s

रुसमा सेलायो ऋण तिर्ने सपना

कतारको केही वर्षको कमाइले परिवार धान्ने अवस्था बनेन। केही वर्षको कतार बसाई पछि घर फर्केका रोल्पा त्रिवेणीका घनसिङ पुन रोल्पाको लिवाङमा मोबाइल पसल खोलेर आर्थिक जोहो गर्ने योजनामा पुगे। तर रोल्पाको यो व्यापार फापेन। घोराही झरेर मोबाइलको व्यापार बढाउन सकिन्छ कि भन्ने नयाँ सम्भावना केलाए उनले। फलतः घोराहीमा झरेर बसपार्क नजिकै मोबाइलको व्यापार सुरु गरे। तर व्यापार उस्तै सुस्त।

आर्थिक आम्दानीको मेसो घोराहीको मोबाइल व्यापारले पनि मिलेन। व्यापार गर्दा लागेको ऋणले पिरोल्दै लग्यो। ऋण तिर्ने उपाय केही भेटेनन् उनले। अन्ततः घनसिङ रुसी सेना बनेर ऋण तिर्ने अनि मनग्य आर्थिक लाभ लिने योजनामा पुगे।

तर आर्थिक लाभको सपना देखेर रुस पुगेका घनसिङको धन कमाउने सपना मात्रै बिलाएन, उनी स्वयं रुसी भूमिमै बिलाए। ‘कमाउन जान्छु भनेर रुस पुगेको थियो, रुसी सेनामा भर्ती भएछ,’ घनसिङका काका डम्मर पुनले भने ‘रुसी सेना बनेर धेरै कमाउने सपनासँगै आफू पनि उतै बिलायो।’

कमाइका लागि घनसिङले गरेका प्रयास विफल बनेपछि केही समय देखि रुस जाने खबर परिवारलाई सुनाउँदै आएका थिए। तर परिवारले मानेको थिएन। रुस र युक्रेनको द्धन्दको खतरा देखेको थियो परिवारले। तर घनसिङको ढिपीका अगाडी परिवारको केही जोर चलेन। फलतः तीन महिना अघि उनी रुसका लागि घर देखि हिँडे। उनी भारतका दिल्ली हुँदै रुस पुगेका थिए।

‘हामीले रुसमा अहिले खतरा छ, जाने हैन भनेर धेरै सम्झाएका थियौँ, उ दिल्ली पुगेका बेला पनि त्यहीँबाट फर्कन आग्रह पनि गर्‍यौँ,’ घनसिङका काका डम्मरले भने ‘तर उसले मान्दै मानेन, बरु पैसा पठाइदिन भनेको थियो।’

डम्मरका अनुसार रुस पुग्दा सम्म झण्डै ५ लाख रुपैयाँ खर्च भैसकेको थियो। दिल्ली हुँदै रुस पुगेका घनसिङ पुगेको केही समयसम्म परिवारका सदस्यसँग सम्पर्कमै थिए। कतारमा रहेका उनका भाइसँग धनसिंहको दिनहुँ जसो कुराकानी भइरहन्थ्यो।

‘हामीसँग भन्दा पनि कतारमा रहेको उसको भाइसँग भिडियो कलमा कुराकानी हुने रैछ,’ डम्मरले भने ‘रुसमा आफू सकुशल रहेको र काम पनि गाह्रो नभएको भनेर भाइलाई भन्दो रहेछ।’

तर पछिल्लो एक महिना उनी सम्पर्कविहीन बने। ‘तालिम पछि युक्रेन सीमामा पुग्दा रुसी सेनाहरु परिवारको सम्पर्कमा हुँदा रहेछन्,’ डम्मरले भने ‘शायद त्यही बेला भतिज पनि सम्पर्कमा रहन नपाएको होला भन्ने लागेको थियो।’ तर घनसिङ सम्पर्क विहीन भएपछि परिवारका सदस्यको मनमा चिसो भने पसिसकेको थियो।

युक्रेनसँगको द्धन्द झनै चर्किरहेको र कैयन नेपालीहरुको निधन भएको भनेर समाचारहरु आउन थालेका थिए। ‘युक्रेन र रुसका बिचमा द्धन्द मच्चिरहेको र नेपालीहरुको ज्यान गइरहेको भन्ने समाचार आइरहँदा उसलाई पनि केही भइहाल्यो कि भन्ने लाग्नु त स्वाभाविकै हुने भयो,’ डम्मर भन्छन् ‘तर मन दह्रो बनाएर बसेका थियौँ।’

नभन्दै युक्रेनको भूमि कब्जा गर्ने लक्ष सहित युक्रेनको भूमि कब्जा गर्न खोज्दा घनसिङको निधन भैसकेको रहेछ। उनीसँगै रहेका उनका रोल्पाकै अर्का नेपालीले घनसिङको मृत्यु भएको खबर सुनाइदिएका थिए।

‘उ (घनसिङ) सँगै रहेका उसका साथीले फोन गरेर युक्रेनको बम प्रहारमा परेर मृत्यु भएको खबर घरमा सुनाइदिए,’ डम्मर भन्छन् ‘सुरुमा यो खबर पत्यारै लागेन।’ कतारमा रहेका घनसिङका भाइले समेत रुसमा रहेका आफ्ना दाजुका साथीहरूसँग घटना बारे बुझे। उनले पनि दाजुको मृत्यु भैसकेको खबर पाए।

‘हरेक ठाउँबाट बुझ्न लगायौँ, सबै ठाउँबाट बुझ्दा उसको बम लागेर मृत्यु भएको खबर पायौँ,’ डम्मरले भने ‘लास देख्ने र पाउने कुरा भएन, मृत्यु भैसकेको भन्ने निर्णयमा हामी पुग्यौँ।’

घनसिङको परिवारलाई उनका साथीहरुले बताए अनुसार घनसिङहरु रहेको रुसी सेनाको ब्यारेक माथ युक्रेनी सेनाहरुले आक्रमण गरिरहेका थिए। रुसी सेनाको ब्यारेकबाट पनि जवाफी आक्रमण चलिरहेको थियो। रुसी सेनाको यो ब्यारेक युक्रेनी भूमि नजिकै थियो। युक्रेनी सेनालाई उसको भूमिबाट हटाएर युक्रेनी भूमि कब्जा गर्ने लक्ष सहित घनसिङ सहितको रुसी सेना अघि बढ्ने योजनामा थियो।

युक्रेनी सेनाले आफ्नो भूमि रक्षार्थ रुसी सेनामा रकेट बम प्रहार गरिरहेको थियो। घनसिङ ब्यारेकमै थिए। ब्यारेकमा खसेको एउटा रकेट बमले धनसिङलाई निशाना बनायो। उनी ब्यारेक भित्रै ढले, कहिल्यै नउठ्ने गरि।

‘दुई देशको ‘वार’ चलिरहेको बेला युक्रेनी सेनाले खसालेको रकेट बम ब्यारेक भित्र घनसिङ बसेकै ठाउँमा खसेछ,’ डम्मरले भने ‘नजिकै बिष्फोट भएको बमबाट उ बच्न सकेन भनेर उसका साथीहरुले खबर गरेका थिए।’यही खबरका आधारमा परिवारले केही दिन अघि घनसिङको किरिया समेत गरिसकेका छन्।

रुसी सेना बनेको तीन महिनाको अवधिमा घनसिङले पैसा घरमा पठाउन सकेका थिएनन्। परिवारको सम्पर्कमा रहँदा सम्म उनले छिट्टै तलब आउने र घरमा पठाउने आश्वासन दिँदै आएका थिए।

‘घरमा पैसा पठाउँछु, तलब आउनासाथ भनेको थियो,’ काका डम्मर भन्छन् ‘तर पछि सम्पर्क विहीन भयो, उसले तीन महिनासम्म काम गरेको रहेछ, तर एक रुपैयाँ पनि परिवारले अहिले सम्म हात पारेको छैन।’

यहाँ व्यापार गर्दा पनि ऋणमै चलेका थिए घनसिङ। रुसमा जाँदा लागेको रकम जति सबै ऋणकै थियो। तर कमाउने भनेर गएका घनसिङ रुसमै ढलेपछि उनको परिवारको भरोसा समेत ढलेको छ।

‘यहाँ व्यापार गर्दा पनि ऋणमै थियो, रुस जाँदा झन् ऋण थपियो,’ डम्मर भन्छन् ‘यो ऋण तिर्ने, अनि छोराछोरीको लालन पालनमा उसको परिवारमा ठूलो समस्या भएको छ।’

Published on: 22 March 2024 | Nagarik

Link

Back to list

;