s

रुसी सेनाबाटै असुरक्षित नेपाली!

‘युक्रेनबाट रुसी सैनिकलाई ताकेर मिसाइल आएपछि आफू बाँच्न जबाफी कारबाही नगरी हुँदैन। रुसी सेनामा भर्ती भएका नेपालीलाई युद्धमोर्चामा पनि सबैभन्दा अघि खटाइन्छ। अगाडि नलागे कमान्डरले नै गोली हानेर मारिदिन्छन्। रुसी सेनामा भर्ती भएका नेपालीका कमान्डर रुसी हुन्छन्,’ रुसी सेनामा भर्ना भएका कञ्चनपुरका सिर्जनबहादुर सिंहले टेलिफोन सम्पर्कमा भने। सिर्जनले अगाडि भने, ‘युद्धमोर्चामा नेपालीलगायत विदेशीलाई अगाडि लगाएर रुसीहरू पछिपछि बस्छन्। अगाडि जान नमान्नेलाई रुसी कमान्डरले गोली हानेर मार्छन्। दाङका एक र पूर्वतिरका दुई/तीनजनालाई उनीहरूले गोली हानेर मारे।’

रुसका तर्फबाट युक्रेनसँगको युद्धमा अग्रभागमा रहेर भिड्ने सैनिकमा नेपालीलगायत विभिन्न देशका छन्। युक्रेन र आफ्नै कमान्डरबाट असुरक्षित भएपछि सिर्जनले रुसी सेनाको जागिर छाडेर घर फर्कने योजना बनाए। योजनाअनुसार यही चैत १ गते उनी घर फर्किए।

‘युक्रेनी पक्षबाट आक्रमण त हुन्छ नै। आफू भर्ती भएको देशको सेनाको कमान्डरबाट पनि असुरक्षित महसुस भयो। थप असुरक्षित भएर बस्न उचित लागेन। घर फर्कने योजना बनाएँ। गत १ गते सकुशल घर आएँ।’

सिर्जनका अनुसार उनी रहेको रुसी सेनाको बटालियनमा सुरुमा १०५ नेपाली थिए। नेपालीको यो यो संख्या दिनहुँ घट्थ्यो। सिर्जन र अन्य ती नेपालीको बटालियन एउटै भए पनि ब्यारेकचाहिँ फरकफरक थियो। ‘युक्रेनको ड्रोन प्रहारबाट असुरक्षित बनेपछि युद्धमा खटिएका रुसी कमान्डरले रुसीलाई पछाडि राखेर नेपालीलाई अगाडि जान आदेश दिएछन्,’ सिर्जनले आफ्ना नेपाली साथीलाई उद्धृत गर्दै भने, ‘डराएर अग्रमोर्चामा जान नमान्दा कमान्डरले चार नेपालीलाई निर्देशन नमान्ने भनेर गोली हानेर मारेछन्।’

आफ्नै कमान्डरबाट असुरक्षित हुने देखेपछि सिर्जन र उनका साथी भाग्ने निर्णयमा पुगेछन्। सिर्जनका अनुसार ब्यारेकको पर्खाल नाघेर डेढ घण्टा पैदल हिँडेर उनीहरू अर्को ब्यारेकमा पुगेछन्। भागेर हिँडेको आशंकामा त्यो ब्यारेकबाट उनीहरूलाई पुरानै ब्यारेकमा पठाइयो, सजाय पनि दिइयो।

भाग्ने पहिलो प्रयास असफल भयो। दोस्रो प्रयासमा मात्र सफल भएको उनले बताए। ‘ब्यारेकमा रातिमा पनि परेड खेलाउँथे, एक रात परेड खेलाइरहेका बेला मसहित तीन नेपाली त्यहाँबाट भाग्यौं,’ सिर्जनले भने। ब्यारेकबाट बाहिर निस्केपछि आफूले रुस पुर्‍याएका दलालसँग सम्पर्क गरेको सिर्जनले बताए।

दलाले भनेअनुसार उनीहरू स्थानीयको सहयोगमा ट्याक्सीमा मस्को पुगे। मस्कोमा दलालसँग सिर्जनको भेट भयो। सिर्जनले अध्यागमनमा आफू पर्यटक भिसामा आएको र नेपाल फर्कन चाहेको बताए। भिसाको म्याद सकिएको थियो। ‘आइन्दा यस्तो गल्ती नगर्नू भनेर म र सँगै रहेको अर्को नेपालीलाई अध्यागमनले छाडिदियो,’ सिर्जनले भने, ‘सँगै रहेका अर्का साथीले आफू रुसी सेनामा भर्ना भएको भनेर कुरा बिगारेछन्, उनलाई अध्यागमनले समात्यो, अहिले उनी कहाँ छन् थाहा छैन। सम्पर्क गर्दा सम्पर्कै हुन्न।’ सिर्जन साढे ७ लाख रुपैयाँ तिरेर गत भदौमा रुसी सेनामा भर्ना हुन त्यहाँ पुगेका थिए।

ऋणै ऋणमा ढले घनसिङ

कतारमा केही वर्ष काम गरेको कमाइले परिवार धान्ने अवस्था नबनेपछि घर फर्केका रोल्पा त्रिवेणीका घनसिङ पुनले लिवाङमा मोबाइल पसल खोलेर आर्थिक जोहो गर्ने योजना बनाए। लिवाङको व्यापार उनका लागि फापेन। दाङको घोराही झरेर उनले सोही व्यापारलाई निरन्तरता दिए। त्यहाँ पनि राम्रो कमाइको मेसो मिलेन। उल्टै ऋण लाग्यो। ऋण तिर्ने उपाय नभेटेपछि अन्ततः उनी रुसी सेनामा भर्ना हुन जाने निष्कर्षमा पुगे।

कमाउने सपना बोकेर उनी रुस पुगे। त्यहाँ त्यो सपनासँगै उनी स्वयं बिलाए।

‘कमाउन जान्छु भनेर रुस गएको थियो। रुसी सेनामा भर्ती भएछ,’ घनसिङका काका डम्मर पुनले भने, ‘रुसी सैनिक बनेर धेरै कमाउने सपनासँगै ऊ स्वयं पनि उतै बिलायो।’

घरपरिवारको चाहनाविपरीत तीन महिनाअघि घनसिङ रुस जान घरबाट हिँडेका थिए। भारतको नयाँदिल्ली हुँदै उनी रुस पुगे। ‘हामीले रुसमा अहिले खतरा छ, जानु हुन्न भनेर सम्झाएका थियौं। ऊ दिल्ली पुगेपछि पनि त्यहींबाट फर्कन आग्रह गरेका थियौं,’ काका डम्मरले भने, ‘उसले मान्दैमानेन, बरु गएर पैसा पठाइदिन्छु भन्यो।’

डम्मरका अनुसार घनसिङको रुस पुग्दासम्म ५ लाख रूपैयाँजति खर्च भैसकेको थियो। रुस पुगेको केही समयसम्म उनी परिवारका सदस्यसँग सम्पर्कमै थिए। कतारमा रहेका भाइसँग पनि धनसिंहको दिनहुँजसो कुराकानी भैरहने डम्मरले बताए।

पछिल्लो महिना उनी सम्पर्कबिहीन बने। ‘सैनिक तालिमपछि युक्रेनको सीमामा पुग्दासम्म रुसी सैनिक परिवारको सम्पर्कमा हुँदारहेछन्,’ डम्मरले भने, ‘युक्रेन छिरेपछि सम्पर्कमा हुँदा रहेछन्। दुईचार दिन त त्यही भएर सम्पर्कमा नआएको होला भन्ने लाग्यो।’

लामो समयसम्म सम्पर्कमा नआएपछि घरपरिवारका सदस्यको मनमा चिसो पस्यो। रुस–युक्रेन युद्ध चर्किएको र रुसी सैनिक बनेयर युद्धमोर्चामा पुगेका नेपालीको मृत्यु भएको समाचार आइरहेका थिए।

डम्मरले भने, ‘युक्रेनसँगको युद्धमा घनसिङको पनि निधन भैसकेको रहेछ। घनसिङसँगै रहेका रोल्पाका साथीले फोन गरेर युक्रेनी सैनिकको बम प्रहारमा परेर उसको मृत्यु भएको खबर घरमा दिए। सुरुमा पत्यारै नलागेर धेरै ठाउँमा सम्पर्क गर्‍याैं। सबैतिरबाट उसको मृत्यु भएको कुरा आयो।’

घनसिङको परिवारलाई उनका साथीले बताएअनुसार रुसी सेनाको ब्यारेकमा युक्रेनी सैनिकहरूले आक्रमण गरिरहेका थिए। घनसिङ ब्यारेकमै थिए। ब्यारेकमा खसेको रकेटबम लागेर उनी कहिल्यै नउठ्ने गरी ढले।

रुसी सेनामा भर्ना भएको तीन महिनाको अवधिमा घनसिङले घरमा पैसा पठाएका थिएनन्। उनले कमाएको पैसा परिवारको हातमा परेको छैन। रुस जाँदा लागेको ऋणको बोझ बढ्दै छ। रुसमा कमाउन गएका घनसिङ उतै ढलेपछि परिवारको भरोसासमेत ढलेको छ। ‘यहाँ व्यापार गर्दा पनि ऋण लाग्यो, रुस जाँदा झन् ऋण थपियो,’ डम्मर भन्छन्, ‘कसरी ऋण तिर्ने, छोराछोरीको लालनपालन कसरी गर्ने, परिवारमा ठुलो समस्या भएको छ।’

Published on: 22 March 2024 | Nagarik

Link

Back to list

;