s

भिजिट भिसामा विदेश जानेको लहर, दैनिक उड्छन् १७ सय

नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि भिजिट भिसामा विदेश जानेको संख्या बढेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार औसतमा दैनिक एक हजार सात सय नागरिक विभिन्न देश उड्ने गरेका छन् ।

गत मार्चमा ५२ हजार दुई सय ३२ र फेब्रुअरीमा ५२ हजार नौ सय २१ जना भिजिट भिसामा विदेश गएको तथ्यांक छ । त्यसअघि जनवरीमा ४६ हजार सात सय ४१, डिसेम्बरमा ५२ हजार चार सय ९५ र नोभेम्बरमा ४७ जार ६० जना गएका थिए । १० माघदेखि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेलाई सरल बनाउँदै नयाँ ६ बुँदे कार्यविधि लागू गरेको थियो । त्यसयता खासगरी खाडी देश जाने बढेका छन् ।

नयाँ कार्यविधिअनुसार दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, पाँच सय अमेरिकी डलर तथा खाडीका युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियाका लागि भने स्वघोषणासमेत गर्नुपर्ने प्रावधान छ । विगतमा १७बुँदे मापदण्डमा १२ कक्षासम्म अध्ययन गरेकोलगायतका प्रावधान थिए । सोही मापदण्डका आधारमा अध्यागमनका कर्मचारीले सेटिङ चलाएको खुलेपछि प्रहरीले दुई महिनाअघि अध्यागमन अधिकृत नरवीर खड्कासहित नौ अधिकृतविरुद्ध मुद्दा चलाएको थियो । सोही घटनापछि गृहले भिजिट भिसालाई सरलीकृत गरेको हो ।

अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहाल भिजिट भिसामा विदेश जानेको संख्या बढिरहेको बताउँछन् । मापदण्ड पुगेकालाई अध्यागमनले नरोक्ने उनले बताए । अमेरिका, अस्ट्रेलियालगायत देशमा नेपाली डायस्परा बढेसँगै परिवारका सदस्य भेट्न जानेदेखि घुम्न तथा रोजगारी खोज्दैसमेत कतिपय विदेश जाने गरेका छन् ।

भिजिट भिसामा रोजगारीका लागि विदेश जानेहरू बेचबिखनमा पर्ने समस्या देखिएपछि अध्यागमनले कडाइ गर्दै आएको छ । केही शंकास्पद यात्रा देखिएकाको हकमा अहिले पनि अध्यागमनले विमानस्थलबाटै फर्काउने गरेको छ । विदेश जानेको चापले विमानस्थलस्थित अध्यागमनमा लाइन लामो हुन थालेपछि अध्यागनमा तीन डेस्क थप हुने भएको छ । डेस्क थपका लागि धमाधम काम भइरहेको अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले बताए ।

विमानस्थलको सुरक्षा सुदृढीकरण तथा सेवा सरलीकरणका लागि गत साता गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा सरोकारवालाहरूबीच बृहत् छलफलसमेत भएको थियो । छलफलले विमानस्थलमा सबै निकायबीच समन्वय बढाउने तथा सुधारलाई तीव्रता दिने निर्णय गरेको थियो ।

Published on: 12 April 2024 | Naya Patrika

Link

Back to list

;