s

सार्कका आप्रवासीको अधिकारमा जोड

सार्क राष्ट्रका सभासद र सञ्चारकर्मीहरूले आप्रवासी कामदार भर्नामा स्तरीय मापदण्ड बनाउन, कामदार पठाउने मुलुकबीच सहकार्य बढाउन, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सेवा/सुविधा/अधिकारलाई व्यवस्थित गर्नुपर्नेलगायतका विषय प्राथमिकतामा राखिनुपर्ने बताएका छन् ।
 
उनीहरूले आप्रवासी कामदारका अधिकारसम्बन्धी अभिसन्धिको पक्ष राष्ट्र बन्नुपर्ने र सार्कले आप्रवासी कामदारको कार्ययोजना बनाएर अघि बढ्नसमेत भनेको छ । राजधानीमा आयोजित सभासद र सञ्चारकर्मीको छुट्टाछुट्टै कार्यशालामा उनीहरूले उक्त धारणा राखेका हुन् । कार्यशालाका सहयोगीहरूले दक्षिण एसियाली क्षेत्रका आप्रवासी कामदारको अधिकार प्राप्तिमा सार्क क्षेत्रका सरकार, नागरिक समाज र मिडिया लाग्नुपर्नेमा जोडसमेत दिएका छन् ।
 
कार्यशालाले आप्रावासी कामदार उत्पत्ति मुलुकबाट ठगिंदै पुगेर गन्तव्य देशमा पनि ठगी र शोषणमामा परेका छन् भन्दै त्यसलाई रोक्न र ठगीमा संलग्नहरूलाई कारबाही गर्न दुवैतर्फका सरकार लाग्नुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय प्रवासनमा जानेमध्ये सबैभन्दा बढी सार्क क्षेत्रकै कामदार छन् ।
 
आप्रवासी कामदारको अधिकारमा कार्यरत अमेरिकी संस्था ‘सोलिडारिटी सेन्टर’ र पिलिपिन्सको संस्था ‘माइग्रेन्स फोरम एसिया’ द्वारा बिहीबार र शुक्रबार आयोजित कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, मालदिभ्सका सञ्चारकर्मी, सभासद, ट्ेरड युनियन र आप्रवासी कामदार अधिकारकर्मी सहभागी थिए ।
 
गत वर्ष नेपालमा आयोजित १८ सार्क सम्मेलनले सार्क मुलुकबाट बाहिर जाने कामदारको अधिकार, सुरक्षाको विषयमा सहयोग, सहकार्य गर्ने एजेन्डा पारित गरेको छ । सार्क देशमध्ये मालदिभ्स र भुटानबाहेक नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का र अफगानिस्तान कामदार पठाउने देशको रूपमा समेत चिनिन्छन् । यो क्षेत्रबाट ठूलो संख्यामा कामदार खाडी मुलुक र मलेसिया गएका छन् ।
 
 कार्यशालामा श्रम प्रवासनको क्षेत्रका कार्यरत नेपाली, सोलिडारिटी सेन्टर, माइग्रेन्ट फोरम र ट्रेड युनियनका विज्ञहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय अभ्यास, अभिसन्धि र सुधार गर्नुपर्नेमा विषयमा छलफल गरेका थिए । 
 
‘अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस’ को पूर्वसन्ध्यामा यो कार्यशाला भएको हो । डिसेम्बर १८ मा विश्वव्यापी रूपमा आप्रवासी कामदार दिवस मनाइँदैछ । नेपालमा पनि साताव्यापी रूपमा मनाउन श्रम तथा रोजगार मन्त्रालय र विभिन्न संस्थाहरूले चेतनामूलक कार्यक्रमहरू तय गरेका छन्। 
Published on: 13 December 2015 | Kantipur
 

Back to list

;