s

उच्च शिक्षाका लागि भारत आउने विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली

बेंग्लुरु (कर्नाटक) — भारतमा उच्च शिक्षा अध्ययनका लागि आउने विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली छन् । त्यसमा पनि भारत आउने नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा कर्नाटक प्रदेशको बेंग्लुरु सहरका विश्वविद्यालय र कलेज पर्दै आएका छन् । भारतको उच्च शिक्षा विभागका अनुसार वर्ष २०२२ मा १ सय ७० देशका ४६ हजार ८ सय ७८ जना विदेशी विद्यार्थीहरूले भारतका विभिन्न विश्वविद्यालय र कलेजहरूमा भर्ना भएका छन् ।

त्यसमध्ये सबैभन्दा बढी २८ प्रतिशत नेपाली विद्यार्थीको संख्या छ । २०२२ मा १३ हजार १ सय २६ नेपाली विद्यार्थी अध्ययनका लागि भारत आएका छन् । २०१८ देखि २०२२ सम्म पाँच वर्षको तथ्यांक हेर्दा ४५ देखि ४८ हजारको हाराहारीमा विदेशी विद्यार्थी उच्च शिक्षाका लागि भारत आएका छन् । र, हरेक वर्ष नेपालीको संख्या नै सबैभन्दा बढी रहँदै आएको छ । वर्ष २०२३ मा भर्ना भएकाहरूको तथ्यांक सार्वजनिक भइसकेको छैन ।

२०२२ को तथ्यांकअनुसार नेपालीपछि दोस्रोमा अफगानिस्तानको ३ हजार १ सय ५१ र तेस्रोमा अमेरिकाका २ हजार ८ सय ९३ जना विद्यार्थी भारतमा अध्ययन गर्दैछन् । त्यस्तै, बांग्लादेशको २ हजार ६ सय र यूएईका २ हजार २ सय ८७ जना विद्यार्थी भारतमा अध्ययन गरिरहेका छन् । स्नातक तहका विभिन्न विषयमा अध्ययन गर्न सबैभन्दा बढी विदेशी विद्यार्थी अध्ययनका लागि आउँछन् । कुल संख्याको ७५ प्रतिशत स्नातकमा अध्ययनरत पाइएको छ ।

त्यसमध्ये ब्याचलर्स अफ टेक्नोलोजी र ब्याचलर अफ इन्जिनियरिङका विद्यार्थीको संख्या अत्यधिक छ । भारतको आईटी राजधानीका रूपमा चिनिएको बेंग्लुरु ती विद्यार्थीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । भारतमा सबैभन्दा बढी शैक्षिक संस्थान र कलेजह भएको सहर बेंग्लुरु हो । आईटी सेक्टरका विश्वका ठूला कम्पनीहरूको कार्यालय पनि यहीँ छ । पढाइमा प्रतिस्पर्धा र पढाइपछि जागिरको सुनिश्चितता मात्रै होइन, यहाँको मौसम, खानपान र भाषाको सहजताले पनि नेपाली विद्यार्थीहरुलाई बैंग्लोर सजिलो बनाएको शैक्षिक परामर्शदाता शिवशंकर साहले बताए ।

तथ्यांकअनुसार २०२२ मा भारतमा आएका कुल विदेशी विद्यार्थीमध्ये ६ हजार भन्दा बढी विद्यार्थी बैंग्लोरका कलेजहरूमा भर्ना पाएका छन् । त्यसमध्ये ९० प्रतिशत नेपाली रहेको आकलन साह गर्छन् । बर्सेनि ४ देखि ५ हजार नेपाली विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनका लागि बेंग्लुरु आउने गरेको उनको अनुमान छ । भर्ना भएको वर्ष र त्योभन्दा माथि दोस्रो, तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरूलाई जोड्ने हो भने १०औं हजार नेपाली विद्यार्थी आफ्नो भविष्य कोर्न बेंग्लुरुमा अध्ययनरत देखिन्छन् ।

बेंग्लुरुमा सरकारी र निजी क्षेत्रका गरी १० बढी विश्वविद्यालयहरू छन् । सरकारी तथ्यांकअनुसार यो सहरमा १ हजार १ सय ६ वटा शैक्षिक संस्था छन् । जहाँ उच्च शिक्षाको अध्यापन हुन्छ ।

भारत सरकारले विदेशी विद्यार्थीलाई आकर्षित गर्न विदेशी विद्यार्थीका लागि निश्चित सिट छुट्याउनुपर्ने र शुल्कमा पनि राहतको व्यवस्था गरेको छ । विदेशी कोटाको सिटमा भर्ना पाउने नेपालीले त्यही विषयमा अध्ययन गरिरहेको भारतीय विद्यार्थीभन्दा कम शुल्क तिुर्नपर्ने साहले बताए । कुन कलेजमा कति विदेशी विद्यार्थी अध्ययनरत छन्, त्यसले उक्त कलेजको श्रेणी स्तरोन्नतिमा पनि मद्दत गर्छ । कलेजहरू विदेशी कोटाको सिटमा नेपाली विद्यार्थी भर्ना हुनुलाई राम्रो मान्ने रहेछन् ।

'अन्य देशका विद्यार्थीको तुलनामा नेपालीहरू धेरै मेहनती र लगनशील छन्, उनीहरूले राम्रो रिजल्ट पनि ल्याउँछन्,' जैन युनिभर्सिटी कम्प्युटर साइन्स इन्जिनियरिङ विभागका निर्देशक डा.जी गीता भन्छिन् । नेपाली विद्यार्थीले ल्याउने राम्रो परिणामले विश्वविद्यालयको प्रतिष्ठासमेत बढाउने गरेको उनले उल्लेख गरिन् । ‘हाम्रो कलेजमा ५३ देशबाट आएका विद्यार्थीहरू छन् । त्यसमध्ये नेपालीको संख्या सबैभन्दा बढी छ,’ कान्तिपुरसँग कुरा गर्दै उनले भनिन् ‘उनीहरू पढ्नमा अब्बल हुन्छन् ।’ अब्बल क्षमताकै कारण हालै मात्र तेस्रो वर्षमा पढ्दै गरेका एकजना नेपाली विद्यार्थीले क्यानडाको सरकारबाट पूर्ण छात्रवृति प्राप्त गर्न सफल भएको उनले सुनाइन् ।

विद्यार्थीहरूले अध्ययनकै क्रममा राम्रो तलबको जागिरको अवसर पनि पाउने गर्छन । काठमाडौंमा रहेको भारतीय दूतावासमार्फत छात्रवृति पाएर वा निजी खर्चमा पढ्न आएका दर्जनौं नेपाली विद्यार्थीहरू त्यहाँ भेटिए । जो अन्तिम वर्षमा अध्ययनरत छन् । र, कलेजमै आएका विदेशी कम्पनीहरूलाई जागिरका लागि अन्तर्वार्ता दिनसमेत तयारीमा जुटिरहेका छन् । विराटनगरका प्रेम रौनियार र बुटवलका प्रविण डुम्रे बी टेकको छैटौं सेमेस्टरमा अध्ययनरत रहेकै बेला कलेजमा आएको एउटा जापानी कम्पनीका लागि अन्तर्वार्तासमेत दिएका छन् । ‘प्लेसमेन्ट’ अर्थात पढाइलगत्तै काम पाउन यहाँ सजिलो देखिएको रौनियारले बताए । भारतभित्र वा बाहिरबाट जहिले पनि कुनै न कुनै बहुराष्ट्रिय कम्पनीले आफ्नो लागि अब्बल कर्मचारी खोज्न बेंग्लुरुका विश्वविद्यालय र कलेजहरूमा आइरहेका हुन्छन् । यहाँ ‘प्लेसमेन्ट’ अवसर प्रशस्तै पाइने भएकाले पनि नेपाली विद्यार्थीहरूलाई बेंग्लुरुले आकर्षित गरेको शैक्षिक परामर्शदाता साहले सुनाए । आईटी सेक्टरमा स्नात्तक अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या बेंग्लुरुमा नघटेको उनको अनुभव छ । बरु स्वास्थ्य क्षेत्रमा नेपाली विद्यार्थी घटेका छन् । हेल्थ साइन्सतर्फ नेपाली विद्यार्थी बेंग्लुरुमा धेरै न्यून संख्यामा झरिसकेको छ । नर्र्सिङ, फार्मेसी, फिजियोथेरापी जस्ता विषयमा नेपाली विद्यार्थीले न्यून संख्यामा भर्ना लिइरहेको देखिन्छ ।

'स्वास्थ्य विज्ञान' का लागि नाम कमाएको कृपानिधि कलेजमा कोभिड महामारी अगाडिसम्म साढे ३ सयको संख्यामा नेपाली विद्यार्थी थिए । सबै विषय र सबै तहमा गरेर हाल ६० जना पनि नेपाली छैनन् । कलेजका निर्देशक डा.साम पाउल इसाक नेपालमा भएको नीतिगत परिवर्तनका कारण यतापट्टि हेल्थ साइन्सका विभिन्न विषयमा विद्यार्थी घटेको बताउँछन् । उनका अनुसार विगतमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले सोझै यता आएर आफूले चाहेको स्वास्थ्यसम्बन्धी विषयमा भर्ना गराउन पाउँथे । अहिले नेपालले स्वास्थ्य विषय पढ्न चाहेनले पहिला अनिवार्य रूपले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने प्रावधान ल्याएको छ ।

प्रवेश परीक्षाको प्रक्रिया र त्यसको रिजल्ट आउँदासम्म यहाँ शैक्षिक सत्र सुरु भइसक्दा नेपाली विद्यार्थीहरूको भर्नामा कमी आएको उनले बताए । विगतमा आफ्नो कलेजमा हेल्थ साइन्सका विभिन्न विषयका लागि प्रत्येक वर्ष १ सय ५० हाराहारीमा नेपाली विद्यार्थीहरूले भर्ना गराउने गरेकोमा अहिले त्यो संख्या ५ प्रतिशतमा झरेको उनी भन्छन् । ‘नेपाली विद्यार्थी नआएर हाम्रो कुनै पनि सिट खालि भने हुँदैन, त्यो सिट भारतीय विद्यार्थीहरूबाटै भरिन्छ,’ उनले भने ‘आर्थिक उपार्जनमा त्यसले कुनै समस्या पारेको छैन ।’ ३६ देशका विद्यार्थीहरू आफ्नो कलेजमा अध्ययन गरिरहेको उनले जानकारी दिए । नेपाली विद्यार्थीहरूको पढाइप्रतिको लगनशीलता, प्रतिस्पर्धी, सुसंस्कृत व्यवहार र अनुशासनका कारण अन्यत्रको भन्दा नेपाली विद्यार्थी आइदिए हुने, त्यो सधैं लाग्ने गरेको उनले बताए ।

Published on: 1 April 2024 | Kantipur

Link

Back to list

;