s

उत्साहित छन् सभासद

बालकृष्ण बस्नेत
 
नौ वर्षदेखिको रस्साकस्सीबाट मिलेको सफलताले मधेसका बासिन्दालाई पनि अधिकार सम्पन्न बनाउन ढोका खोलेकामा पर्साका एमाले सभासद बिचरी यादव दंग छन् । ‘केही साथीले भनेजस्तै सबै माग पूरा भएनन् होला ।
 
भविष्यमा मधेसका अन्य मुद्दा समेट्ने आधार बोकेर नयाँ संविधान आएको छ । यसलाई स्वागत गर्नैपर्छ,’ यादवले भने, ‘भरखर घर बनेको छ । रंगरोगन र सरसफाइको काम घर बनेपछि गर्ने हो, संविधान जारी भएपछि संशोधनमार्फत नमिलेका कुरा मिलाउने ठाउँ हुन्छ ।’
 
संखुवासभा–२ बाट निर्वाचित कांग्रेस सभासद दीपक खड्का भने संविधान साथमा लिएर मतदातामाझ पुग्न आतुर छन् । ‘यो संविधानले जनतालाई अधिकारसम्पन्न बनाएको छ,’ उनले भने । जनताको जित भएको सभासदहरूको बुझाइ छ । उनीहरूमा बेग्लै उत्साह र उमंग देखिन्छ । पहिलो संविधानसभाले ४ वर्षमा पनि देशको मूल कानुन दिन नसकेर विघटन भएको थियो, दोस्रोले २१ महिनामै जनादेश पूरा गरेको छ ।
 
त्यसले दल र सभासदप्रतिको विश्वास बढाएकामा उनीहरूमा उत्साह देखिन्छ । विभिन्न अवरोध छिचोल्दै जनतालाई संविधान दिन सकेकामा सभासदहरू दीपावली गरिरहेका छन् । नयाँ संविधानले मुलुक विकासको आधार तय गरेको उनीहरूले बताए । नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्न सभासदहरू शुक्रबार संविधानसभामा जुट्दै छन् ।
 
आइतबार घोषणा हुने संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक र समावेशितालाई बलियो बनाएको छ । महिला अधिकार सुनिश्चित गरेको छ । गरिब र पिछडिएको वर्ग उत्थानका लागि आधार तय गरेको छ । सोही कारण यसलाई ‘जनताको जित’का रूपमा सभासद खड्काले लिएका छन् ।
 
संविधान पारित भएको दिन बुधबारदेखि देशका विभिन्न भागमा दीपावली भइरहेको छ । दलहरूले पनि खुसी मनाएका छन् । एमालेले बिहीबार सभासदहरूलाई लड्डु बाँडयो । कांग्रेस र एमाओवादीले संविधान घोषणा हुने दिन आइतबार साँझ दीपावली गर्ने जनाएका छन् ।
‘हामीले दीपावली नगर्ने कुरै छैन,’ एमाओवादीकी सभासद रूपा महर्जनले भनिन्, ‘संविधानसभामा चुनिएका जनप्रतिनिधिले संविधान लेख्नुपर्छ भन्ने हाम्रो पार्टीको अडान हो । यही प्राप्तिका लागि सशस्त्र द्वन्द्वसमेत मुलुकले भोग्नुपर्‍यो । अब संविधानका व्यवस्था कार्यान्वयनतर्फ लाग्नुपर्छ ।’
जतिसुकै राम्रो संविधान भए पनि कार्यान्वयन नभए कागजको खोस्टो मात्र हुने भएकाले बलियो सरकार बनाई विकास निर्माणमा जुट्नुपर्ने सुझाव सभासदहरूको छ ।
 
‘दोस्रो संविधानसभा चुनावमै जनताले संविधानसँगै विकास चाहियो भनेर सुझाव दिएका थिए,’ राप्रपाका सभासद विक्रम पाण्डेले भने, ‘संविधान ल्याउन सफल भएका छौं । अब सबै मिलेर त्यसको कार्यान्वयन गरी विकास निर्माणमा जुट्नुपर्छ ।’
राजनीतिक शीर्ष नेतृत्व र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अहोरात्र खटी संविधान ल्याउन सफल भएकामा सभासदहरूले प्रशंसा गरे । साथै, आन्दोलनरत पक्षका एजेन्डालाई संवादमार्फत मिलाउँदै लानुपर्ने सुझाव उनीहरूको छ ।
 
नेमकिपाकी सभासद अनुराधा थापा मगर गणतन्त्र, धर्मनिरपेक्षता संस्थागत गर्नु यो संविधानको सकारात्मक पक्ष रहेको बताउँछिन् । त्यसबाहेक प्रस्तावनामा समाजवाद उन्मुख भन्ने व्यवस्था रहेकाले त्यसमा टेकेर आगामी दिनमा जनताको जीवनस्तर सुधारका लागि आवश्यक संशोधन गर्नुपर्ने उनको सुझाव छ ।
 
भनिन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारीका पक्षमा आफ्नो पार्टीले राखेको संशोधन पास नभए पनि रेकर्डका रूपमा छन् ।’
खोटाङका सभासद विशाल भट्टराई निहित स्वार्थका कारण यसपटक पनि संविधान जारी गर्ने मिति झन्डै पर सरेको बताउँछन् । ‘अब हामी सभासद पनि जनता र समुदायसँग सहकार्य गरेर यसको कार्यान्वयनतर्फ लाग्नुपर्छ,’ उनले भने ।
कर्णालीसहित विकट क्षेत्रलाई सम्बोधन भएको हुम्लाका सभासद जीवनबहादुर शाहीले बताए । ‘बल्ल चुनाव जितेको अनुभूति भएको छ,’ दोलखाका सभासद पार्वत गुरुङले भने ।
  
Published on: 18 September 2015 | Kantipur
 

Back to list

;