s

रोजगार मन्त्रालय बायोमेटि्रकको विपक्षमा

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बायोमेटि्रक प्रणालीले मलेसिया जाने कामदारलाई आर्थिक भार थप्ने भएकाले यो प्रणाली फिर्ता लिन मलेसिया सरकारलाई आग्रह गर्ने बताएका छन्। बायोमेटि्रकको नाममा नेपालमा सिन्डिकेट गर्न खोजेको र त्यसलाई लागू गर्न नहुने पक्षमा मन्त्रालय रहेको बताउँदै मन्त्री गुरुङले यसलाई फिर्ता लिन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल थालिने प्रस्ट पारे। 

शनिबार नागरिकसँगको कुराकानीमा मन्त्री गुरुङले मलेसिया जाने कामदारलक्षित बायोमेटि्रकको नाममा चर्को शुल्क लिने तयारी भएकोले मन्त्रालयले सुरुदेखि लागू गर्न नहुने अडान लिँदै आएको बताए। ‘म मन्त्री भएर आएदेखि यो लागू गर्नै हुँदैन भन्दै आएको छु, तर मलेसिया सरकारले एकतर्फी निर्णय गरेर लागू गर्ने अडान लिएकोले कूटनीतिक छलफल गरेर समाधान खोज्ने तयारी भएको छ,' उनले भने।

मन्त्री गुरुङले बायोमेटि्रक प्रणालीले कामदारलाई आर्थिक भार थप्न नहुने अडानमा आफू रहेको बताए। मन्त्रालयले बायोमेटि्रकबारे अध्ययन गरेर परराष्ट्रमार्फत मलेसियालाई पत्र पठाइसकेको उनले जानकारी दिए। ‘परराष्ट्रलाई पनि सुझाव र अवधारणा दिएका छौं। तर कुनै निर्णय भएको छैन। एकतर्फी लागू गरिए सरकारको हस्तक्षेप हुन्छ,' उनले भने। 

मन्त्रालयले बायोमेटि्रक प्रणालीबारे परराष्ट्रमा पठाएको अवधारणामा सिन्डिकेट नगरी सबै मेडिकलले बायोमेटि्रक गर्न पाउने, शुल्क कामदारलाई थप भार नपर्ने गरी नेपाल सरकारले तोकेकै हुने र स्वास्थ्य संस्थाको मापदण्डमा छलफल गर्न सकिने बुँदा रहेको मन्त्री गुरुङले जानकारी दिए। मन्त्रालय कार्टेलिङ र कामदारलाई आर्थिक भार पार्ने काममा सहमत हुन नसक्ने बताए। बायोमेटि्रक लागू गर्दा १५ देशमा सँगसँगै गर्ने भनिएको थियो। तर अहिले नेपालमा मात्र लागू गरेर त्यसको अभ्यास अरु देशमा लान खोजिएको छ। यसबारे पनि बुझ्नुपर्छ,' उनले भने।

दूतावासमा धर्ना

मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्ने भन्दै लागू गर्न लागिएको बायोमेटि्रक प्रणालीको विरोधमा व्यवसायीले नेपालस्थित मलेसियन दूतावास घेराउ गरेका छन्। 

बायोमेटि्रक प्रणालीको नाममा मलेसिया जाने कामदारलाई आर्थिक भार थप्ने काम भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार मञ्च, नेपाल वैदेशिक रोजगार व्यवसायी तमू धिं संघ, नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट संघ र स्वास्थ्य व्यवसाय संघर्ष समितिले शुक्रबार प्लेकार्डसहित मलेसियन दूतावास घेराउ गरेका हुन्। 

नेपाल वैदेशिक मेडिकल एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले बायोमेटि्रकले मलेसिया जाने एउटा कामदारमाथि १४ हजार रुपैयाँ आर्थिक भार थप्ने बताए। ‘त्यसैले यो कामदारको हितमा छैन। फिर्ता गराउन दूतावासमा धर्ना दिइएको हो,' उनले भने, ‘फिर्ता नभएसम्म आन्दोलन गर्छौं।' उनका अनुसार आइतबार वैदेशिक रोजगार विभागमा धर्ना दिने कार्यक्रम छ।

यसअघि म्यानपावर व्यवसायीले बायोमेटि्रक लागू भए दुई महिना मलेसिया कामदार पठाउन बन्द गर्ने चेतावनी दिएका थिए। मलेसिया सरकारले कामदार आपूर्ति गर्ने नेपाललगायत १५ मुलुकमा बायोमेटि्रक प्रणाली लागू गर्ने भन्दै बेस्टिनेट कम्पनीलाई एजेन्ट तोकेको छ। त्यही कम्पनीसँग नेपालको नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्झौता गरेको छ। नौ महिनाअघि सम्झौता भए पनि मेडिकल र म्यानपावर व्यवसायीका साथै महासंघकै पदाधिकारीको विरोध भएपछि कार्यान्वयनमा अन्योल देखिएको छ।

आइतबारदेखि बायोमेटि्रक लागू गर्ने तयारी छ। एकतर्फी लागू गर्न लागिएको भन्दै चौतर्फी रुपमा यसको विरोध हुँदै आएको हो। मलेसिया नेपाली कामदारका लागि प्रमुख गन्तव्य हो। अचेल दैनिक चार सय ५० नेपाली कामको खोजीमा मलेसिया जान्छन्। २०७० सालमा एक लाख ६६ हजार आठ सय ९८ नेपाली मलेसिया पुगेका थिए। 

मलेसियाले बेस्टिनेट डिएचटी आइएनएटी कम्पनीमार्फत नेपालमा ‘फरेन वर्कर्स सेन्टरलाइज्ड म्यानेजमेन्ट सिस्टम सफ्टवेयर' लागू गर्न लागेको हो।

Published on: 14 June 2014 | Nagarik    

Back to list

;