s

कतारमा ५५ जना नेपाली कामदार अलपत्र

काठमाडौँ — कतारको इमदाद क्यु अलक्युविदा कम्पनीमा गएका कम्तीमा ५५ जना नेपाली कामदार अलपत्र परेका छन् । ती कामदारलाई कम्पनीले ५ महिनादेखि तलब दिइएको छैन । कम्पनीले कामदारहरूलाई खानासमेत दिन छाडेको छ ।

अल नासेर ओभरसिज म्यानपावर कम्पनीले पठाएका कामदार अलपत्र परेका हुन् । उनीहरूलाई अल नासेर म्यानपावर कम्पनीले दुईदेखि तीन लाख रुपैयाँ लिएर कतार पठाएका थिए । म्यानपावर कम्पनीले कामदारको समस्या समाधान गर्न चासो दिएको छैन । अलपत्र पर्ने कामदारहरूमा २५ जना महिलासमेत रहेका छन् ।

जाजरकोटका कृष्ण विकले कम्पनीले गैरकानुनी हैसियतमा काममा पठाउँदै आएको बताए । उनी अल नासेर म्यानपावरलाई २ लाख ३० हजार रुपैयाँ तिरेर वेटरको काम गर्न गत नोभेम्बर १० तारिखमा कतार पुगेका थिए । ‘अहिलेसम्म न कतारी आवासीय परिचयपत्र (आईडी) लगाइदिएको छ । आईडी कार्ड नभए अस्पताल जान पाइँदैन । न बैंकको एटीएम दिएको छ । न तलब दिएको छ । खानासमेत दिइएको छैन,’ उनले कान्तिपुरसँग भने,‘एक जना सहयोगीले दाल र चामल दिएको थियो । त्यो पनि बेलुका सकियो । हामी साह्रै समस्यामा छौं ।’

कम्पनीले कामदारको अवस्थाबारे चासो दिएको छैन । तलब नपाएपछि उनीहरूले अप्रिल १ देखि काम गर्न छाडेका छन् । ‘हामीसँग खाना पनि छैन । अरु मान्छेसँग भिख मागेको जस्तो भयो । हामीलाई खाना पनि नदिएपछि काम गर्न नसकेको हो । तलब दिए हामी ड्युटी जान्छु,’ सल्यानका भरत योगीले भने ।

५ महिनाको अवधिमा एक महिनाको तलब मात्रै पाएको उनीहरूले बताएका छन् । अक्टोबर १५ मा कतार पुगेकी पार्वती कुँवरले कम्पनीलाई तलब माग्दा उल्टो डरत्रास देखाइएको बताइन् । ‘तलब माग्दा भोलि भन्दाभन्दा ६ महिना पुर्‍यायो । पैसा माग्दा कामदारविरुद्ध उजुरी गर्छु भनेर उल्टो हामीलाई धम्काउँछ । प्रहरी लगाइदिन्छौं भन्छ । धेरै समय दिँदा पनि वास्ता गरेन,’ उनले भनिन्,‘यहाँ आफन्त हुनेलाई जसोतसो सजिलो छ । खानाका लागि पैसा खोज्न सक्छन् । आफन्त नहुनेको हरिबिजोग छ ।’

उनले अक्टोबर १६ देखि अप्रिल १ तारिखसम्म अलविदा पार्कमा क्लिनरको काम गर्दा १२ सय ३१ रियाल मात्रै तलब पाएकी बताइन् । ‘कसैले त यो पनि पाएको छैन । पैसा हातमा दिन्छ, हस्ताक्षर गराउँछ । बैंकबाट दिँदैन । पहिला आउँदा दुई सय दियो । त्यसमा काम गर्दै गयो । फेरि दुई सय दियो । आधा महिनाको ६ सय दियो,’ उनले भनिन्,‘त्यो पैसा घर पठाएनौं ।’

पटक–पटक आफ्ना समस्या सुनाउँदा म्यानपावरले हेलचेक्य्राइँ गर्दै आएको उनीहरूको आरोप छ । श्रमिकहरूले समस्या समाधान गर्न नेपाली दूतावास र कतारको श्रम अदालतमा गएर उजुरी दर्ता गरेका छन् । कतारका श्रम काउन्सिलर टिकामणि न्यौपानेले समस्या समाधान गर्नका लागि रोजगारदाता कम्पनी र पठाउने म्यानपावरबीच दूतावासले पहल गरिरहेको बताए । ‘यो विषय दूतावासमा आएको एक हप्ता मात्रै भयो । जब हामीले थाहा पायौँ, म्यानपावर र कम्पनीलाई भनिसकेको छौं । कम्पनीले १५ दिनभित्र समस्या समाधान गर्छु भनेको छ । यो विषयमा म्यानपावर जति गम्भीर हुनुपर्ने हो, त्यो देखिएन,’ न्यौपानेले भने । यो म्यानपावरका सञ्चालक रौतहटका दिनेशकुमार राय हुन् । त्यस कम्पनीमा दुई वर्षदेखि कार्यरत कामदारको पनि आईडी लगाइदिएको छैन ।

गुल्मीका खिमबहादुर वलीले २० महिना काम गर्दा पनि कम्पनीले आईडी कार्ड नदिएको वताए । ‘यो निकै कम्पनी ठूलो कम्पनी हो । कम्तीमा तीन सय जना नेपाली कामदार छन् । साइडअनुसार तलब र सेवासुविधा फरक छ । म क्लिनर भनेर आएको हो । खाना–पानी नदिई ड्युटी गर्न पठाएको छ । कुनै बेला क्याम्पमा पानी छैन । कहिले बिजुली छैन । हामी कति सहेर बस्नु ?,’ वलीले भने,‘ धेरैको समस्या छ । हामी यसरी बस्न सक्तैनौं । म म सबै कुरा व्यवस्थापन गर्न सक्छु । तर, घर परिवारलाई हेर्नुपर्छ । घर परिवारलाई भोकै राखेर यहाँ कसरी बस्न सक्छौं ?’

आईडी नहुँदा घर जान नपाएको वलीले बताए । ‘विमानस्थलमा ब्लक छ । जरिवाना नतिरी विमानस्थलको कालोसूची हट्दैन । टिकट काटेर जान पाइएको छैन । आफैं टिकट काट्न पैसा पनि छैन,’ उनले भने,‘टिकट काट्न ६–७ सय रियाल लाग्छ । हामीसँग खबुस खाने पैसा छैन । यो म्यानपावरलाई खारेज गर्नुपर्छ । यो कम्पनीलाई कारबाही गर्नुपर्छ ।’

Published on: 11 April 2024 | Kantipur

Link

Back to list

;