‘नाइँ, भो श्रीमतीलाई वैदेशिक रोजगारमा जान दिन्नँ’

Author(s): स्वर्णकुमार झा

Year of Publication: 2017

नेपालीहरू रोजगारीका लागि विभिन्न गन्तव्य मुलुक जानथालेको लामै इतिहास रहेको भए पनि विगत दुई दशकदेखि उनीहरूले ठूलो मात्रामा वैदेशिक रोजगारको यात्रा गरिरहेका छन् र आउँदा दिनहरूमा पनि यो क्रम यथावत चलिनै रहनेछ ।

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा रेमिटेन्सको योगदान पनि उत्तिकै महत्त्वपूर्ण रहनुले वैदेशिक रोगजार नेपाली अर्थतन्त्रको एउटा अभिन्न अंगजस्तै भइसकेको छ भन्ने विभिन्न अध्ययनले देखाएका छन् ।

हरेक वर्ष लाखौं महिला र पुरुष अनुहार काम तथा दामको खोजीमा नचाहँदा–नचाहँदै पनि वैदेशिक रोजगारमा जान बाध्य छन् । तथ्यांक नियालेर हेर्ने हो भने पुरुषको तुलनामा महिला निकै कम जाने गरेको पाइन्छ । जस्तै– आ.व. २०७२/७३ मा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका ३ लाख ६६ हजार ९ सय ४१ नेपालीमध्ये महिलाको संख्या १४ हजार ४ सय ६९ रहेको छ । घरपरिवारले अनुमति नदिएर हो वा समाजको डरले वा आर्थिक कारणले वैदेशिक रोजगारको लागि महिलाहरूको पाइला कम सरेको देखिन्छ । यसका साथै सरकारबाट बेलाबखत लगाइने प्रतिबन्ध र खाडी तथा मलेसिया जस्ता गन्तव्य मुलुकमा हुने महिलाको वैदेशिक रोजगारीप्रति नकारात्मक सोच एवं धारणा पनि यसको प्रमुख कारण रहेको विभिन्न अध्ययनबाट देखिन्छ । तर पनि वैदेशिक रोजगारबाट महिलाहरूले पुर्‍याएको योगदानलाई कम आँक्न भने सकिन्न । वैदेशिक रोजगारको एउटा राम्रो पक्ष भनेको आर्थिक स्थितिमा सुधार आउँछ भन्ने हो । जसका कारणले सफल वैदेशिक रोजगारमा गएका परिवारको जीवनशैली फेरिएको छ । अर्थात् राम्रो खानु, राम्रो लाउनु, केटाकेटीलाई राम्रो स्कुलमा पढाउनु जस्ता कुरा त्यही रोजगारीको देन हो । यी यस्ता उपलब्धि नत कसैले कसैलाई सुनाउनुपर्छ, न देखाउनु नै पर्छ । 

यति हुँदाहुँदै पनि वैदेशिक रोजगारबाट रोजगारीमा जाने घरपरिवारलाई पुग्ने प्रत्यक्ष/अप्रत्यक्ष पीडालाई पनि नजरअन्दाज गर्ने अवस्था छैन । श्रीमान वा श्रीमती कोही एकजना विदेश गएको छ भने त एकअर्काको लामो अनुपस्थितिमा हुने एक्लोपन तथा उत्पन्न हुने शारीरिक सम्बन्धको चाहना पनि एक किसिमको पीडा नै हो । यस सन्दर्भमा महिला तथा पुरुष वैवाहिक जीवन बाहिरको सम्बन्धमा लाग्ने गरेका समाचार वैदेशिक रोजगारले निम्त्याएको सामाजिक मूल्यका रूपमा पत्रपत्रिका तथा टेलिभिजन समाचारमा बारम्बार सुन्न र पढ्न पाइन्छ । तर समाजमा यस्ता सम्बन्ध स्थापित भएकै छन् वा छैनन् वा समाचारमा आकर्षक ढंगले प्रेषित एकाध घटनालाई नै सामान्यीकरण गरेर नेपाली समाजको चित्रण गरिएको छ भन्ने कुराको खोजी कहीँ कतैबाट भएको वा सार्वजनिक बहसको विषय भएको पाइँदैन ।

विगत ४/५ वर्षमा म लगायत मेरा केही सहकर्मीले सामाजिक अध्ययनका क्रममा पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमाल, पहाड, तराईको भ्रमण तथा वैदेशिक रोजगारमा गएका घरपरिवारका सदस्यहरूसँग कुरा गर्दा कोही कसैले पनि समाचारमा आउने गरिए जस्तै त्यस गाउँठाउँ वा समाजमा यी–यी पुरुष वा महिला फलानोसँग सल्किए भनी भन्न नसकेको बरु ती सदस्यहरूले फलानो गाउँठाउँमा सुनेको मात्र र एक कान, दुई कान हुँदै मैदान आएका कुरामात्र राख्ने गरेको हाम्रो अनुभवले देखाएको छ । लोकलाजका कारण वा त्यसबारे सार्वजनिक गर्दा पारिवारिक तथा सामाजिक जीवनमा पर्नसक्ने प्रभावबाट जोगिन सत्यतथ्य वा त्यस्ता एकाध घटना हामीसमक्ष नआएको पनि हुनसक्छ । तथापि वैदेशिक रोजगारमा गएका घरपरिवारका महिला वा पुरुषले समाचारमा लेखिए जस्तै वैवाहिक जीवनभन्दा बाहिर गएर पनि के कति आवश्यकताले शारीरिक सम्बन्ध स्थापित गर्छन् । साथै यो कुरा वैदेशिक रोजगारीमा नगएका पुरुष वा महिलाको भन्दा तुलनात्मक रूपले कति फरक छ भन्ने कुनै प्रमाणविना नै समाचार प्रेषित भएका हुन्छन् । तर के यी समस्या वैदेशिक रोजगारले गर्दा नै भएका हुन् त ? वैदेशिक रोजगारमा नजाँदा पनि त यस्ता घटना समाजमा हुने गरेका छन् । त्यसको गहन तथा तुलनात्मक अध्ययन नै नगरिकन समाचार प्रेषित गर्नु जायज हुँदैन । 

हामीलाई थाहा छ, वैदेशिक रोजगारमा जानेहरूका लागि नेपाल सरकारले अनिवार्य अभिमुखीकरण तालिमको व्यवस्था गरेको छ । वैदेशिक रोजगार नियमावली–२०६४ को नियम (२०), अभिमुखीकरण तालिम अन्तर्गत उपनियम (१) (ङ) मा एचआईभी एड्स, सरुवा रोग, यौन तथा प्रजनन स्वास्थ्यबारे पनि जानकारीको व्यवस्था गरिएको छ । सामान्य भाषामा यसको उद्देश्य भनेको विदेश जाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्नु, जथाभावी शारीरिक सम्बन्ध नराख्नु, एड्स लाग्ला, सम्पर्क राख्नैपरे पनि त्यसको सुरक्षित उपाय अपनाउनु भन्नु नै हो । वैदेशिक रोजगारमा जानेहरूका लागि सरकार यति धेरै चिन्तित रहेको धारणा छ, किनभने उनीहरूले त्यहाँ (विदेशमा) रगत र पसिना बगाउँछन् र पैसा पठाउँछन् । तर व्यवहारमा उक्त जानकारी पुरुषका लागिमात्रै राखिएका हुन् भन्ने धारणा प्रचलनमा छ । तर पुरुष वैदेशिक रोजगारमा जाँदा घरमा रहेका महिलाहरूलाई त्यस्तो तालिम दिइँदैन । शारीरिक आवश्यकताका कुरा पुरुषसँग मात्र सम्बन्धित नभई महिलासँग पनि यस कुराले सरोकार राख्छ । अर्थात् समग्रमा भन्दा घरपरिवारका वैदेशिक रोजगारमा नगएका सदस्यहरूलाई पनि यौन तथा प्रजनन स्वास्थ्यबारे तालिम र कार्यक्रमको उत्तिकै आवश्यकता पर्छ ।

यसै सन्दर्भमा अझ विचार गर्ने हो भने श्रीमान वा श्रीमतीबाट टाढिएर वैदेशिक रोजगारमा जाने कसलाई पो रहर हुन्छ र ? श्रीमान वा श्रीमती लामो समयसम्म घरमा नहुँदा दुवै जनालाई एक्लोपन महसुस हुनु र एकअर्काको अभाव खट्किनु स्वाभाविक हो । यस सन्दर्भमा महिला वैदेशिक रोजगारमा गएको घरपरिवारको एकजना पुरुषले आफ्नो अनुभव साट्दै भनेका थिए, ‘श्रीमती विदेशबाट २ वर्षको समय सकिएर घरमा आएकी हो । पशु पनि अघिल्लो दिन जुन ठाउँमा चरेर आयो, भोलिपल्ट पनि त्यही ठाउँमा चर्न जान्छ नि । मान्छे हो, एकचोटी विदेश गएर आएपछि फेरि जाने सोच त गरिहाल्छ नि । उनी त फेरि त्यही ठाउँमा जान्छु भनेकी थिइन्, तर मैले नै जान दिइन । किनकि छोराछोरीको लागि त म हुन्छु, तर मलाई नै धेरै कुरामा अप्ठेरो भयो, एक्लोपन महसुस भयो । त्यसैले नाइँ, भो श्रीमतीलाई अब वैदेशिक रोजगारमा जान दिन्न ।’ त्यस्तै एकजना महिलासँगको कुराकानीमा उनको अनुभव पनि उस्तै थियो, ‘श्रीमान वैदेशिक रोजगारमा जाँदा एक्लोपन र अप्ठेरो महिलालाई पनि हुन्छ, हुँदैन र ?’ ती महिला तथा पुरुष पात्रले आआफ्ना अनुभव तेस्र्याएर समाजमा व्याप्त तितो सत्य ओकल्ने प्रयास गरेका छन् । तर पनि पुरुषले आफ्नो चाहना पूरा गर्न महिलालाई वैदेशिक रोजगारमा जानबाट रोक्न खोज्नु जायज हुँदैन । लैंगिक असमानताका कारण पुरुषको इच्छा, आकांक्षालाई समाजमा जति सरल रूपमा ग्रहण गरिन्छ, महिलाका तिनै इच्छा, आकांक्षालाई अझ पनि सजिलै स्वीकार्न सकिने अवस्था छैन । श्रीमान वा श्रीमती वैदेशिक रोजगारमा हुँदा हुने त्यो एक्लोपनबाट बच्ने उपायका रूपमा पनि वैवाहिक जीवनभन्दा बाहिर गएर महिला, पुरुषले एकअर्कासँग भेट्ने, गफ गर्ने आदि परिस्थिति सिर्जना नहोला भनी आँकलन गर्न सकिन्न । पुरुषका ठूला भुल पनि सामान्य मानिने समाजमा महिलाको झिनामसिना गल्तीलाई पनि तिललाई पहाड बनाएर उभ्याइन्छ । तर प्राय: त्यसो गर्नु पछाडिको परिवेश र पीडा नै महसुस नगरी यी घटनालाई उदाङ्गो पारी समाचार प्रेषित हुन्छन् ।

यसर्थ यस्ता घटनाको समाधानका निम्ति नागरिक समाज र सरकारबाट पनि वैदेशिक रोजगारमा गएका र नगएका महिला तथा पुरुष दुवैलाई सचेतना, तालिम, सामाजिक घुलमिल जस्ता कुरामा महत्त्वपूर्ण पहल गरिनुपर्छ । साथै त्यस्ता एकाध घटनालाई बढी महत्त्वका साथ प्रेषित गर्दा हाम्रोजस्तो पितृसत्तात्मक सोच भएको समाजमा उक्त घरपरिवार तथा विशेषगरी महिलाको चरित्रहत्या हुने एवं महिलाहरूबाट हुने वैदेशिक रोजगारप्रति नकारात्मक सन्देश प्रवाह हुनुका अतिरिक्त वैदेशिक रोजगारमा गएका घरपरिवारको पारिवारिक तथा सामाजिक जीवनमा प्रभाव पार्ने सम्भावना बढी हुन्छ । तसर्थ मिडिया तथा पत्रकारहरूले यस्ता समाचार प्रस्तुत गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । अन्यथा ‘नाइँ, भो श्रीमतीलाई अब वैदेशिक रोजगारमा जान दिन्न’ भन्ने आवाज समाजमा गुञ्जिनै रहनेछन् ।

झा सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम), सोसल साइन्स वहा:, काठमाडौंका शोधकर्ता हुन्।

प्रकाशित: कार्तिक ३०, २०७४
कान्तिपुर 

Link

Back to list

;