s

रेमिट्यान्स, राजश्व र विदेशी सहयोगले राज्य चलाउने सोच अन्त्य गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७३ औँ वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताएका हुन् ।

पुँजी बृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि र निर्यात प्रवर्धनसहित व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएको श्रेष्ठको दाबी थियो ।

‘पुँजी बृद्धि समस्या, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकासको समस्या र व्यापार घाटा कम गर्ने विषयलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि आर्थिक क्रियाकलापलाई असाधरण रुपले तीव्र बनाउनु, उत्पादन र रोजगारी बृद्धि गर्नु, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबर्धन गर्नुपर्ने आवश्यकता छ,' श्रेष्ठले भने, 'यो काम गर्नको लागि सरकारको नीति योजना र बजेट त्यही अनुसार हुनु पर्ने आवश्यकता हुन्छ । सरकारले परम्परागत रुपमा सोच्दै आएको ढंगले अर्थतन्त्रलाई गती दिन नसक्ने अवस्था हुन्छ । त्यसको लागि हामीले तीन वटा कुराबाट राज्य चलाउने विषयको अन्त्य गर्नुपर्छ । एउटा रेमिट्यान्सको आधारमा अर्थतन्त्र चलाउने सोच, भन्सार राजश्वको आधार मान्ने सोच र विदेशी सहयोगलाई केन्द्रबिन्दुमा राखेर देश चलाउँछु भन्ने सोच गलत हुन्छ ।’

श्रेष्ठले निजी क्षेत्र र सरकारपक्ष बसेर खुला छलफल र बहस गर्नुपर्ने बताए । उनले आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको बताए । त्यसो नगरीमा कहिल्यै विकास हुन नसक्ने नसक्ने उनको भनाइ थियो ।

Published on: 10 April 2024 | Kantipur

Link

Back to list

;