s

शव कुर्दै साता बित्यो

दुर्गालाल केसी
 
भारतको गोवामा पाँचतले घर भत्किएर पाँच नेपालीको मृत्यु भएको साता बितिसक्यो तर शव आउन सकेको छैन । मृतकका आफन्तहरू गोल्टाकुरीमा शव कुरेर बसिरहेका छन् । घर भत्किएर एकै ठाउँका पाँच जनाको मृत्यु भएपछि गोल्टाकुरी र फूलबारी यतिबेला शोकमा डुबेको छ । सुतिरहेको समयमा घर भत्कँदा गोल्टाकुरी ८ बंगलापुरका ताराबहादुर खड्का र दीपक वली, वडा नं. ६ कलम खोलाका सीताराम विक र दिपेश विक तथा फूलबारी गाविसका डम्बर नेपालीको मृत्यु भएको थियो ।
 
'आफैं अन्त्येष्टि गर्न पाए हुन्थ्यो,' सीतारामकी आमा अमृताले भनिन्, 'हामीलाई त मरेका छन् भनेर पनि विश्वास लागेको छैन । घरमा च्यापिए पनि अझै श्वास बाँकी छ कि जस्तो लाग्छ । एकपटक देख्न पाए चित्त बुझ्ने थियो ।' गोवाबाट शव ल्याउन धेरै खर्च लाग्ने भएकाले पनि परिवार चिन्तित छन् । 'खर्च धेरै लाग्छ भन्छन् । कसरी ल्याउने खोइ ? लिन भनेर मानिसहरू त गएका छन् तर कहिले आइपुग्छन् कुन्नि ?' दीपककी वृद्धा आमा गोमाले भनिन्, 'कुर्दाकुर्दै हैरान भइसक्यौं । यो बुढेसकालमा के देख्नुपर्‍यो यस्तो ? गरिब हुनु पनि अभिसाप रै'छ ।' सीताराम र दिपेश आर्थिक अभावका कारण १० कक्षा पढ्दापढ्दै भारत गएका थिए । मृतकहरू सबैको आर्थिक अवस्था निकै नाजुक रहेको छ । 
 
अपार्टमेन्ट बनाएर बेच्नका लागि बनाइएको घर भत्कँदा सेक्युरिटी गार्डका रूपमा कार्यरत पाँच जनाको मृत्यु भएको थियो । सँगै काम गर्ने अन्य दुई जना ड्युटीमा रहेकाले बचेका छन् । उनीहरू दुई वर्षदेखि गोवा जाने आउने गरेका थिए । कोस्टर विल्डरका प्रदीप सिंह र विश्वास देसाईले निर्माण गरिरहेको भवन भत्किएको गोवामै काम गरेर फर्किएका मृतक ताराबहादुरका दाजु दुर्गाबहादुरले बताए । 'यसअघि पनि एकपटक सोही घर भत्किएको थियो । प्रहरीले निर्माण रोकिदिएको थियो,' उनले भने, 'फेरि कसरी निर्माण गर्न दिइयो ?'
 
ताराबहादुर भारत गएको एक वर्ष नबित्दै उनकी श्रीमती हीरा मलेसिया उडिन् । त्यसपछि घरमा उनीहरूका ७ वषर्ीया छोरी गीता र ५ वषर्ीय छोरा गणेशमात्र रहे । अहिले बुबाको मृत्युको खबर आएको छ, आमासँग फोन सम्पर्क पनि भएको छैन । बाआमा घरमा नभएपछि हलवार ८ खाद्रेस्थित मामा घर बस्दै आएका गीता र गणेश अभिभावकविहीन भएका छन् ।
 
मामा घरका हजुरबुबा शिवलाल थापा छोरीज्वाइँभन्दा नातिनातिनाको एक्लो अवस्थादेखि साह्रै चिन्तित छन् । 'अब यी बच्चाको हेरचाह कसरी गर्ने ? यी बच्चाहरूले सानै उमेरमा बाआमा गुमाए, ज्वाइँको शव पनि हेर्न पाइन्छ कि पाइँदैन भन्ने अन्योल छ,' उनी निकै भावुक भए, 'ऋण लिएर छोरी विदेश गएकी छ । उता ज्वाइँको मृत्युको खबर आयो । अब कसरी ऋण तिर्नु, कसरी बालबच्चा सम्हाल्नु ?'
 
शव ल्याउने र मृतकका परिवारलाई राहत दिने विषयमा नेपाल सरकार र भारतीय अधिकारीहरूसँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी शरदकुमार खत्री र प्रजिअ पन्थले मृतकका परिवारलाई भेट गरी शव ल्याउन पहल भइरहेको जानकारी दिएका छन् ।
 
Published on: 13 January 2014 | Kantipur

Back to list

;