s

रुसी सेनामा गएका नौ युवा सम्पर्कविहीन

तनहुँ, वैशाख १० गते । मनग्गे धन कमाएर परिवारलाई सुखसँग पाल्ने सपना बोकी रुसी सेनामा भर्ती भएका युवा सम्पर्कविहीन भएपछि परिवारजन चिन्तामा परेका छन् । छोरो सम्पर्कमा नआएको चार महिना भएकाले चिन्तामा परेको नाम बताउन नचाहने एक महिलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयसम्म सम्पर्क नहुँदा छोराको याद आएर खाना पनि रुचेको छैन, रातभरि निद्रा लाग्दैन ।” उहाँको जस्तै तनहुँमा सम्पर्कविहीन भएका नौ युवाका परिवारको आँखा ओभाएका छैनन् । छोराहरू सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएर फिर्ता पठाइदिन आग्रह गरेका छन् ।

व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका तीन, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी नौ युवा सम्पर्कविहीन छन् ।

नौ जनाकै परिवारजनले छोराहरूको खोजीका लागि निवेदन दिएको आप्रवासी स्रोत केन्द्रको परामर्शदाता गोमा तिवारीले जानकारी दिनुभयो । करिब तीन महिनाअघिदेखि घरपरिवारसँग सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको तिवारीले जानकारी दिनुभयो । निवदेनमा एजेन्टमार्फत पाँच लाखदेखि छ लाख रुपियाँ तिरेर भिजिट भिसामार्फत रुस पुगेर सेनामा भर्ती भएको उहाँले जानकारी दिनुभयो । तिवारीले भन्नुभयो, “सम्पर्कविहीन भएपछि रुँदै खोजी गरिदिनका लागि आफन्तहरू केन्द्रमा निवेदन दिन आएका हुन् ।”

प्रायः नौ जना नै तीन/चार महिनादेखि सम्पर्कविहीन भएको परिवारजनले दिएको निवेदनमा उल्लेख छ । सम्पर्कविहीनको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको आवश्यक सम्पूर्ण कागजात पठाइसकिएको केन्द्रले जनाएको छ ।

आफ्नो दाइ दुई महिनाअघिदेखि सम्पर्कमा नआउँदा आफू आँसुमा डुबेको व्यास नगरपालिका–१ की महिलाले बताउनुभयो । उहाँले दाइ बेरोजगार भएपछि प्रशस्त धन कमाउँछु भनेर रुसी सेनामा भर्ना गएको र त्यसका लागि एजेन्टलाई छ लाख रुपियाँ बुझाएको बताउनुभयो ।

भिडियो कलमा भएको कुराकानीका दाइले तालिमपछि लडाइँ भएको क्षेत्रमा जानुपर्ने भएकाले त्यस अवधिभरि कुराकानी हुन नसक्ने बताएको उहाँले जानकारी दिनुभयो । केन्द्रको जिल्ला संयोजक लुना रानाले तनहुँबाट धेरै व्यक्ति रुसी सेनामा भर्ती भएको हुन सक्ने बताउनुभयो । राहदानी बनाएपछि परामर्श लिन आउनेलाई भर्ना नहुनका लागि आग्रह गर्ने गरिएको केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन राहदानी बनाउन आएका सबैलाई अनिवार्य रूपमा परामर्श लिनुपर्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा जोखिममा नपरून् र नठगिऊन् भनेर अनिवार्य परामर्श लिनुपर्ने प्रावधान राखिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

Published on: 23 April 2024 | Gorkhapatra

Link

Back to list

;