s

पोखिए पीडित महिलाका दु:ख

रामकला खड्का
 
दिनहुँ मदिरा सेवन गरेर पतिले घरबाट निकालिदिएपछि दोलखा लापिलाङ २ की पुष्पा खड्काको जीवनमा ठूलो धक्का पुगेको छ।
 
सोही गाविस ४ की लक्ष्मी थामीले मानसिक सन्तुलन गुमाएपछि उनका छोराछोरी बिचल्लीमा परेका छन्। त्यसैगरी वडा नं. ५ की कमला थामीको वैशाख १२ को भूकम्पमा मृत्यु भएपछि उनको नौमहिने छोरीको पालनपोषणमा उनकी ६० वर्षीया हजुरआमालाई निकै गाह्रो परेको छ। 
 
वडा नं. ७ की शोभा बस्नेत भूकम्पमा परी एउटा आँखा फुटेपछि अपांग बनेकी छन्।दोलखाकी सविना पाण्डेले गाउँका विभिन्न वडामा भूकम्पपछि अनुगमनमा जाँदा यस्ता थुप्रै पीडित महिलालाई भेटिन्। 
 
भूकम्पपछिका अवस्थामा महिलाको शारीरिक कमजोरी, पाठेघरको समस्या र टहराको बासले पतिको यौनसन्तुष्टि मेटाउन नसक्दा मदिरा सेवन गर्दै कुटपिट गरी घरबाट निकालिने महिलाको संख्या दिनप्रतिदिन बढ्दै गएको पाण्डेले बताइन्। 
 
राष्ट्रिय महिलाअधिकार मञ्चकी केन्द्रीय सदस्य पाण्डे स्वयंलाई भूकम्पपीडितको कार्ड बनाउन खोज्दा गाविस सचिवले पति हुँदाहुँदै कसरी तपाईंलाई दिन सकिन्छ भन्दै कार्ड बनाउन दिएनन्।सिन्धुपाल्चोककी २२ वर्षीया ज्योति सापकोटालाई भूकम्पका बेला महिनावारी हुँदा पालबाट चुहिएको पानी र बाछिटाले गर्दा खुम्चिएर रात कटाउन मुस्किल पर्‍यो।
 
शैक्षिक नमुना ग्रामीण विकास केन्द्रकी सामाजिक परिचालक ज्योति भन्छिन्, ‘डाँडामा पानीका मूल सुकेकाले राति दुई बजेदेखि उठेर पानीको जोहो गर्न हिँड्छन् महिला।'खोटाङकी धनकुमारी राईका अनुसार पालको बासमा उनीजस्ता अपांगता भएका व्यक्तिलाई आफन्त र छिमेकीले समेत कुदृष्टि लगाउने गरेका छन्।
 
आफ्नो वडाका एक सय ५१ घरधुरीमध्ये ६ वटामात्रै बचेको बताउँछिन् सिन्धुलीकी चुना श्रेष्ठ।भूकम्पपछि बनाइएका अस्थायी टहरा महिलामैत्री नहुँदा महिला तथा किशोरीले थुप्रै समस्या झेल्नुपरेको उनको अनुभव छ।
 
त्यसैले अब हुने पुननिर्माण कार्य महिलाको नेतृत्वमा भएमा कम खर्च र थोरै समयमा धेरै काम गरेर देखाउन सक्ने उनको दाबी छ। बाराकी विद्याकुमारी चौधरी र बाँकेकी सीताकुमारी चन्द शाही पनि पुनर्निर्माणका काममा महिलालाई अवसर दिए उनीहरूले महिलाका आवश्यकता पहिचान गरी सोहीअनुसार ब्यवस्था मिलाउन सक्ने बताउँछन्।
 
अस्मिता प्रकाशन गृह, एक्सन एड नेपाल र राष्ट्रिय महिलाअधिकार मञ्चको संयुक्त आयोजनामा बुधबार सुरु भएको 'विपद् व्यवस्थापन, पुनर्निर्माण र दिगो विकासका लागि राष्ट्रिय महिला सम्मेलन' मा दोलखा, रसुवा, काभ्रेलगायत ३० जिल्लाका महिलाले भूकम्पपछिको राहत वितरण, पुनर्निर्माणलगायतमा महिलाको समान र अर्थपूर्ण सहभागिता हुनुपर्ने बताए। 
 
पीडित महिलाको आवश्यकता पहिचान गरी त्यसलाई सम्बोधन गर्न महिलाले नै नेतृत्व दिन सक्ने धारणा अस्मिताकी अध्यक्ष इन्दु तुलाधरको छ।राष्ट्रिय महिला अधिकार मञ्चले पुनर्निर्माणमा महिला सहभागिता सुनिश्चित गर्ने र पुनर्निर्माण महिलामैत्री बनाउने अभियान सुरु गरेको संस्थाकी अध्यक्ष पुष्पा केसीले बताइन्।
 
पीडाले छोएन: केसी
 
उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकार चलाउनेलाई पीडितको पीडाले नछोएका कारण भूकम्पपछि पुनर्निर्माणमा ढिलाइ भएको बताएका छन्।  
सञ्चारिका समूहले बुधबार काठमाडौंमा आयोजना गरेको 'भूकम्पपछि पुनर्निर्माणको गतिरोधले महिला र बालबालिकामा परेको प्रभाव' विषयक कार्यक्रममा केसीले भने, 'भूकम्प जाँदा सरकार थियो, संसद् थियो हामी राजनीतिक दल सबै जिम्दै थियौं।'
 
सरकार र बाहिर बस्नेहरूले आफू, पार्टी, गुटलाई केन्द्रबिन्दुमा राखेका कारण व्याख्या गर्न सजिलो र समाधान गर्न गाह्रो भएको उपप्रधानमन्त्री केसीको भनाइ थियो।लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजित कार्यक्रममा भूकम्पपीडितले पनि आफ्ना समस्या राखेका थिए। 
 
उनीहरूले पालमा बस्दा बालविवाह बढेको, यौनहिंसा भएको, चिसोले महिला, बालबालिका र वृद्धको मृत्युदर बढेको गुनासो गरे।कार्यक्रममा व्यवस्थापिका संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले राहत र उद्धारमा जसरी पुनर्निर्माणमा काम हुन नसकेकाले लज्जित हुनुपर्ने बताए। 
 
उनले भने, 'यसमा हाम्रो संवेदनहीनता नै मुख्य कारण हो, यसलाई म जनताको पीडामा खेलबाड गरेको ठान्छु।'कांग्रेस सभासद् रामहरि खतिवडाले पीडितलाई पक्षपात नगरी राहत दिलाउनुपर्ने बताए। 
 
उनले भने, ‘हामीलाई प्राधिकरण चाहिएको होइन, पीडितलाई राहत चाहिएको हो।' एमाओवादी सांसद कमला दोङले भूकम्पपछि महिला र बालबालिका बेपत्ता हुने क्रम बढेको बताइन्।
 
Published on: 10 December 2015 | Annapurna Post
 

Back to list

;