s

जिसिसीद्वारा छनोट स्वास्थ्य संस्थाको काममा रोक

साउदी अरेबिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) आफैंले छनोट गरेका सात संस्थाको कामकारबाहीमा रोक लगाएका छ ।

स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति नदिए पनि ती संस्थालाई जिसिसीले छनोट गरेको थियो । छनोटप्रति स्वास्थ्य व्यवसायीले आपत्ति जनाउँदै आएका थिए । नेपाल स्वास्थ्य व्यवसायी महासंघले ती संस्थाको खारेजीको माग गर्दै तालाबन्दीसमेत गरेको थियो । नेपालका लागि साउदी अरेबियाका राजदूतले अध्ययन गरेर गएपछि जिसिसीले छनोट गरेका संस्थाको काममा रोक लगाएको हो । 'ती सबै संस्थाहरूको काममा हाल रोक लगाएको छ,' जिसिसिले महासंघलाई पत्र पठाउँदै भनेको छ ।

जिसिसीले अलखालिज मेडिकल सेन्टर, अक्वा डाइग्नोस्टिक, रजाम मेडिकल, साइबा मेडिकल, अल मसुर डाइग्नोस्टिक, मेदिसिया डाइग्नोस्टिक र लाइफ ट्रस्ट मेदी डाइग्नोस्टिकलाई छनोट गरेको थियो । 'हामी जिसिसीको यो निर्णयलाई स्वागत गर्छौं,' महासंघका अध्यक्ष खड्गबहादुर श्रेष्ठले भने, 'तर हामी निर्णयको खारेजीको माग गर्छौं ।'

सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय ७९ स्वास्थ्य संस्थालाई मात्रै अनुमति दिएको छ ।

वैदेशिक रोजगारी ऐनअनुसार मन्त्रालयबाट अनुमति पाएपछि मात्रै वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरूको मिलोमतोमा  अनुमति नपाएका संस्थालाई छनोटमा सघाएको अध्यक्ष श्रेष्ठले बताए ।

Published on: 5 August 2011 | Kantipur

Back to list

;