s

प्रवासीको पत्र

भ्वाइस अफ दि भ्वाइसलेस

प्यारी नेपाल आमा,

साष्टाङ्ग दण्डवत् !

दशैं आयो। खाउँला, पिउँला। कहाँ पाउँला? चोरी ल्याउँला। धत् पापी म त छुट्टै बसौंला। हामी सानो हुँदा पाँच औंला भाँच्दै तिमीले यस्तै सिकाउँथ्यौ। हाम्रो गरिबीले सिर्जना गरेको त्यो शिक्षा अहिले वास्तविकतामा परिणत भएको छ। देशमा दशैं आएको छ। हर्षोल्लास गर्दै खाने-पिउने रहर सबैलाई छ। तर त्यति गत्तिलो भाग्य सबैको कहाँ छ र? खान नपाएका, चोर्न-लुट्न पनि आत्माले नदिएका हामी अभागीहरू बाध्यताले छुट्टै बसेका छौं। बूढी औंलोजस्तै समुद्रपारिको टापुबाट देशको दशैं टुलुटुलु हेरिहेका छौं।

खाडीको ५० डिग्री तापक्रममा तिम्रा यी सन्तानहरू रहरले पसिना बगाइरहेका होइनन्। घामको राप थाम्न नसकेर आकाशमा उडै गरेका चराहरू छटपटाउँदै कतिपल्ट हाम्रै टाउकामा खस्छन्। भुइँमा ज्यान डढाइरहेका हामीले कहाँ खस्नु? धरती चिरेर अलप हुनु कि आकाश छेडेर उडिजानु? दुवै नसकिँदो रहेछ। खेप्दा-खेप्दा राप र ताप त हाम्रालागि अचारजस्तो भइसक्यो। सहिदिन्छौं, ठिकै छ। तर आमा, हाम्रो त्यो पीडाले तिम्रो छाती पोल्दैन कहिल्यै? किन बिर्सिइरहिछौ तिमीले हामीलाई चटक्कै? किन फूलमाला लाएर दैनिक विदा गरिरहिछौ, हजारौं सन्तानहरूलाई? किन कमाराजस्ता बनाइरहिछौ, आफैंले लाम्टा चुसाएका छोराछोरीहरूलाई? छातीमा हात राखेर भन त आमा, के तिमीलाई हाम्रो माया लाग्दैन?

हो, दिनको दुई हजारका दरले तिम्रा सन्तानहरू उडिरहेका छन्। यही हिसाबले वर्षको ७ लाख ३४ हजारजना बाहिरिन्छन्। त्यही गति कायम रहे २ करोड ६५ लाखजना सकिन ३६ वर्ष लाग्ने रहेछ। तर विदेशिने क्रम बढ्दो छ। श्रमिक तहबाट सुरु भएको वैदेशिक रोजगारको लहरले उच्च शिक्षित र दक्षहरूलाई समेत तानिसकेको छ। विद्यार्थीले विदेशै रोज्छन्। बाहिरको गतिलो विश्वविद्यायलमा पढेपछि देशमा बिक्न गाह्रो छ। त्यसमाथि बाहिरी रहनसहनको प्रभाव परिसकेको हुन्छ। अनि उनीहरू पलायन हुन्छन्। नेपालमै पढेका र राम्रै काम गरिरहेकाहरू पनि मौका पाए युरोप/अमेरिका ताक्छन्। भटाभट जानै थाले। अशिक्षित, अर्धशिक्षित र बेरोजगारले त खाडी र मलेसिया भरिन लागिसके। त्यसैले मलाई लाग्न थाल्यो, ३६ होइन, १८ वर्षमा रित्तिन्छ नेपाल। एक्लै हुन बेर छैन आमा तिमी !

त्यसैले तिमीलाई सम्झेर छाती चिरिन्छ हाम्रो। सन्तानविहीन भयौ भने के गति हुन्छ तिम्रो? कता-कता झाँक पनि चल्छ, तिमीसँग। जन्माएर मात्र हुँदैन, पाल्न पनि सक्नुपर्छ। फाल्नु नै थियो भने गर्भमै किन फालिनौ हामीलाई? लखेट्नु नै थियो भने किन धरतीमा टेकायौ हामीलाई? ठानौली, गाली गरे। होइन, आमा। यो त मायाको मूल फुट्दा आएको भाव हो। मातृत्व विमुख सन्तानले मायाको भीख माग्दा निस्केको चिच्याहट हो। बिन्ती छ आमा, हामीलाई तिम्रो काख चाहिन्छ। हामीलाई हाम्रै घर चाहिन्छ। पराईको होइन, आफ्नै आमाको सेवा गर्नुछ, हामीलाई। दशैंतिहार, ल्होसार, साकेलाहरू देशमै मनाउनुछ। तिमीसँगै रमाएर ढिँडो-गुन्द्रुक खानुछ। आफ्नै आमालाई हँसाएर आफू पनि हाँस्नुछ। सक्यौं भने संसारकी एक नम्बर आमा बनाउनुछ, तिमीलाई।

तर बाध्यता र विवशताहरू सोचेजस्ता सहज हुँदारहेनछन्। त्यसैको भुमरीमा रुमल्लिइरहेका छौं, हामी। गल्ती हाम्रो पनि छ। आफ्ना मलिला टार बारीहरू बँझाएर मरुभूमिका गिटीयुक्त मजरा हराभरा बनाइरहेका छौं। आफ्ना घरका भित्ताहरूमा लेउ लगाएर, छानामा झार उमारेर पराई भूमिमा गगनचुम्बी भवन ठड्याइरहेका छौं। आफ्नी आमालाई भोकभोकै छाडेर अर्काकी आमाको पालनपोषण गरिरहेका छौं। किन रोकिनौ तिमीले? किन बाटो देखाइनौ तिमीले? किन हरेकलाई गरिखाने कोठेबारी दिइनौ तिमीले? किन ममताको छानाभित्र सबै सन्तानलाई ओत लाउन सकिनौ तिमीले? आँसुको धारा बगाउँदै आफ्नी आमासँग यति गुनासो गर्न पाउँदैनौं हामीले?

हो, दशैं आयो। त्यही भएर हाम्रो मन पनि भडकियो। रोयो। मन मात्र होइन, हड्डी नै रोयो। कति रोयो भनेर साध्य छैन। घरको यादले आत्मा उकुसमुकुस भयो। आमाको सम्झनाले औडाहा भयो। अनि नचाहँदा-नचाहँदै तिमीलाई मायाका तीता शब्द पोख्न मन लाग्यो। गल्ती भए पक्कै माफी दिने छ्यौ।

आखिर तिमी पनि आफ्नै दुःखमा जकडिएकी छौ। तिमीलाई पनि अमनचैन कहाँ छ र? तिम्रै काखमा रहेका सन्तानलाई समेत सुखशान्ति कहाँ छ र? हाम्रा दाइदिदीहरू फोकटिया झगडामा अल्भिएका छन्। जिम्मा पाएको काम टारिरहेका छन्। त्यही कारण हामी लाखौंलाख सन्तान घर छाड्न बाध्य छौं। उनीहरू सही बाटोमा हिँडेर अर्को दशैंसम्ममा संविधान बन्यो भने देशले गति लेला। तिम्रो अनुहारमा मुस्कान छाउला। टाढिएका हामी सबै सन्तान क्रमशः फर्किने दिन आउला। तिम्रै काखमा रमाउन पाउँला। तिमीसँगै दशैं मनाउन पाउँला।

भविष्यमा जे होला-होला। यसपालिलाई चाहिँ स्काइपबाटै भए पनि हाम्रो निधारमा दुई गेडा अक्षता लाइदेऊ है। दुई शब्द आशिर्वाद देऊ है। आमा, तिमीलाई कोटी-कोटी प्रणाम !

उही,

परदेशिएका तिम्रा सन्तान

Published on: 22 September 2014 | Kantipur

Back to list

;