s

पति बिदेसिए, परिवार बिरानो

१३ वर्षअघि १९ वर्षको उमेरमा सविताको (नाम परिवर्तन) बागलुङ गल्कोटका जयवीर (नाम परिवर्तन) सँग विवाह भयो। एक वर्षसम्म उनको वैवाहिक जीवन सुखमय बन्यो। पति धन कमाउन भन्दै विदेशतिर हानिए। उनको खुसी पनि पतिले लिएर गएछन्, फर्केन।

बिदेसिएको केही समयसम्म टेलिफोनमा कुराकानी भयो। सविताले पतिको आवाज सुन्न नपाएको १२ वर्ष भइसकेछ। 'व्यर्थैमा जोवन गयो', सविताले भनिन्। बढ्दो उमेरसँगै सविताले थुप्रै वर्ष पतिको पर्खाइमा बिताइन्। 'धेरै कोसिस गरें पतिलाई नेपाल फर्काउन, तर सकिनँ', सविताले भनिन्।

सविताका अनुसार पतिको घरपरिवारसँग सम्पर्क हुने गर्छ। सविताले भनिन्, 'उहीं बिहे गरेर बसेका छन् रे !' 'ढल्कँदो उमेरसँगै सहाराको खाँचो हुँदो रै'', अल्पकालीन सेवा केन्द्रमा पतिको सत्यतथ्य बुझी न्याय पाऊँ भन्दै उजुरीका लागि आएकी सविताले भनिन्, 'पतिसँगको सम्बन्ध राम्रो नभएपछि घरपरिवारबाट पनि हेलाँ भइँदो रै'छ।' उनका पति हङकङमा छन्।

बागलुङकी झरना (नाम परिवर्तन) का दुई छोरा छन्। नेपालमा बसेर दैनिक छाक टार्न समस्या भएपछि झरनाका पति ऋण खोजेर बिदेसिए। उनलाई विदेश पठाउनकै लागि झरनाले आफू जमानी बसेर ऋण खोजेकी थिइन्। उनका पति पोर्चुगल गएको चार वर्ष भइसक्यो। विदेश गएको दुई वर्षसम्म उनले पैसा पठाए। 'टेलिफोनमा थुप्रै सुखदु:खका गफ हुन्थे', झरनाले पतिसँगको फोन कुराकानी सम्झँदै भनिन्, 'थुप्रैपटक फोन गर्न कोसिस गरें, तर उनको मोबाइल आजभोलि केटीले उठाउँछे, उनीसँग सम्पर्क भएको छैन।'

बिदेसिएका पतिबाट भएको यस्ता व्यवहारका कारण थुप्रै महिला मानसिक रोगको सिकार भएका छन्। लाउन-खान नदिने, घरनिकाला, कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार समाजमा प्रस्टरूपमा देखिए पनि महिलाले भोग्ने मानसिक समस्याबारे समाज बेखबर छ। बिदेसिएका पतिका बेवास्ताकै कारण पाँच वर्षीया छोरी सहजताकी आमा गीता (नाम परिवर्तन) अहिले सदरमुकामका होटेलमा भाँडा माझ्न विवश छिन्।

बाग्लुङ ताराखोलाकी गीताले सात वर्षअघि म्याग्दीका डोलबहादुरसँग विवाह गरेकी थिइन्। विवाहलगत्तै बिदेसिएका पतिले सदरमुकाम आएर बस्न भनेपछि गीता पनि काखकी छोरीसँगै सदरमुकाममै बस्न थालिन्। 'सुरुसुरुमा पैसा पनि पठाए, बेलाबेलामा फोन सम्पर्क पनि हुने गथ्र्यो', गीताले भनिन्। तर अहिले उनीहरूका बीचमा कुनै सम्पर्क छैन। न पैसा पठाउँछन् न फोन नै गर्छन्।

महिला विकास कार्यालयअन्तर्गतको अल्पकालीन सेवा केन्द्र बाग्लुङमा आजभोलि बिदेसिएका पतिले बेवास्ता गरेका महिला उजुरीका लागि आउने गरेको सेवा केन्द्रकी प्रमुख शर्मिला भण्डारीले बताइन्। उनले भनिन्, 'यस्ता मुद्दा पछिल्लो समयमा मात्र आउन थालेका छन्, यसको कारण उनीहरूमा आएको चेतना हो।

समाजमा अझै थुप्रै यस्ता मुद्दा छन्। तर समाज र परिवारबाट यस्ता महिलालाई हेर्ने दृष्टिकोण नराम्रो भएकाले ती महिला खुल्न सकेका छैनन्। सेवा केन्द्रले पीडकको परिवारसँग सोधपुछ गरी यस्ता मुद्दामा पीडित महिलाको इच्छाअनुसार उनीहरूलाई न्याय दिलाउन पहल गर्छ। भण्डारीका भनाइमा यस्ता मुद्दा दर्ता हुने क्रम बढ्दै छ।

यस्ता घटनाले समाजमा विखण्डन ल्याउने महिला अधिकारकर्मी शकुन्तला शर्माको भनाइ छ। शर्माले भनिन्, 'पतिको यस्तै व्यवहारका कारण थुप्रै महिला अलपत्र परेका र केहीले आत्महत्या गरेका छन्।' शर्माका भनाइमा अरूको जिन्दगी बर्बाद पार्ने दोषी जुनसुकै देशमा भए पनि खोजेर कारबाही गरिनुपर्छ।

महिला विकास अधिकृत लक्ष्मी जीसी कार्कीले पीडित महिला अब खुलेर बाहिर आउनुपर्ने बताइन्। पतिबाट हुने यस्तै व्यवहारका कारण महिलाको आधारभूत अधिकार खोसिएको भन्दै कार्कीले राज्यले यस्ता पीडकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताइन्।

भनिन्, 'यस्ता मुद्दा लुकाइँदा पीडकलाई प्रोत्साहन मिल्छ पीडितलाई झन् पीडा।' घरेलु हिंसासम्बन्धी उजुरी प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय निकाय अथवा सीधै अदालतमा पनि दिन सकिने कार्कीले बताइन्।

Published on: 31 December 2013 | Annapurna Post 

Back to list

;