s

सन् २०१४ का लागि कामदार कोरिया जान सुरु

रोजगार अनुमति प्रणालीअनुसार सन् २०१४ का लागि कामदार दक्षिणकोरिया जानेक्रम सुरु भएको छ। कुल सात हजार सात सय ७८ जना कामदारले कोरिया जान फारम भरेकामा पहिलो चरणमा २२ सय जना कामदारको करारपत्र आइसकेको छ। कोरियाले तीनदेखि चार चरण गरेर करारपत्र पठाउने गरेको छ।

पहिलो चरणमा लैजाने कामदारको करारपत्र (लेबर कन्ट्याक्ट) रोजगारदाताले पठाएका हुन्। करार भइसकेका दुई हजार दुई सय कामदारमध्ये करिब डेढ सयजना काम गर्न कोरिया गइसकेका छन्। सन् २०१३ मा परीक्षा दिएकाहरू कोरिया जान थालेका हुन्। गत फागुनदेखि कामदार जान थालेका हुन्। आगामी दुई महिनाभित्र पहिलो चरणअन्तर्गतका सबै कामदार कोरिया गइसक्ने ईपीएस नेपाल शाखाले जानकारी दिएको छ।

पहिलो चरणका अधिकांश कामदार गइसकेपछि पुन: दोस्रो चरणको करारपत्र पठाउनेछ। यस पटक उत्पादनमूलक, कृषि र पशुपालनमा काम गर्न नेपाली कामदार गएका छन्। ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बाँस्तोलाले पहिलो चरणमा दुई कजार दुई सयजना कामदारको करारपत्र आएको बताए। 'करिब डेढ सयजना कामदार कोरिया गइसकेका छन्', उनले भने, ' बाँकी पनि जाने तयारीमा छन्।'

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान चाहनेले सुरुमा भाषापरीक्षा पास गर्नुपर्छ। भाषापरीक्षा उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण गर्नुपर्छ। त्यसमा पनि सफल भएपछि मात्र रोजगारका लागि आवेदन (जब एप्लिकेसन) फारम भर्नुपर्ने नियम छ।

आवेदन दिएका कामदारमध्येबाट रोजगारदाताले आवश्यकताअनुसार कामदारको छनोट गरी करारपत्र पठाउने गर्छ। करार भएपछि कामदार जान पाउने लगभग निश्चित हुन्छ। रोजगारदाताले कामदारले गर्न चाहेको कामको क्षेत्रका आधारमा आफूलाई आवश्यक पर्ने व्यक्ति छनोट गरी करारपत्र पठाउने गर्छन्।

ईपीएसअन्तर्गत कोरियाले सरकारी तवरबाट मात्र विदेशी कामदार लिने गर्छ। नेपालसहित विभिन्न १५ मुलुकबाट ईपीएस प्रणालीमा विदेशी कामदार कोरिया जाने गरेका छन्।

सीबीटी परीक्षा धमाधम

काठमाडौं : एक पटक कोरियमा काम गरेर फर्किसकेकालाई पुन: सोही मुलुकमा काममा पठाउन सीबीटी (कम्प्युटर बेस टेस्ट) परीक्षा सुरु भएको छ। दैनिक ५६ जनाका दरले परीक्षा भइरहेको ईपीएस शाखाले जानकारी दिएको छ। फागुन २८ देखि सुरु भएको यो परीक्षा चैत १३ गतेसम्म चल्नेछ।

कोरियामा काम गरेर फर्किएका व्यक्तिले फेरि जानका लागि कम्प्युटरमै परीक्षा दिनुपर्ने हुन्छ। यो परीक्षामा कागजी प्रक्रिया प्रयोग हुँदैन तर पहिलो पटक जान तयारी गर्नेले भने कम्प्युटरमा परीक्षा दिनुपर्दैन।

दैनिक दुई सिफ्टमा ५६ जनाको परीक्षा सञ्चालन भइरहेको ईपीएस शाखाप्रमुख डिल्ली बाँस्तोलाले जानकारी दिए। कानुनबमोजिम तीन वर्षभन्दा बढी अवधि बसेर फर्किएका व्यक्तिले सीबीटी परीक्षा दिएर पुन: कोरियामा काम गर्न जाने मौका दिइएको हो। सीबीटी दिएर कोरिया जान आठ सय ८२ जनाले आवेदन दिएका छन्। यस विधिबाट कोरिया जान परीक्षा पास गरी जागिरका लागि आवेदन फारम भर्नुपर्ने हुन्छ।

यसबाहेक कोरियाले चार वर्ष १० महिनासम्म लगातार एउटै कम्पनीमा काम गरेका कामदारलाई पनि पुन: काममा लिने व्यवस्था मिलाएको छ। यस्ता कामदारले फेरि काम गर्नुअघि आफ्नो देश फर्किएर कम्तीमा ६ महिना बस्नुपर्ने नियम बनाएको छ। प्रतिबद्ध कामदार (कमिटेट वर्कर) नाम दिएका उनीहरूले नेपाल आएर ईपीएस शाखामा जानकारी गराएमात्र पुग्छ। परीक्षा भने दिनुपर्दैन। स्वास्थ्य परीक्षणमात्र गराए पुग्छ।

Published on: 19 March 2014 | Annapurna Post

Back to list

;