s

सुधा हेल्थ केयरमाथि कारबाही

मलेसिया जाने कामदारलाई नक्कली मेडिकल बनाएर बेचेको प्रमाणित भएपछि महाराजगन्जको सुधा हेल्थ केयर मेडिकललाई सरकारले कारबाही गरेको छ। कारबाहीस्वरुप उसलाई विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न रोक लगाइएको हो। सुधाले म्यानपावर कम्पनीसँगको मिलेमतोमा मेडिकल फेल भएका कामदारलाई पास भएको प्रमाणपत्र बेच्दै आएको पुष्टि भएको छ। स्वास्थ्य र श्रम मन्त्रालयको विशेषज्ञ समितिले अनुगमन गरेर छानबिन गर्दा कम्पनीले बदमासी गरेको प्रमाणित भएकछि कारबाही गरिएको हो।

विशेषज्ञ समिति संयोजक डा. विमल ढकालले नेतृत्व गरेको टोलीले सुधा हेल्थ केयर मेडिकलमा अनुगमन गरेको थियो। उक्त मेडिकलले नक्कली रिपोर्ट बनाएर बेचिरहेको खबर सार्वजनिक भएपछि अनुगमन गर्दा मेडिकलसमेत मापदण्डविपरीत चलाइएको फेला परेको ढकालले बताए।
अनुगमन टोलीका अनुसार त्यहाँ म्याद नाघेका औषधी र केमिकल प्रयोग भएको फेला परेको थियो। विशेषज्ञ समिति सदस्य तथा अनुगमन टोलीमा सहभागी कानुन मन्त्रालयका उपसचिव तीर्थ केसी भन्छन्, 'अनुगमन गर्दा मेडिकल मापदण्डविपरित सञ्चालन भएको पाइयो। त्यसैले अहिले कामदारको स्वास्थ्य परीक्षण नगराउन निर्देशन दिइसकेका छौं। नक्कली रिपोर्ट बनाएको विषयमा छानबिन भइरहेको छ।' मेडिकल सञ्चालकले सञ्चारमाध्यममा खुल्लमखुल्ला नक्कली मेडिकल रिपोर्ट बनाउने गरेको बताएपछि छड्के अनुगमन गरिएको केसीले जानकारी दिए।

मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सुधालाई स्वास्थ्य परीक्षण गर्न रोक लगाएको हो। मन्त्रालयले गत बुधबार (असोज २९ गते) पत्र पठाएर सुधालाई उक्त निर्णय जानकारी गराइसकेको छ। पत्रमा स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरण गर्नेसम्बन्धी मापदण्ड, २०७० बमोजिम मापदण्ड पूरा नगरी सञ्चालन गरेको देखिएकोले स्वास्थ्य परीक्षणमा रोक लगाउने निर्णय भएको प्रस्ट पारिएको छ।

अनुगमन टोलीले सुधासँगै सनराइज मेडिकलको पनि अनुगमन गरेको छ। सनराइजले सुधाबाट रिपोर्ट निकालेको गुनासो आएपछि अनुगमन गरिएको हो। विशेषज्ञ समितिले मेडिकलसँग कमिसन लिएर कामदारलाई स्वास्थ्य जाँच गर्न पठाउने आरोप लागेको बसुन्धाराको गोर्खाज एसोसियटस म्यानपावरको अनुगमन गरी कारबाही गर्न वैदेशिक रोजगार विभागलाई आग्रह गर्ने जनाएको छ।

केसीले म्यानपावर कम्पनी विशेषज्ञ समितिको क्षेत्राधिकारभित्र नपर्ने भएकाले अनुगमन नगरेको तर मन्त्रालयलाई जानकारी गराएर विभागलाई अनुगमन गर्न लगाउने बताए। गोर्खाले ८० हजार लागतको मलेसिया जाँदा एजेन्टमार्फत एक लाख ३५ हजारदेखि डेढ लाख रुपैयाँसम्म उठाउँदै आएको उजुरी छ। उसले मेडिकलसँग एकजना कामदार पठाएबापत हजार रुपैयाँ कमिसन लिने गरेको आरोप छ। गोर्खाजबाट एक लाख ३५ हजार रुपैयाँ तिरेर मलेसिया गएका बागलुङका राजिव सापकोटा मेडिकल अनफिट भएर गत महिना नेपाल फर्केका थिए।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मेडिकल र म्यानपावरको मिलेमतोमा कामदारमाथि खेलबाड भइरहेकोले अनुगमनलाई तीव्रता दिएको बताए। 'सिलिङभन्दा बढी रकम लिने म्यानपावरलाई कारबाही गरिन्छ। त्यस्ता कम्पनीको अनुगमनका लागि विभागलाई निर्देशन दिइएको छ,' उनले भने।

पछिल्लो समय नेपालबाट पास भएर जाने र मलेसियाबाट 'अनफिट' भएर फर्कने कामदारको संख्या बढ्दो छ। म्यानपावर कम्पनी, एजेन्ट र मेडिकलको मिलेमतोमा नेपालमै मेडिकल फेल भएकालाई जानाजान मलेसिया पठाइन्छ। कमिशनको लोभमा कामदारको नक्कली मेडिकल रिपोर्ट बनाएर मेडिकलले म्यानपावर कम्पनीलाई दिने र म्यानपावरले त्यसैको आधारमा भिसा मगाएर मलेसिया पठाउने गर्छन्। नेपालबाट गएको कामदारले मलेसिया पुगेपछि एक महिनाभित्र अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्छ। मलेसियामा फोमेमाले गर्ने मेडिकलमा मासिक ६ सयभन्दा बढी नेपाली कामदार अनफिट हुने गरेका छन्। जसलाई सिधै नेपाल फर्काइन्छ।

सुधा हेल्थ केयर प्रालिका सञ्चालक मदन खनालले मेडिकल मापदण्डभित्रै रहे पनि कारबाही गरिएको बताए। 'मेडिकल पूर्ण रुपमा मापदण्डमा छ तर कारबाही भयो,' उनले भने, 'अनुगमन गरिएको सनराइज र विवादमा आएको गोर्खाजलाई भने कारबाही गरिएको छैन।'

स्वास्थ्य परीक्षण गर्दा कामदारबाट मेडिकल सेन्टरले २६ सय २५ रुपैयाँ शुल्क लिन्छन्। त्यही रकमबाट मेडिकलले म्यानपावर कम्पनी वा एजेन्टलाई एक हजारसम्म कमिसन दिन्छ। म्यानपावर र एजेन्टले कमिसन बढी लिन थालेपछि मेडिकल सेन्टरले स्वास्थ्य व्यवसायी महासंघमा होलोग्राम (स्टिकर) बापत पाँच सय तिर्ने र तीन सय महिनाको अन्त्यमा फिर्ता लिने गरेका छन्। दुई सय रुपैयाँ भने क्षतिपूर्ति कोषमा जम्मा हुन्छ। मलेसियाबाट मेडिकल फेल भएर फर्केका कामदारलाई त्यही कोषबाट ४० हजार रुपैयाँ क्षतिपूर्ति दिइन्छ। मेडिकलका लागि कामदार दिने र फर्केपछि मेडिकल र म्यानपावरले पनि थप रकम दिने सम्झौता मेडिकल र म्यानपावरबीच हुन्छ। कामदार फर्केपछि मेडिकल र म्यानपावरले ४० देखि ६० हजार थप गरेर कामदारलाई ८० हजारदेखि एक लाखसम्म क्षतिपूर्ति दिने गर्छन्।

एजेन्टले गाउँबाट पासपोर्ट संकलन गरेर ल्याई म्यानपावरलाई उपलब्ध गराउने र गाउँमै रहेका व्यक्तिको काठमाडौंमा नक्कली मेडिकल रिपोर्ट बनाएर त्यसैको आधारमा भिसा प्रक्रिया सुरु गर्ने गरेका म्यानपावर व्यवसायी बताउँछन्। मलेसिया जानुअघि कामदारलाई उता स्वास्थ्य परीक्षणमा फेल भए फर्केर आएपछि मेडिकल र म्यानपावरलाई दोष नदिने सम्झौतामा हस्ताक्षर गराउने चलन छ।

Published on: 19 October 2014 | Nagarik

Back to list

;