यवस्था विभागमा पठाइएको छ । महिनौंअघि पासपोर्ट पेस गरेर पनि विदेश नपठाएपछि कारबाहीको माग गर्ने ५३ जनाको पासपोर्टसमेत प्रहरीले लिएको छ । 'पासपोर्ट पेस गर्ने व्यक्तिसँग भाग्दै हिंड्ने, फोन सम्पर्कमा नबस्ने गरेको रहेछ,' वृत्तका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले भने, 'जुन देशमा कामदार पठाउने हो, त्यो देशको डिमान्ड नआई पासपोर्ट थुपारेर राखेको पाइयो ।' थापाको साथबाट मोबाइलका सिमकार्ड मात्रै नौवटा भेटिएको उनले बताए । अधिकारीका अनुसार पासपोर्ट पेस गर्ने व्यक्तिपिच्छे नम्बर दिने र पछि सम्पर्क विच्छेद हुने गरेको थियो ।

एक महिनाभित्र कुवेत पठाइदिने भन्दै विगतमा खाडी मुलुकमा गइसकेका व्यक्तिसँग उनले पासपोर्ट संकलन गरेका थिए । प्रहरीका अनुसार थापाले ललितपुर भनिमण्डलस्थित केएसए इन्टरनेसलन मेनपावरको नामबाट कामदार कुवेत पठाइदिने आश्वासन दिएका थिए । 'हामीले सम्पर्क गर्दा कहिल्यै सम्पर्कमा आउन नचाहने, पासपोर्ट माग्दा भागेर हिंड्ने र कहिले धम्क्याउने गरेपछि प्रहरीमा उजुरी दिएको हो,' पीडित सहिल गिरीले भने, 'आजभोलि भन्दाभन्दै वर्ष दिन पुग्दा पनि पासपोर्ट पनि दिएन, भिसा पनि आएन ।'

पासपोर्ट पेस गर्ने, सिन्धुपाल्चोक साँगाचोकका गिरी बढी छन् । त्यस्तै अन्यमा सिन्धुली, काभ्रे र नुवाकोटका पनि छन् । 'पासपोर्ट पेस गर्ने व्यक्तिले ढिलाइ भएको भन्दै पासपोर्ट माग्दा पनि नदिने, सम्पर्कविहीन हुने गरेको रहेछ,' डीएसपी अधिकारीले भने, 'काभ्रेका दोर्जे र निर्मल लामासँग २०/२० हजार रुपैयाँ लिएको रहेछ ।' सिन्धुपाल्चोककै राजाराम गिरीलाई कुवेत पठाएर पनि राम्रो काम नपाएपछि तीन महिनामा फर्केको पीडितको गुनासो छ ।

प्रहरी नियन्त्रणमा रहेका किरणले कुवेतमा सिस्टम परिवर्तन भएकाले ढिलाइ भएको बताए । 'विगतमा भिसा दिने सिस्टम परिवर्तन भएकाले ढिलाइ भएको हो,' उनले भने, 'कसैलाई ठग्ने मेरो नियत होइन ।' पासपोर्ट पेस गर्ने व्यक्तिको कागजपत्र कुवेतको कम्पनीमा पठाउँदा आफ्नो रकम लगानी भइसकेकाले माग्नेबित्तिकै दिन नसकेको उनले बताए ।

'जसले मलाई पासपोर्ट दिएको हो, त्यो पासपोर्ट विदेशमा पठाउँदा एकजना बराबर १८ देखि २५ हजार रुपैयाँसम्म हाम्रो मेनपावरको खर्च भइसकेको थियो,' उनले भने, 'पासपोर्ट फिर्ता गर्दा हाम्रो लगानी डुब्ने भएकाले माग्नेबित्तिकै दिन सकिनँ ।' उनी मेनपावरको सेयरधनी हुन् । मेनपावरका मुख्य व्यक्ति खड्गसिंह आले भने प्रहरी सम्पर्कमा नआएको अधिकारीले बताए । पासपोर्ट दिएको सबैजसोको भिसा लाग्ने प्रक्रियामा रहेको उनले दाबी गरे । 'एक महिनाभित्र सबैको भिसा लाग्छ,' उनले भने ।

एक लाख पाँचदेखि १५ हजार रुपैयाँसम्म लिएर विदेश पठाई मासिक २५ हजारभन्दा बढी कमाइ हुने थापाले पीडितलाई आश्वासन दिएका थिए । मेनपावर र थापाले पासपोर्ट नदिएपछि अधिकांशले नयाँ बनाइसकेका छन् ।

उनीहरूले पासपोर्टभन्दा पनि नयाँ बनाउँदा लागेको रकम माग गरेका छन् । 'मेनपावर कम्पनीले बारम्बार ठाउँ परिवर्तन गर्ने र कम्पनीमा फोन नभएपछि हामीलाई शंका लागेर विभागमा पठाउन लागेका हौं,' डीएसपी अधिकारीले भने ।

Published on: 1 August 2011 | Kantipur

Back to list

;