s

वाइन उद्योगमा महिलालाई रोजगार

चन्द्र कार्की

यहाँको सोल्मा ३ लसुनेमा गत वर्षदेखि सञ्चालनमा आएको तीनजुरे वाइन इन्डस्ट्रिजमा गाउँघरमा काम नपाएर बसेका महिलाले रोजगारी पाएका छन् । उद्योगले गाउँघरमा खेर गएका फलफूल संलकन गरी प्रशोधनपश्चात् पेय पदार्थ वाइन उत्पादन गर्न थालेपछि ग्रामीण महिलाले रोजगारीको अवसर पाएका हुन् ।  

२ करोड ५० लाखको लागतमा १५ जना युवाले स्थापना गरेको यो उद्योगमा दैनिक २५ महिलाले रोजगारी पाएका छन् । दैनिक ज्याला २ सय ५० देखि ३ सय ५० रुपैयाँसम्म पाउने गरेको उद्योगका प्रबन्धक उदय लिम्बूले बताए । महिलाले फलफूल केलाउने, प्रशोधन गर्ने, बोतल सफा गर्ने, वाइन भर्ने, स्टिकर टाँस्नेलगायतका काम पाएका छन् ।

काममा विश्वास, इमानदार, दिएको जिम्मेवारी पूरा गर्ने, काममा लगनशीलता लगायतका गुण महिलामा हुने भएकाले उद्योको धेरैजसो काम महिलालाई दिएको प्रबन्धक लिम्बूले बताए । आम्दानी बेगरको घरायसी काममा समय बिताउँदै आएका महिलाहरू उद्योग सञ्चालनमा आएसँगै आम्दानीमूलक काममा व्यस्त छन् । गाउँमै खुलेको उद्योगमा काम गरेर कमाएको पैसा महिलाले घरखर्च चलाउने, छोराछोरीलाई बोर्डिङमा पढाउने, समूहबाट लिएको ऋण तिर्ने तथा आयआर्जनका काममा लगानी गर्न थालेका छन् । उद्योग खुलेपछि आफूहरू जस्ता धेरै महिलालाई राहत मिलको सोल्मा ३ की दुर्गा गुरुङले बताइन् ।

उद्योगले स्थानीयस्तरमा पाइने मेल, बेल, नासपाती, आरुबखडा, अंगुर, स्याउजस्ता फलफूल प्रशोधन गरेर फ्रुड वाइन उत्पादन गर्दै आएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने बहुउपयोगी जडीबुटीबाट स्वास्थ्यमा फाइदा पुर्‍याउने उच्च गुणस्तरको हर्वल ब्रान्डको फरक स्वाद र सुगन्धको वाइन पनि उत्पादन गरिरहेको छ । १५ जना युवाहरू मिलेर सञ्चालन गरेको वाइन उद्योगले चेसुङ र डिसेन्ट दुई ब्रान्डमा नयाँ उत्पादन पनि बजारमा ल्याएको उद्योगले जनाएको छ ।

हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, यार्सागुम्बा, कुट्की, राजवृक्ष, बोझोलगायतका सात प्रकारका जडीबुटीबाट 'हनी हर्वल' नामक औषधिबर्द्धक वाइनसमेत उद्योगले बजारमा ल्याएको छ । अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी यो वाइन उत्पादन गरिएको प्रबन्धक लिम्बूले बताए । दुई ब्रान्डमा थप तीनवटा उत्पादन बजारमा ल्याउने तयारी भइरहेको उनले बताए । उद्योगले न्यून आय भएका नेपाली उपभोक्तालाई लक्षित गरी चेसुङ (कोसेली) ब्रान्डको सस्तो र गुणस्तरीय वाइन बजारमा ल्याउने तयारी गरिरहेको छ । त्यस्तै वाइनका पारखी र विशेष गरी विदेशी उपभोक्ता र बजारलाई लक्षित गरी 'डिसेन्ट' ब्रान्डको अर्को वाइन पनि बजारमा ल्याउने तयारी भइरहेको उद्योगका प्राविधिक पुष्पराज राईले बताए ।

उद्योगले महिला र युवालाई लक्षित गरी फ्रुट र 'रेड' वाइनसमेत उत्पादन गर्ने जनाएको छ । त्यस्तै उद्योगले नेपालमै पहिलो पटक हिमाली क्षेत्रमा पाइने

जडीबुटी र महबाट हनी हर्बल नामको महँगो र स्वास्थ्यबर्द्धक वाइनसमेत उत्पादन गरेको छ । 'उत्पादित वाइन धमाधम बजारमा पठाइरहेका छौं,' उद्योगका प्रबन्धक लिम्बूले भने, 'आगामी बडादसैंलाई लक्षित गरी अहिले धमाधम काम भइरहेको छ ।' नेपालमा पाइने सुगन्धवाल, यार्सागुम्बा, अस्वगन्धा, कुट्की, गुर्जो, राजवृक्ष र बोझोबाट आयुर्वेदिक प्रविधिबाट वाइन उत्पादन गरिएको प्रबन्धक लिम्बूले बताए ।

वाइनका लागि कच्चा पदार्थ पहाड र हिमाली क्षेत्रबाट ल्याइएको उद्योगले जनाएको छ । पहाडी चिसो हावापानीमा उत्पादन भएको वाइन स्वादिलो र स्वास्थ्यवर्द्धक समेत हुने भएकाले यसलाई बजारको समस्या नरहेको उद्योग सञ्चालकको भनाइ छ । नेपाली बजारमा विदेशी वाइन धेरै खपत हुने गरेको र नेपाली मुद्रा विदेशी रहेको अवस्थामा वाइनको त्यो माग पूर्ति गर्न र नेपाली मुद्रा विदेशीन नदिन पनि वाइनको उत्पादन सुरु गरिएको उद्योग सञ्चालक समितिका सदस्य प्रकाशकुमार श्रेष्ठले बताए ।

Published on: 18 March 2014 | Kantipur

Back to list

;