s

राहदानी बनाउने दलालमाथि बेचबिखन अभियोग

वैदेशिक रोजगारीमा पठाउने भन्दै महांकाल गाउँकी एक किशोरीको राहदानी बनाउन खोज्ने युवकलाई जिल्ला अदालत सिन्धुपाल्चोकले मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत सोमबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उमेर बढाएर नागरिकता बनाउने र विदेशमा राम्रो काममा लगाउने प्रलोभनमा चेलीलाई धमाधम झुक्याउन थालेपछि जिल्ला न्यायाधिवक्ता कार्यालयले महांकाल ३ का रुकबहादुर तामाङविरुद्ध बेचबिखन अभियोगमा मुद्दा दायर गरेको थियो । जिल्ला न्यायाधीश अजयराज उपाध्यायको एकल इजलासले तामाङलाई थुनामा राख्ने आदेश दिएको थियो । मानव बेचबिखन घटनाका पीडितको पक्षमा बहस पैरवी गर्दै आएका अधिवक्ता भेषराम ढकालका अनुसार जिल्लामा चेलीलाई वैदेशिक रोजगारीमा पठाउने दलालविरुद्ध बेचबिखन अभियोगम मुद्दा चलाएको यो घटना हो ।

तामाङले महांकालकी एक १६ वर्षे किशोरीलाई उमेर बढाएर नागरिकता र राहदानी बनाउन सघाएका थिए । किशोरीलाई रोजगारीका लागि जोर्डन पठाउने भन्दै पुस ८ गते राहदानी बनाउन खोज्दा तामाङ पक्राउ परेका हुन् । ठूलो बाबु उर्वोन तामाङ नक्कली बाबु बनेर नागरिकता बनाइसकेपछि राहदानीको सिफारिस लिने क्रममा रुकबहादुर पक्राउ परेका थिए । किशोरीको उमेर १८ वर्ष बनाएर नागरिकता लिएको थियो । ठूलो बाबु र किशोरीलाई जिल्ला प्रशासनले नागरिकता ऐनअन्तर्गत धरौटीमा छाडेको छ । 

Published on: 23 January 2014 | Kantipur

Back to list

;