s

कतारमा घरेलु कामदारमाथि व्यापक हिंसा

कतारमा आप्रवासी घरेलु महिला कामदारमाथि शारीरिक र यौन हिंसा व्यापक हुने गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। जबर्जस्ती काममा लगाउने समस्या पनि उस्तै छ।

गम्भीर शोषणमा परेका त्यस्ता श्रमिकको संरक्षणमा कतारी अधिकारीहरु असफल भइरहेको एम्नेस्टीले बुधवार सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा जनाइएको छ।

‘मेरो सुताइ नै मेरो विश्राम हो: कतारमा आप्रवासी घरेलु श्रमिकको शोषण' नामको प्रतिवेदनमा त्यहाँ कार्यरत महिलाको अवस्था चिन्ताजनक रहेको उल्लेख छ। कामका लागि भर्ना लिनुअघि महिलालाई तलब, कामका सर्त र अवस्थाबारे झूठो आश्वासन दिइने, उनीहरुले हप्तामा सातै दिन र तोकिएभन्दा धेरै घन्टासम्म काम गर्नुपर्ने, शारीरिक र यौन हिंसाको सिकार बन्ने प्रतिवेदनमा छ।

कतारमा करिब ८४ हजार महिला घरेलु श्रमिकको रुपमा छन्। उनीहरु अधिकांश दक्षिण र दक्षिणपूर्वी एसियाबाट त्यहाँ पुगेका छन्। रोजगारदाताले कामदारलाई कहिल्यै बिदा (विश्राम) नदिने प्रतिवेदनमा खुलाइएको छ। त्यहाँ कतिपय महिला कामदारले हप्तामा सय घन्टासम्म काम गर्छन्। धेरैले कतार पुग्नु अघि राम्रो तलब, सुविधा र काम गर्ने वातावरण प्राप्त हुने बचन दिइएको तर त्यहाँ पुगेपछि सबै विश्वास र आशा चकनाचुर भएको बताएका छन्।

कतारी कानुनमा घरेलु श्रमिकले काम गर्नुपर्ने समय तोकिएको छैन। बिदा दिनुपर्ने व्यवस्था कानुनमा छैन। उनीहरुले श्रम मन्त्रालयमा उजुरी गर्न सक्ने अवस्था पनि नरहेको प्रतिवेदनमा उल्लेख छ।

घरेलु महिला मानवीय व्यवहार नगर्ने परिवारमा पुग्ने र उनीहरुको अवस्था दर्दनाक रहेको ७७ पेज लामो प्रतिवेदनमा छ। कामदारले त्यस्ता रोजगारदाताको घरबाट बाहिरिने विकल्प रोजे ‘भगौडा' भनी हिरासतमा लिने र स्वदेश फिर्ता पठाउने सम्भावना रहने प्रतिवेदनमा छ।

घरेलु श्रमिक प्रतिबन्धात्मक प्रायोजन (स्पोन्सरसिप) प्रणाली अन्तर्गत कतार पुग्छन् । त्यस्ता आप्रवासी कामदारले रोजगारदाताको अनुमतिबिना काम वा कतार छाड्न पाउँदैनन्।

कतिपय घरेलु कामदार महिलाले रोजगारदाताले जगल्टाएको, आँखामा हिर्काएको, भर्‍याङबाट खसालिदिएको र बलात्कारसमेत गरेको गुनासो गरेका छन्।

शारीरिक र यौन ज्यादती झेलेका महिलाले न्याय पाउन अरुले भन्दा बढी व्यवधान झेल्नु परेको एम्नेस्टी प्रतिवेदनमा छ। बलात्कृत भएको गुनासो गर्ने महिलाले आक्रमणकारीलाई अभियोजन वा दण्डित गरिएको नदेखेको पनि प्रतिवेदनमा उल्लेख छ।

कतारमा यौन ज्यादतीको उजुरी गर्ने महिलालाई उल्टै ‘अवैध सम्बन्ध'को अभियोग लाग्ने जोखिम छ। यसमा विवाहेत्तर यौन सम्बन्ध भन्दै ‘अपराध' मानेर सामान्यतया एक वर्षको जेल र फिर्ता पठाउने सजाय हुन्छ। मार्च २०१३ मा दोहाको महिला कारागारमा रहेकामध्ये करिब ७० प्रतिशत घरेलु कामदार थिए। थुनामा गर्भवती पनि थिए। दुई वर्षमुनिका १३ बालबालिकालाई आमासँगै हिरासतमा राखिएको थियो।

५२ महिला घरेलु श्रमिक, सरकारी अधिकारी, घरेलु श्रमिक पठाउने मुलुकका दूतावास र रिक्रुटमेन्ट एजेन्सीसँगको अन्तर्वार्ताको आधारमा प्रतिवेदन तयार गरिएको एम्नेस्टीले जनाएको छ।

नेपाल लगायत विश्वका विभिन्न मुलुकमा बुधबारै प्रतिवेदन सार्वजनिक गरिएको थियो । नेपालमा एम्नेस्टी अध्यक्ष शम्भु ठाकुरले सार्वजनिक गरे ।

यसअघि कतारको निर्माण क्षेत्रका आप्रवासी श्रमिक सम्बन्धमा नोभेम्बर २०१३ मा एम्नेस्टी इन्टरनेसनलले अनुसन्धान प्रतिवेदन प्रकाशित गरेपछि त्यहाँको सरकारले डिएलए पाइपर नामक ल फर्मलाई एम्नेस्टीले उठाएका विषयमा अध्ययन गर्दै त्यहाँका आप्रवासीको अवस्था विस्तृत रुपमा समीक्षा गर्न जिम्मेवारी दिइएको घोषणा गरेको थियो।

Published on: 24 April 2014 | Nagarik

Back to list

;