s

कतारमा नेपालीलाई मृत्युदण्ड

नेपालीकै हत्या गरेको अभियोगमा एक नेपालीलाई कतारस्थित तल्लो अदालतले मृत्युदण्ड सुनाएको छ । फौजदारी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्ने क्रिमिनल कोर्टले मार्च ३१ मा पौवही गौढ-१, स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्ड तोकेको हो । 

सन् २०१२ अक्टोबर २० मा जलेश्वर-१३, महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको उनले हत्या गरेको अदालतको ठहर छ । 'मृत्युदण्डको फैसलाबारे हामीलाई जानकारी आएको छ,' नेपाली कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले भने, 'यसबारे हामीले परराष्ट्र मन्त्रालयलाई अवगत गराइसकेका छौं ।' कार्कीले भने माथिल्लो अदालतमा पुनरावेदन गरिसकेका छन् । ढकालका अनुसार अभियुक्त र हत्या गरिएका व्यक्ति दुवै नेपाली भएकाले परिवारहरूबीच सहमति भए मृत्युदण्ड कार्यान्वयनबाट जोगाउन सकिन्छ । 'मेलमिलापको पहल पनि सुरु गरिसकेका छौं,' उनले भने । 

कतारको कानुनमा पीडित परिवारले पीडक पक्षले दिएको 'ब्लडमनी' स्वीकारे अदालतले माफी दिन सक्छ । यहाँ ब्लडमनीबापत दुई लाख रियाल -५२ लाख रुपैयाँ) दिने नियम छ । कतारमा नेपालीले नेपालीलाई हत्या गरेको अभियोगमा अझै आधा दर्जन मुद्दाको छानबिन भइरहेको छ । तिनका अभियुक्त केन्द्रीय कारागारमा छन् । 

गत साता पनि सप्तरीका सुनीलकुमार मण्डलको शंकास्पद मृत्यु भएको थियो । त्यस घटनाको छानबिन गर्न प्रहरीले ५ नेपालीलाई पक्राउ गरेको छ । गत सातै धरानकी सुरेखा गुरुङ कतारको सुमद्री किनार (कर्नेस) मा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले अनुसन्धानका लागि उनीसँग चिनजान रहेका केटा साथीको खोजी गरिरहेको जनाएको छ । 

Published on: 16 June 2014 | Kantipur

Back to list

;