s

सरकारी निर्णयविरुद्ध मायाकुमारी सर्वोच्चमा

कतारका लागि नेपालको राजदूत पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध मायाकुमारी शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।

कतारमै रहेकी मायाकुमारीले वारेसमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन । आइतबार रिट पेस गरेपछि सर्वोच्चले सोमबारमात्र दर्ता गरेको छ । मायाकुमारीको वारेसका रूपमा भक्तबहादुर कुँवरले रिट दायर गरेका हन् । रिटमा आफूलाई सुनुवाइको मौकासमेत प्रदान नगरी हटाएको जिकिर गरेकी छिन् । कुनै आधारबिना गैरकानुनी ढंगले सरकारले हटाउने निर्णय गरेकाले खारेज हुनुपर्ने जिकिर निवेदनमा गरिएको छ । रिटमा आफूलाई राजदूत नियुक्त गर्ने राष्ट्रपतिको कार्यालय भएकाले सोही कार्यालयबाटै हटाउनुपर्नेमा मन्त्रिपरिषद्ले पत्र पठाएकाले गैरकानुनी भएको जिकिर गरिएको छ । रिटमा कानुनअनुसार  राष्ट्रपति कार्यालयबाट पदमुक्त गर्नुपर्नेमा कुनै आधार र कारणबिना परराष्ट्र मन्त्रालयमार्फत सुनुवाइको मौकासमेत नदिइ बखास्त गर्ने मन्त्रिपरिषद्को निर्णय र परराष्ट्रको पत्रसमेत बदर हुनुपर्ने जिकिर निवेदनमा गरिएको छ ।

रिटमा मायाकुमारीले हाल आफूलाई कतारका लागि नेपाली राजदूतको हैसियतमा काम गर्न दिन अन्तरिम आदेशको समेत माग गरेकी छन् । यसअघि आइतबार सर्वोच्चले शर्माको रिट प्रक्रिया नपुगेको भन्दै फिर्ता गरेको थियो ।

एमाओवादी कोटामा राजदूत नियुक्त शर्माले ‘कतार नेपालीका लागि खुला जेल’ भएको अभिव्यक्ति दिएपछि विवादमा आएकी थिइन् । कतार सरकारले नै मायाकुमारीलाई फिर्ता बोलाउन सरकारलाई पटक–पटक दबाब दिएपछि मन्त्रिपरिषद्ले हालै मात्र शर्मालाई बर्खास्त गर्दै फिर्ता बोलाएको हो ।

Published on: 1 October 2013 | Karobar

Back to list

;