s

सबै नागरिकको रोजगारी जनगणना समेटिएन

गणेश राई

धेरै नयाँ विषय पनि समेटेर वैज्ञानिक बनाउन खोजे पनि यसपटकको जनगणनामा सबै जनताको पेसा व्यवसाय समेट्न सकिएको छैन । हरेक ८ घरमा एक गरी नमुनाका रूपमा मात्रै रोजगारीलाई राखिएपछि देशमा रोजगारीको यथार्थ अवस्था आउने छैन ।

यसले गरिबी निवारण कार्यक्रम, लगानी र रोजगारीको अवसर खोज्न देशका नागरिकले अपनाइरहेको पेसा व्यवसायको अद्यावधिक अवस्था आवश्यक हुने हुँदा आगामी दिनमा बन्ने आर्थिक नीति पनि यथार्थपरक नहुने खतरा बढेको छ । 

सधैं जनगणना गर्न सम्भव नभएकाले यसपटकको जनगणनामा रोजगारीलाई नसमेट्दा यथार्थपरक तथ्य संकलन गर्न सरकार चुकेको धारणा विज्ञहरूको छ ।

'आधा घन्टा लाग्छ भन्थे तर तपाईंले दस मिनेट पनि लगाउनुभएन नि ?,' अर्थ मन्त्रालयका एक उपसचिवले आइतबार आपmनो घरमा आएका गणकलाई सोधे, 'पहिले पेसा पनि सोधिने भनिएको थियो तर तपाईंले त सोध्नुभएन नि ?'

सबै जनताको घरदैलोबाट संकलन भइरहेको विवरणमा नाम, थर, जात, धर्म, मातृभाषा, दोस्रो भाषा, शिक्षा, विवाह, विवाह गरेको मिति, श्रीमती, छोराछोरी उल्लेख छ । घरको क्षेत्रफल, बनोटको किसिम, तल्ला, टेलिभिजन, टेलिफोन, मोबाइल, इन्टरनेटको अवस्था पनि खुलाउनुपर्ने छ ।

पेसा र पशुपक्षीको विवरण सहितको लगत २ मा राखिएको छ । यो लगत हरेक ८ घरमध्ये एकमा भर्ने गरिएको छ ।

'कोही नछुटौं, कोही नदोहोरिऔं, अक्सर बसोबास गरेकै ठाउँबाट लगत भराऔं' भन्ने मूल नारासहित असार ३ देखि १३ गतेसम्म देशभरि एकसाथ राष्ट्रिय जनगणना भइरहेको छ । असार ८ गतेलाई 'जनगणना दिवस' घोषणा गरिएको छ ।

'प्रत्येक व्यक्तिको पेसामात्र उल्लेख भएको भए, देशको अर्थतन्त्रमा के कस्तो सहयोग पुग्छ भन्ने आँकलन गर्न मिल्थ्यो,' अर्थका ती अधिकारीले भने, 'पेसा नै उल्लेख नभएपछि नाम, उमेर, शिक्षाले मात्र योजना निर्माणमा अर्थ राख्दैन । किनभने यो जनगणना हो । प्रत्येक व्यक्तिको टाउको गरिन्छ । पेसालाई नमुना सर्वेक्षणमात्र गर्ने हो भने जनगणनाको नतिजा यथार्थपरक नहुनसक्छ ।'

लगत-१ मा महिलाको नाममा जग्गाजमिन भए/नभएको सोधिएको छ । पुरुषको नाममा रहेको जग्गाजमिन सोधिएको छैन । पेसा उल्लेख हुँदा प्रत्येक व्यक्तिको आयस्रोत खुल्ने प्रश्नावली समेत  छुटेकाले नीति/निर्माणमा समेत बाधा पुग्ने जनाइएको छ । जग्गाजमिन, आयस्रोत, आश्रति परिवार, पशुपन्छी, जस्ता प्रश्न सुरुमै सोधिनुपर्ने ती अधिकृतको भनाइ छ । विदेशमा कोही सदस्य भएमा तिनको संख्यामात्र टिपिन्छ । गएको देश, जानुको कारणमात्र टिपिन्छ ।  त्यसैले विदेशमा रहेकाहरूको नाम जनगणनाको लगतमा पर्न सकेको छैन ।

Published on: 21 June 2011 | Kantipur

Back to list

;