s

रेमिट्यान्स ३१ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्सको वृद्धिदर ३१ दशमलव ५ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार यो ३ खर्ब ९७ अर्ब रुपैयाँ बराबर हो । गत वर्ष यही अवधिमा रेमिट्यान्स २१ दशमलव ९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्स भित्रिने क्रममा सुधार आएको छ । तथ्याकं अनुसार चैतसम्म डलरमा रेमिट्यान्स भित्रिने क्रम १५ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो १० दशमलव ७ प्रतिशत थियो । बढ्दै गएको रेमिट्यान्सका कारण शोधानान्तर बचत र बैंक वित्तीय संस्थाको निक्षेपमा पनि सुधार आएको छ । चैतसम्म शोधानान्तर बचत १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो बचत ३० अर्ब ७७ करोड रुपैयाँ बराबर थियो । विदेशी विनिमय सञ्चिति पनि २१ प्रतिशतले बढेर ६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।  

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ दशमलव ४ प्रतिशतले बढेको छ । यो १ खर्ब ३५ अर्ब रुपैयाँको वृद्धि हो । अघिल्लो वर्ष यस्तो वृद्धि ८ दशमलव ४ प्रतिशतको मात्र थियो । अवधिमा वाणिज्य बैंकको निक्षेप १० दशमलव ९ प्रतिशतले बढेको छ । विकास बैंकको निक्षेप १६ दशमलव ९ प्रतिशतले बढेको छ । वित्त कम्पनीमा यस्तो वृद्धि १० दशमलव ७ प्रतिशत छ ।  

बैंक वित्तीय संस्थाले कर्जा विस्तारलाई पनि तीव्रता दिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चैतसम्म बैंक वित्तीय संस्थाले १० दशमलव ९ प्रतिशतले कर्जा विस्तार गरेका छन् । यो १ खर्ब २५ अर्ब रुपैयाँ बराबर हुन्छ । सबैभन्दा धेरै कर्जा लगानी विकास बैंक -१६ दशमलव ६ प्रतिशत) बढेको छ । त्यसपछि वाणिज्य बैंकले १० दशमलव ८ र वित्त कम्पनीले ८ दशमलव ५ प्रतिशत कर्जा बढाएका छन् । वाणिज्य बैंकको स्प्रेड दरमा पनि बिस्तारै कम हुन थालेको छ । चैतमा यस्तो दर ६ दशमलव ७३ प्रतिशत थियो । वाणिज्य बैंकले निक्षेप राख्नेलाई औसत ४ दशमलव ३ प्रतिशत ब्याज दिएका थिए । कर्जा लिँदा भने यस्तो ब्याजदर १० दशमलव ९२ प्रतिशत थियो ।

अघिल्लो महिना स्प्रेड दर ६ दशमलव ७३ प्रतिशत थियो । चैत महिनामा बैंकको आधार दर ८ दशमलव ३८ प्रतिशत देखिएको छ ।

सोही अवधिमा ९१ दिनको ट्रेजरी बिल्सको औसत ब्याजदर भने ० दशमलव ०६ प्रतिशतमा झरेको छ । वाणिज्य बैंकको अन्तरबैंक कारोबारको ब्याजदर पनि ० दशमलव १९ प्रतिशतमा झरेको देखिन्छ ।

Published on: 15 May 2014 | Kantipur

 

Back to list

;