s

तिब्बतमा नेपालीलाई दुःख छैन

नेपालमा लोकतान्त्रिक जनआन्दोलन चलिरहेका बेला आठ वर्षअघि काठमाडौंको एक बेकरी क्याफेको काम छाडेर तिब्बत पुग्ने २० नेपालीमध्येका एक हुन्, लमजुङका टुकबहादुर गुरुङ। उनले अहिले चिनियाँ कामदारसरह आम्दानी गरिरहेका छन्। ल्हासास्थित ब्रह्मपुत्र ग्र्यान्ड होटलमा सुरुमै सहायक प्रबन्धकका रूपमा काम पाएका गुरुङ अहिले फुड एन्ड बेभरेज म्यानेजर छन्।

उनको मुख्य जिम्मेवारी खासगरी पश्चिमा मुलुकबाट आउने ग्राहकको खाना व्यवस्थापनमा कुक र वेटरलाई संयोजन गर्नु हो। मासिक सात हजार युआन (करिब १ लाख ७ हजार) तलब पाउने गुरुङलाई खाने–बस्ने सुविधा पनि छ। सोही होटलका पूर्व व्यवस्थापक चिनियाँ नागरिक छे दोर्जेसँग काठमाडौंमा भएको परिचयमार्फत उनी चीन आएका हुन्। दोर्जे काठमाडौंमा होटल म्यानेजमेन्टसम्बन्धी तालिम दिन्थे। सँगै आएका २० नेपालीमध्ये अधिकांश सन् २००८ मा तिब्बतमा भएको हिंसात्मक घटनापछि स्वदेश फर्किसकेका छन्। ‘साहुले घरबिदामा पठाएको थियो तर साथीहरू फर्केनन्, यहाँ काम गर्दा असन्तुष्ट हुनुपर्ने कारण छैन,' गुरुङले भने। 

कामको खोजीमा खाडी मुलुकमा दुःख बिसाउने नेपालीले भन्दा बढी तलब र वर्षमा तीन महिना घरबिदा लिइरहेका ४२ वर्षीय गुरुङ छोरालाई पनि तिब्बत ल्याउने तयारीमा छन्। छोराले पनि होटलसम्बन्धी तालिम लिइसकेको उनले बताए। आफूचाहिँ स्वदेश फर्केर चिनियाँ भाषा प्रशिक्षक तथा पर्यटन पथप्रदर्शकको काम गर्ने उनको सोच छ। ‘तालिम र अनुभव भए तिब्बतमा काम गर्न र भनेजति कमाउन समस्या छैन, कामदार प्रवेशाज्ञा पाउनचाहिँ अलि झन्झट छ,' गुरुङले भने। 

सुरुका दिन चिनियाँ र तिब्बती भाषा नजान्ने गुरुङ स्थानीयभाषी कुक र वेटरको सहयोगमा दुवै भाषामा दोहोरो कुरा गर्नसक्ने भएका छन्। उनले अंग्रेजी तथा हिन्दीभाषी ग्राहकसँग पनि कुरा गर्र्नुपर्छ। गुरुङ भाषा बोल्ने टेकबहादुर नेपाली देख्नेबित्तिकै राष्ट्रभाषामा कुरा गर्न थालिहाल्छन्। गत वर्ष नेपाली सेनाका महासेनानी बच्चुराम केसीले टेकबहादुरको यो सजावट देखेर प्रशंसा गरेका थिए। 

आफ्नै भिनाजु शंकर गुरुङले चलाएको बानेश्वरस्थित एलिनाज बेकरी छाडेर चीन आएका गुरुङले भने, ‘नेपाल सरकारले चीन सरकारसँग कुरा गरेर तिब्बतजस्ता सहरमा कोटामा कामदार पठाउन पहल गर्दा राम्रो हुन्छ। अहिले यहाँ काम र बसोबास गर्ने उचित वातावरण छ।' 

अहिले तिब्बतमा बस्ने नेपालीले वर्षमा एकपटक प्रवेशाज्ञा नवीकरण गराउनुपर्छ। लमजुङको गाउँसहरमा जन्मेका गुरुङले तिब्बतमा कमाएको रकमले बेसीसहरमा नयाँ घर बनाएका छन्। चीनको धार्मिक र ऐतिहासिक सहर ल्हासामा हाल करिब ५०० नेपाली विभिन्न सेवा–व्यवसायमा आबद्ध रहेको अनुमान छ। चिनियाँ कम्युनिस्ट पार्टीका ल्हासास्थित तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपसचिव वु यिन्गझीले यहाँ रहेका नेपाली अधिकांश कार्पेट र होटल व्यवसायमा रहेको र उनीहरूको कार्य विश्वसनीय भएको बताए। 

चीन भ्रमणमा आएको नेपाल, भारत र भुटानका पत्रकार प्रतिनिधिमण्डलसँग कुरा गर्दै उहाँले नेपालसँगको लामो र ऐतिहासिक सम्बन्धका आधारमा यहाँ काम वा भ्रमणमा आउने नेपालीलाई कुनै असुविधा नहोस् भन्नेतर्फ आफू सचेत रहेको उनी बताउँछन्। तिब्बतमा नेपालीले सञ्चालन गरेका नमस्ते, न्यू मण्डला, ल्हासा किचेन, दुनियाँ आदि होटल छन्। चिनियाँ नागरिकसँग विवाह गरेपछि उनीहरूले होटल सञ्चालन गर्न सकेका हुन्। चिनियाँ कर्मचारीका तुलनामा नेपाली कामदारलाई ती होटलले कम सुविधा दिन गरेको पनि गुरुङले बताए। हाल नेपालीले चलाएका तिब्बती होटलमा काम गर्ने नेपालीले न्यूनतम एकहजार दुई सय युआन (१८ हजार नेपाली रुपैयाँ) मासिक तलब पाउँछन् भने सोही पदमा कार्यरत चिनियाँ कर्मचारीले न्यूनतम करिब २४ हजार रुपैयाँ मासिक तलब पाउँछन्। चिनियाँले खोलेको होटल तथा कम्पनीमा एकै प्रकारको तलब दिने गरिएको पाइएको छ।

Published  on: 31 August 2014 | Nagarik

Back to list

;