s

रुसी सेनामा नेपालीको मृत्यु : शोकमाथि डीएनएको सास्ती

काठमाडौँ — टेकराज बस्नेत सुनसरीबाट काठमाडौं आएको हप्ता दिन भयो । तर, यो एक सातामा उनले यहाँ दुःख र हैरानी सिवाय केही पाएका छैनन् । एकातिर रुसी सेनामा भर्ती भई मृत्यु भएका कान्छा भाइ क्षितिजको शोक छ भने अर्कोतिर राज्यले देखाइरहेको अमानवीय व्यवहारको चोट खेप्दै उनी काठमाडौंमा सास्ती खेपिरहेका हुन् ।

गत कात्तिक २ गतेदेखि युक्रेनको युद्धग्रस्त लुहान्स्क क्षेत्रबाट सम्पर्कविहीन भएका भाइको मृत्यु भएको भन्दै कन्सुलर विभागले फोन गरेर उनलाई शव पहिचानका लागि डीएनएको नमुना दिन काठमाडौं बोलाएको हो । तर, यहाँ आएको एक सातामा उनले कहिले कन्सुलर विभाग, कहिले प्रहरी प्रधान कार्यालय त कहिले टिचिङ अस्पतालको सास्तीपूर्ण चक्कर काट्दैमा समय बिताइरहेका छन् । एकातिर डीएनएको नमुना कहाँ संकलन गर्ने हो भन्ने अन्योल छ भने अर्कोतिर शोक र सन्तापमा गलिरहेका ७० वर्षीय वृद्ध बाआमा र भाइबुहारीको रोदनयुक्त चीत्कार । टेकराज काठमाडौंमा चक्कर काट्दा काट्दै फतक्कै गलिसकेका छन् ।

काठमाडौं आएपछि टेकराज सुरुमा आफन्त चिरञ्जीवी आचार्यलाई लिएर कन्सुलर विभाग गए । विभागले प्रहरी प्रधान कार्यालयमा डीएनएको नमुना उपलब्ध गराइदिनु भन्दै पत्र लेखिदियो । ‘त्यो पत्र लिएर प्रहरी प्रधान कार्यालयमा लगेर बुझाएँ । पत्रको व्यहोरा मिलेन भन्दै फर्काइदियो । फेरि कन्सुलर विभागमा गएर अर्को पत्र बनाउनुपर्‍यो,’ टेकराजले भने, ‘परिमार्जन गरिएको पत्रलाई प्रहरी प्रधान कार्यालयले स्वीकार गर्‍यो । प्रहरीले हामी हाम्रो निकायलाई पत्राचार गर्छौं, तपाईंलाई फोन आउँछ भन्दै पठाइदियो ।’ सरकारी कार्यालयमा यता र उताको चक्कर काटेर मात्रै पनि उनको सास्ती सकिएन ।

शोक र सन्तापले गलेका टेकराजलाई यो दुःखमा हरेक मिनेट कष्टसाध्य भइरहेको छ । तर उनले खबर गर्छु भनेको प्रहरी प्रधान कार्यालयबाट दुई दिनसम्म खबर नआउँदा उनको बेचैनी झनै दोब्बर भइरहेको छ । उनले अनेकतिर बुझेपछि खबर पाए, प्रहरी प्रधान कार्यालयले महाराजगन्जस्थित महानगरीय प्रहरी प्रभागमा पत्र पठाइदिएको छ भन्ने ।

त्यसपछि बुधबार उनी महाराजगन्ज हान्निए । ‘त्यहाँ पनि लम्बेतान प्रक्रिया रहेछ । हाम्रो अगाडि डीएनए नमुना दिएको हो भनेर तीन जनाको साक्षी चाहिँदो रहेछ । यो पत्र फेरि आफैं बोकेर जान नपाउने रहेछ,’ उनले भने, ‘प्रहरीको साथ जानु पर्दोरहेछ । बुधबार दिउँसो टिचिङ अस्पताल पुगेका थियौं । अस्पतालले समय छैन भन्दै रगत लिन मानेन ।’

शोकका बेला सरकारी निकायले दिएको यो हैरानीले टेकराज दिक्क मात्रै छैनन्, आक्रोशित पनि छन् । उनले सुनाए, ‘ब्लडको नमुना दिनका लागि साता दिन कुर्नुपर्‍यो । हामीजस्तो सोझासिधालाई यहाँ सधैं कठिन छ ।’

रुसी सेनामा भर्ती भएर युद्धका क्रममा मृत्यु भएका १५ नेपालीको शवको पहिचानका लागि ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन रुसले नेपाल सरकारलाई अनुरोध गरेपछि कन्सुलर विभागको सम्पर्कपछि मृतक परिवारका एकाघरका सदस्य काठमाडौं आइरहेका छन् ।

डीएनए नमुना कहाँ दिन पाइने हो भन्ने जानकारीको अभावमा काठमाडौंका अनेकतिर कुदिरहेकी थिइन्, ओखलढुंगाका २५ वर्षीया खोमबहादुर भुजेलकी कान्छी बहिनी रेनुका । दुई वर्षदेखि कतारमा कुकको काम गरिरहेका खोमबहादुर कात्तिक ३० मा रुस पुगेका थिए । ‘रुसी सेनामा भर्ती भएको हामीलाई थाहा नै थिएन । फेसबुकतिर युनिफर्मसहित फोटो देखेपछि मात्रै थाहा भयो । हामीले फर्कनुभन्दा पनि मान्नु भएन । फर्किने चान्स नै छैन भन्नुभयो,’ रेनुकाले भनिन्, ‘आखिर त्यस्तै भयो । उहाँ कहिल्यै नफर्किने गरी जानुभयो ।’

खोमबहादुर युद्धग्रस्त क्षेत्रको रेडजोनमा नपुग्दै उनी चढेको बख्तरबन्द गाडी नै युक्रेनी सेनाले प्रहार गरेको ड्रोनले उडाइदिएको खबर रेनुकाले पाएकी छन् । ‘मंसिर २३ को राति ९ बजे नै दाइको मृत्यु भएको रहेछ । उहाँहरू चढेको गाडी त ढुंगाजस्तो टुक्रा–टुक्रा भएछ । यो खबर हामीले पुस २५ मा मात्रै थाहा पायौं । माघ ५ मा खबर पक्का भएपछि हामीले दाहसंस्कार गर्‍यौं,’ उनले भनिन्, ‘शवको पहिचान नभएको खबर आएपछि डीएनए नमुना दिन आएका हौं । अहिलेसम्म नमुना नै लिइएको छैन ।’

२२ वर्ष साउदी अरबमा पसिना बगाएर फर्केका रेनुकाका बुबा अहिले गाउँमै मिल चलाएर बस्छन् । ‘दाइ र हामी दुई दिदीबहिनी थियौं । आमा र दिदी आउन नमिल्ने भएपछि डीएनए दिन म आएकी हुँ । कहिले के मिल्दैन, मिल्दैन,’ उनले भनिन्, ‘कन्सुलर विभागबाट पत्र लिएर प्रहरी प्रधान कार्यालय पुगेकी थिएँ । त्यहाँभित्र प्रवेश गर्न प्रोटोकल मान्नु पर्दोरहेछ । मैले ग्रन्ज पाइट लगाएर गएकी थिएँ । त्यो लगाउन नमिल्ने भन्दै अर्को पाइन्ट लगाएर आउन भनियो । बाथरुममा गएर सँगै गएको साथीसँग पाइन्ट साटफेर गरेपछि बल्ल प्रवेश दिइयो । पत्र सच्याउन दुई पटक धाइसकें ।’

मकवानपुरका अजय थोकर पनि बुधबार दिनभर टिचिङ अस्पतालमा बसेर साँझतिर निराशा र आक्रोश बोकेर फर्किए । रुसी सेनामा भर्ती भई मृत्यु भएका उनका २८ वर्षीय भाइ विजयबहादुरको शवको अहिलेसम्म पहिचान भएको छैन । कात्तिक ६ देखि सम्पर्कविहीन भएपछि अजयले कन्सुलर विभागमा विजयको खोजतलासका लागि निवेदनसमेत दिएका थिए । मृत्युको सूचीमा विजयको नाम भएपछि कन्सुलरले शव पहिचानका लागि डीएनएको नमुना दिन अजयलाई काठमाडौं बोलाएको थियो । आइतबारदेखि डीएनएको नमुना दिन यता र उता चक्कर काटिरहेका उनी काम नबन्दा हैरान थिए । ‘एकै दिनमा काम सकिन्छ भनेर आएको थिएँ । ५ दिन भइसक्यो । पार लागेन,’ उनले भने, ‘डीएनएको प्रक्रिया यस्तो झन्झटिलो हुन्छ भन्ने मलाई लागेको थिएन ।’

कमाउन गएको भाइको शव पहिचानतिर लागिराख्नुपर्दा आफूहरू निकै तनावमा परेको उनले बताए । अजयलाई अहिले भाइको मृत्युको शोक एकातिर छ भने उसले रुस जाने बेला दलाललाई बुझाएको ८/९ लाख रुपैयाँ ऋणको अर्को चिन्ता छ । भाइबुहारी र भाइकी सानी छोरीलाई यो शोकबाट कसरी पार लगाउने भन्ने चिन्ता बोकिरहेका बेला उनलाई डीएनए नमुना दिनका निम्ति आइपरेको नौबतले झनै दुःख दिएको छ । ‘शव पहिचान भयो भने पनि आउँछ कि आउँदैन, थाहा छैन । काजकिरियालाई अगाडि बढाउने कि शव पर्खिने भन्नेमा हामी अलमलमा छौं,’ उनले सुनाए, ‘सबैभन्दा चाँडो डीएनएको नमुना पठाएर शव पहिचान गर्न पाए हुन्थ्यो ।’

रुसले फागुन २३ मा नै १५ जनाको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाउन नेपाल सरकारलाई अनुरोध गरेको थियो । जसमा तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर, अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर विक, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेस सुनुवार, विकास राई, मकवानपुरका विजयबहादुर थोकर, जितेन्द्रबहादुर घिसिङ रहेका छन् । बुधबारसम्म भीमबहादुर विक, प्रेमप्रकाश न्यौपाने र विमलकुमार गजमेरका परिवारले डीएनएको नमुना दिएका छन् ।

टिचिङ अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले मुचुल्कासहित सबै विवरण रुजु गरेर कागजपत्र तयार भएपछि मात्रै नमुना संकलन गर्नुपर्ने भएकाले ढिलो भएको बताए । ‘हामीले बुधबार हुन नसकेकालाई बिहीबार बिहान १० बजे बोलाएका छौं,’ उनले कान्तिपुरलाई भने ।

रुसी सेनामा भर्ती भएकाहरूको जीवन सुरक्षाका लागि सचेतना अभियानकी संयोजक कृति भण्डारीले पीडित परिवारलाई डीएनएको नमुना लिन निकै कठिन भइरहेको बताइन् । ‘छोरा गुमाएका आमाबुबा काठमाडौंमा धाइरहेका छन् । कसैका दाजु, बहिनी आएका छन् । एउटा डीएनए गराउन कति वटा निकायमा धाउनुपर्ने हो ?,’ उनले भनिन्, ‘राज्यले पीडितलाई सहजीकरण गर्नुको साटो सास्ती दिइरहेको छ ।’

Published on: 21 March 2024 | Kantipur

Link

Back to list

;