s

सफलता : पहिले मजदुर, अहिले लखपति

विमल खतिवडा , गुञ्जनगर (चितवन)
 
बारा दक्षिण झिटकैयाबाट ४६ वर्षीय धनेश्वर महतो रोजगारी खोज्दै चितवन आइपुगे। ०३७ सालतिर यहाँ आएका उनले सुरुमा इँटा भट्टामा मजदुरी गरे। त्यसपछि खेतमा आली लगाउने र बिउ काढ्ने काम गरे। पछि सबैसँग घुलमिल हुँदै व्यावसायिक तरकारी खेती गर्ने निर्णयमा पुगे। भरतपुर १४ स्थित तोरीखेतमा ०५१ सालमा १ बिघा जग्गा भाडामा लिएर तरकारी खेतीको सुरुवात गरे।
 
केही समय त्यहाँ तरकारी लगाएर बिक्री गरे। त्यसपछि व्यवसायलाई बलियो बनाउन शारदानगर पुगे। ०५३ सालमा २ बिघा जग्गा भाडामा लिए। बाह्रै मास तरकारी लगाए। काउली, बन्दा, भान्टा तितेकरेला, लौका, चिचिण्डो, काँक्रोलगायत जातका तरकारी फलाएर बिक्री गरे। उनलाई बजारको समस्या कहिल्यै भएन। जति तरकारी फलायो। त्यति बजारमा खपत हुँदै गयो। पछि उनी गुञ्जनगर आए। त्यहाँ उनले ३ बिघा जग्गा भाडामा लिएका छन्।
 
‘तरकारी राम्रो फलेको छ,’ उनले भने, ‘बजार छ, बिक्रीको समस्या छैन।’ उत्पादन गरेको तरकारी नारायणगढ बजार हुँदै काठमाडौंसम्म पुग्ने गरेको उनले बताए। अहिले खुसी छन्। सबैको प्यारो बनेका छन्। गाउँमा सबैले मायाले बोलाउँछन्। ‘हाम्रोतिर सधैं झैझगडा मात्र हुन्छ, तरकारी लगाउन जग्गा भए पनि बाढी पसेर घाटा सहनुपर्छ,’ उनले भने, ‘यता त्यस्तो छैन, शान्तसँग आफ्नो गरेर खान पाइएको छ।’ उनले सबैको साथ सहयोगले व्यवसाय राम्रो गर्न सकेको बताए। उनको ६ जनाको परिवार छ। ७ जनालाई रोजगारी दिएका छन्। छोरालाई कम्प्युटर इन्जिनियर पढाउन बैंगलोर पठाएका छन् भने छोरीलाई नर्स पढाएका छन्।
 
‘राम्रो हुँदा वर्षको २० लाखसम्म आम्दानी हुन्छ,’ उनले भने, ‘कहिलेकाहीं घाटा पनि सहनुपर्छ।’ उनले १० धुर जग्गा यसैको आम्दानीले जोडेका छन्। ‘मधेसमा भन्दा बढी माया मैले यहाँ आएर पाएको छु,’ उनले भने, ‘छोराछोरीलाई यहीं ल्याएर राम्रो संस्कार सिकाउन पाएँ, उता भए के बन्थे, के हुन्थे थाहा हुँदैनथियो।’
 
तरकारी खेती गर्न आउनेको संख्या बढ्दो छ। बन्द हडतालले बेला बेला मार खेप्नुपर्ने बाध्यता छ। शान्त ठाउँ खोज्दै आउनेहरूले तरकारी लगाएर घरपरिवार चलाएका छन्। ०५३ सालतिर उक्त गाउँबाट आएका ५१ वर्षीय नागिन्द्र साह तरकारी खेती गरेर बिक्री गर्न व्यस्त छन्। उनले चित्रवन ७ स्थित गुञ्जनगरमा ३ बिघा जग्गा भाडामा लिई तरकारी लगाएका छन्। वर्षको ५ देखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्छन्। ‘गाउँमा अशान्ति छ, यहाँ शान्ति छ,’ उनले भने, ‘त्यही भएर मेहनत गरेर आम्दानी गर्न सकिएको छ।’ उनले ७ जनाको परिवार तरकारीको आम्दानीले नै पालेका छन्।
वर्षको ३ पटक घर पुग्ने गरेको उनले बताए। तरकारी खेती र रोजगारीको खोजी गर्दै तराईका बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लाबाट यता आउने क्रम
 
बढ्दो छ। तरकारी खेती गर्नेहरू यतै रमाउने गर्छन्। उता ६ वर्षअघि उक्त गाउँबाट आएका वीरेन्द्र साहले भीमनगरमा ३ र गुञ्जनगरमा १ बिघा जग्गा भाडामा लिएर तरकारी लगाएका छन्।
 
उनले वर्षको ५ लाखभन्दा बढी आम्दानी गर्छन्। ‘तरकारी राम्रो भएको थियो,’ उनले भने, ‘दिनहुँ हुने बन्द हड्तालले बिक्री गर्न समस्या भयो।’ तरकारी व्यवसायका अगुवा धनेश्वर महतोका अनुसार दक्षिण झिटकैयाबाट मात्र एक दर्जनभन्दा बढी गाउँले आएर ४० बिघाभन्दा बढी जग्गा भाडामा लिई तरकारी लगाएका छन्। मधेसमा अशान्त भएको भन्दै बिस्तारै शान्त ठाउँ खोज्दै आउनेको संख्या बढ्दै गएको छ। ‘तरकारी खेती गर्न आउने सबै मेहनती छन्,’ स्थानीय सुभद्रा सुवेदीले भनिन्, ‘जसले गर्दा अरूको भर पर्नुपरेको छैन।’
 
बारा दक्षिण झिटकैयाका नागिन्द्र साह चित्रवन नगरपालिका ७ स्थित गुञ्जनगरमा जग्गा भाडामा लिएर लगाएको लौका देखाउँदै। उनले लामो समयदेखि तरकारी खेती गरेर वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। 
 
Published on: 30 August 2015 | Kantipur
 

Back to list

;