s

श्रम स्वीकृतिमा 'सेटिङ’

कृष्ण ज्ञवाली

उपसचिवसहित ९ पक्राउ

प्रक्रिया नपुर्‍याई कामदार विदेश पठाउने सेटिङमाथि छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका उपसचिवस्तरका निर्देशकसहित नौ कर्मचारी पक्राउ गरेको छ । साढे दुई महिनाअघि विभागबाट १ सय ७० जना कामदारको फाइलै हराएकोबारे अनुसन्धान गर्ने क्रममा अख्तियारले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निर्देशक चिरञ्जीवी नेपाल, अधिकृतहरू कुमार पोख्रेल, गम्भीरसिं विष्ट, लवराज जोशी र बाबुलाल रेग्मी छन् । नासु भीमबहादुर बस्नेत, लक्ष्मीप्रसाद ढुंगाना, कम्प्युटर अपरेटरहरू सञ्जीव नेपाल र सुशील शाक्य पनि अख्तियारद्वारा नियन्त्रणमा लिइएका हुन् । व्यक्तिगत श्रम स्वीकृतिका आधारमा पेसा र कम्पनी फरक पारी मिलेमतोमा कामदार पठाउन उनीहरू संलग्न पाइएका छन् । अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेले गैरकानुनी ढंगबाट गलत कागजातका आधारमा अन्तिम स्वीकृति प्रदान गरेको प्रमाण छानबिनका क्रममा भेटिएको बताए ।

विभागबाट डेढ महिनाअघि एक साताका बीचमा करिब २ सय ५० जनाले व्यक्तिगत स्वीकृति लिएका थिए । त्यसमध्ये विदेश उड्न सफल १ सय ७० जनामा १ सय ९ कतार र ६१ दुबई गएको खुलेको छ । आलमदेवी एसोसिएट्सले कतार र किस्ट इम्प्लोइमेन्टले दुबई उडाएका हुन् । एकमुष्ट स्वीकृतिविरुद्ध उजुरी परेर अख्तियारले निगरानी बढाउँदा थप कामदारको उडान रोकिएको हो ।

'यसरी कामदार पठाउँदा म्यानपावर कम्पनीले फरक पेसा र कम्पनीको नाम उल्लेख गरी कागज बनाउने अनि त्यसलाई वैदेशिक रोजगार विभागको कर्मचारीले स्वीकृत गरेको देखियो,' अख्तियार स्रोत भन्छ ।

त्यसमा अर्को बद्मासी थियो, फर्जी कागजातका आधारमा अन्तिम स्वीकृति दिएपछि प्रमाण लुकाउन १ सय ७० जनाकै फाइल नै गायब गर्नु । यसअघि पनि फाइल गायक प्रकरण सार्वजनिक भएको थियो । गत भदौमा ७७ जनाको फाइल लुकाइँदा अख्तियारले वैदेशिक रोजगारसहित अध्यागमन विभाग, म्यानपावर कम्पनीका सञ्चालक र एजेन्ट गरी ६४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रारम्भिक छानबिनका क्रममा दुई उपसचिवसहित १८ जनाको संलग्नता आशंका गरिएपछि प्रमाणका आधारमा हाल ९ जना पक्राउ गरिएको हो । अख्तियारले वैदेशिक रोजगार विभागमा पत्र काटेर कागजात माग्दा सहयोग नपाएपछि छापा मारेरै फाइल उठाएको थियो ।

एकमुष्ट फाइल हराएको घटनापछि वैदेशिक रोजगार विभागका महानिर्देशक बनेका कृष्णहरि पुष्करले अख्तियारको कामकारबाहीलाई आफूहरूले पूर्ण सहयोग गर्नुपर्ने भएपछि कतिपय अवस्थामा अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताए । 'म आएपछि सुधारका लागि निकै पहलहरू भएका थिए, यस्तो अवस्थामा राम्रा कर्मचारीहरूमाथि समेत मानसिक दबाब हुने भएकाले चुस्त/दुरुस्त सेवा दिन कठिनाइ हुने देखिन्छ ।' एकै चोटि पक्राउ गर्दा बिहान ७ बजेदेखि खुल्ने कार्यालयमा सेवा प्रवाहमा कठिनाइ

हुने उनले बताए ।

Published on: 20 March 2014 | Kantipur

 

Back to list

;